BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

ग्रामीण क्षेत्रका महिलाहरु अझै पनि यौनरोगबारे खुल्दैनन् :डा.कार्की

एक्सन खबर
ग्रामीण क्षेत्रका महिलाहरु अझै पनि यौनरोगबारे खुल्दैनन् :डा.कार्की

डा.अनुपमा कार्की यौन तथा चर्म रोग विशेषज्ञ वीर अस्पताल

यौनका विषयमा नेपाली समाजमा अझै पनि धेरै संकुचन छ।रोग नै लाग्दा पनि तुरुन्त उपचार गर्नेभन्दा लुकाएरै बस्ने प्रवृति बढि छ । जसले जटिलतामात्रै बढाएको छैन् पारिवारिक र सामाजिक समस्या समेत थपिरहेको छ । यो सन्दर्भमा वीर अस्पतालकी चर्म तथा यौनरोग विभाग प्रमुख डा.अनुपमा कार्कीसँग लक्ष्मी चौलागाईँले गरेको संवाद

सामान्य भाषामा यौनरोग के हो ?
यौन अंगमा हुने कुनै पनि रोगहरु जुन एक भन्दा बढी व्यक्तिहरुसँगको यौन सम्पर्कका कारण लाग्ने गर्छ।एक भन्दा बढी यौन पार्टनरसँग असुरक्षित रुपमा गरिने यौन सम्पर्कका कारण लाग्ने रोगलाई यौन रोग भन्ने बुझिन्छ । भजाइनल कन्ट्याक बाहेक अन्य प्रकारको ओरल कन्ट्याक पनि यसअन्तर्गत नै पर्ने गर्छ। कतिपय यौन रोगका कारण छालमा समेत समस्या देखा पर्ने भएकाले यी दुवै रोगलाई एक अर्कोसँग अन्तरसम्बन्धि रोग भन्ने पनि गरिन्छ ।

छाला मानव शरीरको सबैभन्दा ठूलो संयन्त्र हो । कतिपय अवस्थामा छालाको मार्फत्बाट पनि विभिन्न रोगहरुको पहिचान गर्न सजिलो हुने गर्छ । जस्तै झिरिङगीको सेकेन्डरी स्टेजमा छाला विभिन्न प्रकारका अवस्थाहरु आउने गर्छ । जसले मानिसको आखाँ, कपाल लगायत शरीरको विभिन्न अंगमा परिवर्तन ल्याउन सक्छ।

नेपालमा कस्ताखाले यौनरोगी पाइएका छन् ? यसको पछिल्लो अवस्था कस्तो छ?
पहिलाको तुलना नेपालमा यौन रोगीहरुको संख्या बढ्ने क्रममा देखिएको छ।विगतमा मानिसहरुमा यौन रोगबारेको चेतनाको कमी थियो ।

त्यसकारण उपचारको दायरामा आउने मानिसहरको संख्या ज्यादै नै न्यून थियो । पछिल्लो समय सामान्य समस्यामा पनि अस्पतालमा परीक्षण आउने मानिसहरुको संख्या ठूलो छ । त्यसकारण पनि यौन रोगीहरुको संख्या बढेको भन्ने मेरो अनुमान छ । विगतमा रोग लागि हालेपनि संकुचित मानसिकताका कारण उपचारको दायरामा नआउने महिलाहरु पनि उपचारमा आउने क्रम बढेको छ । अझै पनि विकट ग्रामीण क्षेत्रबाट आउने महिलाहरु आफ्नो समस्याको बारेमा नखुल्ने परिपाटी भने कायमै छ ।

विगतको तुलनामा बढेको भएतापनि ग्रामीण क्षेत्रबाट आउने महिलााहरुसँग उनीहरुको समस्या थाहा पाउन अझै पनि चिकित्सकहरुले ठूलै कसरत गर्नुपर्छ।उनीहरु चिकित्सकलाई यौन अंग देखाउन हिच्किच्याउने गर्छन् । शहरी क्षेत्रका शिक्षित वर्गहरु भने सानो समस्या देखा पर्नासाथ अस्पताल आएर आफ्नो समस्याबारे खुल्ने क्रम भने विगतको तुलनामा बढेको छ।

पहिलेको तुलनामा यौनरोग बढ्दो अवस्थामा छ।पहिले–पहिलेका मानिसमा यौनरोगबारे चेतना अभावका कारण खासै खुल्दैनथे।सबै ठाउँमा स्वास्थ्यकर्मी नपुगेका कारण धेरैलाई यसबारे थाहै हुँदैनथ्यो । थाहा भएर पनि आफूलाई यौनरोग लागेको भन्न पनि संकोच मान्थे ।

अहिले विनासंकोच उपचारका लागि अस्पताल आउने भएका कारण पनि यौनरोगीको संख्या बढेको देखिएको हो । अहिले स्कुल–कलेजले पनि स्वास्थ्य चेतना दिने गरेकाले विद्यार्थीहरू यौनरोगसम्बन्धी केही समस्या देखापरेमा उपचारका लागि आउने गरेका छन् । तर, अझै पनि गृहिणीहरू भने यौनरोगबारे त्यति खुल्न नसकेको मेरो बुझाइ छ । उनीहरू अस्पतालमा उपचारका लागि आए भने पनि मलाई तल यस्तो भएको छ भन्छन्, तर देखाउन भने मान्दैनन् । मेरो बुझाइमा पहिलेको तुलनामा यौनरोग बढेको छ।

कस्तो अवस्थामा बिरामीहरु अस्पताल आइपुग्ने गर्छन्?
दुख्ने खालको भाइरसका कारण भएको संक्रमणमा मानिसहरु छिटै नै अस्पताल आउने गरेको पाइन्छ । जस्तै हरपिक्सजनैटालिस् भन्ने भाइरसका कारण लागेको रोगमा बिरामीहरु अस्पताल आउने गरेको उपचार संलग्न भएको आधारमा मेरो अनुभव छ । त्यस्तै जस्तै झिरिंगी जस्ता सुरुवाती समयमा कम दुखाइ हुने रोगमा भने बिरामीहरु चाँडै अस्पताल आउने गरेका छैनन् ।

झिरिङगी लागेपछि मानिसहरुमा त्यसको असर विस्तारै विस्तारै देखिने भएकोले पनि झिरिङगी साइलेन्ट किलर पनि भन्ने गरिन्छ ।विभिन्न प्रकारका प्रविधिको उपयोग गर्ने क्रममा मानिसको यौन व्यवहार बिगारेको पनि छ । प्रविधिको फाइदा सँग सँगै यसलाई बेफाइदाको रुपमा पनि लिन सकिन्छ। इन्टरनेटको दुरुपयोगका कारण स्कूल तथा कलेज तथा विद्यार्थीहरु तथा विवाहितहरुसमेत अतिरिक्त सम्बन्धमा लाग्ने परिपाटीले यौन रोग बढेको छ।

दिन–प्रतिदिन जनचेतनाका कार्यक्रम तथा उपचारको पहुँच बढ्दा पनि किन यसरी यौनरोग बढेको होला?
पहिलेका मानिसलाई लाज लागेकै कारण यस्ता रोग लागेर पनि चुपचाप बस्ने गर्थे । अहिले मिडियाका कारण पनि मानिस यस्ता रोगबारे जानकार हुने र खुल्ने गरेका छन्।पहिले मानिसलाई एचआइभीबारे थाहै थिएन, अहिले एचआइभी कसरी हुन्छ भन्नेमा समेत जानकार छन् ।

त्यसैले पनि यौनरोगीको संख्या बढी देखिएको हो । कतिपय अवस्थामा वैदेशिक रोजगारीका कारण पनि यौनरोग बढेको छ । श्रीमान्हरू वैदेशिक रोजगारीबाट नेपाल आएपछि श्रीमतीलाई यौनरोग लाग्ने गरेको समेत पाइएको छ । वैदेशिक रोजगारीका क्रममा श्रीमान्ले असुरक्षित यौनव्यवहार अपनाएका कारण श्रीमतीलाई यौनरोग लाग्ने गरेको उपचारका क्रममा पाइएको छ।त्यस्ता बिरामीको संख्या अस्पतालमा दिनानुदिन बढ्दै गएको छ । यौनरोगीको संख्या बढी देखिनुमा मानिसमा यसबारे चेतनाको विस्तार र खुल्ने प्रवृत्ति पनि प्रमुख कारण हो।

वीर अस्पतालमा दैनिक कति यौनरोगी उपचारका लागि आउने गरेका छन्?
वीरमा आउने यौनरोगीको संख्या दैनिक बढ्दो छ । दैनिक १५ देखि २० जनाले उपचार सेवा लिने गरेका छन् । कुन उमेर समूहका बिरामी बढी आउँछन् भन्ने यकिन नभए पनि बढी मात्रामा युवावस्थाका बिरामी यौनरोगको उपचारका आउने गरेको पाइएको छ ।

सामान्यतया १७–१८ वर्षदेखि ५० वर्षसम्मका बिरामी आउने गरेका छन् । त्यसमा विभिन्न प्रकारका यौनरोगी छन् । अहिले विदेश जाने तयारीमा रहेका युवामा भिरिंगीरोग बढी पाइएको छ । यो रोगले कुनै लक्षण नदेखाउन पनि सक्ने भएकाले स्वास्थ्यपरीक्षणपश्चात् मात्र बिरामीहरू रोगबारे जानकार हुन्छन् । कतिपय अवस्थामा युवाहरू स्वास्थ्यपरीक्षणमा यौनरोग भेटिएका कारण विदेश जानबाट अवस्थामा वञ्चितसमेत हुने गरेका छन्।

यदि विवाहपूर्व यौनरोग लागेको छ भने रोगका कारण बच्चा जन्माउनसमेत समस्या हुने गर्छ।त्यसैगरी, एउटा यौनरोग लागेको व्यक्तिलाई सँगसँगै अर्को यौनरोग पनि लाग्न सक्छ । यौन र यसबाट आउने समस्या तथा जोखिमबारे पनि बिरामीलाई राम्रोसँग बुझाउनु आवश्यक हुन्छ। विशेषगरी, युवालाई यस्ता रोगबारे चेतना दिनु आवश्यक छ।

यौनरोग कम गर्न तथा यसबाट बच्न के गर्ने?
यौनरोगबाट बच्ने पहिलो उपाय भनेको सुरक्षित यौनव्यवहार अपनाउने नै हो।एकभन्दा बढी यौनपार्टनर बनाउनुहुँदैन।यदि एकभन्दा बढी व्यक्तिसँग यौनसम्पर्क राख्ने अवस्था आएमा कन्डमको प्रयोग गर्नुपर्छ । कन्डमको प्रयोगलाई बढावा दिनुपर्छ ।

एक मात्र यौन पार्टनरसँग सीमित रहनु नै यौनरोग कम गर्ने सर्वोत्कृष्ट उपाय हो।कन्डमले शतप्रतिशत यौनरोग लाग्नबाट जोगाउन नसके पनि ९० प्रतिशतभन्दा बढी जोगाउँछ ।दुवै यौनपार्टनरलाई यौनरोगबारे चेतना हुनु आवश्यक मानिन्छ । यौनरोगीको पार्टनरलाई समेत औषधि खुवाउनु आवश्यक हुन्छ ।

यौनरोग कम गर्न बिरामीलाई यसबारे काउन्सिलिङ गर्नु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यदि विवाहपूर्व यौनरोग लागेको छ भने रोगका कारण बच्चा जन्माउनसमेत समस्या हुने गर्छ । त्यसैगरी, एउटा यौनरोग लागेको व्यक्तिलाई सँगसँगै अर्को यौनरोग पनि लाग्न सक्छ।यौन र यसबाट आउने समस्या तथा जोखिमबारे पनि बिरामीलाई राम्रोसँग बुझाउनु आवश्यक हुन्छ।विशेषगरी, युवालाई यस्ता रोगबारे चेतना दिनु आवश्यक छ।

यौनरोग न्यूनीकरणमा नेपाल सरकारको प्रयासबारे के भन्नुहुन्छ?
नेपाल सरकारले यौनरोगको क्षेत्रमा पछिल्लो समय गरेको प्रयास प्रशंसायोग्य छ।सरकारले कतिपय स्वास्थ्यसंस्थाका कर्मचारीलाई तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।चिकित्सक मात्र नभई स्वास्थ्य क्षेत्रमा कार्यरत अन्य व्यक्तिलाई समेत यसबारे सचेत गराउनु आवश्यक छ।प्रत्येक स्वास्थ्यसंस्थामा कार्यरत जनशक्ति यौनरोगबारे जानकार हुनु जरुरी छ।

उनीहरूका माध्यमबाट समाजमा चेतनाविस्तार गर्नु आवश्यक छ।यौनरोगमध्ये एचआइभी प्रमुख भएकाले सरकारले विभिन्न संस्थासँगको सहकार्यमा एचआइभीरोगीको उपचार निःशुल्क बनाएको छ, जुन प्रशंसनीय कार्य हो।सरकारले यस्तो कदम नचालेको भए एचआइभीको औषधि सर्वसाधारणको पहुँचबाहिर थियो । एचआइभी लागेको बिरामीले पनि आवश्यकताअनुसार मात्रा मिलाएर नियमित औषधिसेवन गर्ने हो भने सामान्य जीवन बिताउन सक्छन्।उनीहरूले आजीवन औषधि खानुपर्ने हुन्छ । समय–समयमा स्वास्थ्यजाँच पनि उत्तिकै आवश्यक छ।

- २५ चैत्र २०७७, बुधबार १६:५१ मा प्रकाशित



Kumari Advertisement
top ad