BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

‘पैसावालाहरु लाई पार्टी सुम्पने हो भने कांग्रेसलाई ठेक्कामा लगाउँ’

राजिव न्यौपाने
‘पैसावालाहरु लाई पार्टी सुम्पने हो भने कांग्रेसलाई ठेक्कामा लगाउँ’
[sharethis-inline-buttons]

‘नेपाल दुई ढुङ्गाको तरुल हो’ राष्ट्र निर्माता पृथ्वीनारायण शाहले त्यसै भनेका हैनन् । दुई विशालकाय छिमेकी मुलुकको चेपुवामा परेको मुलुकलाई राजा पृथ्वीनारायण शाहले तरुलसँग दाँजेर दुई ढुंगाको विचमा रहेर पनि तरुल कसरी फल्न सक्छ भन्ने सन्देश दिन खोज्नु भएको हो । दुई ढुंगा विचको तरुल ढुङगासँग लड्न त सक्दैन, तर, त्यहाँ कसरी आकार लिएर फल्ने हो उसले सिकेको हुन्छ । त्यस्तै गरी नेपालले पनि दुई ठूला छिमेकी देशको विचमा रहेर कसरी अगाडी बढ्ने हो समूचित रणनीति बनाउनु अपरिहार्य छ ।

महामानव वीपी कोइरालाले पनि दुई ठूला देशविच रहेको नेपालको विकास गर्न संवाद, सहमति, सहकार्य र एकतालाई नै प्राथमिकता दिएका थिए । २००७ सालमा राणाहरु फ्याल्नका लागि वीपीले आन्दोलनसँगै संवाद, सहमति र एकताका आधारसुत्र तयार पारेका थिए । त्यस बखत राणाहरुलाई आन्दोलन, क्रान्तिबाट मात्रै समाप्त पार्न सकिँदैन भन्ने वीपीको बुझाई थियो । त्यहि भएर राजा त्रिभुवन भारत निर्वासनमा गएसँगै वीपीले राजा–राणा–जनताविच संवाद, सहमति र सहकार्यको कार्यदिशा तयार गरेर नेपालमा प्रजातन्त्र स्थापित गरेका हुन् ।

नेपालकोलागि सबैभन्दा बढि स्विटेवल संवाद, सहमति र एकता वीपी कोइरालाले प्रतिपादन गरेको शुत्र हो । जुन आज पर्यन्त उत्तिकै सान्दर्भिक छ । जसरी सिक्किमलाई त्यहाँका शासक लेण्डुप दोर्जेले भारतलाई बुझाए त्यसैगरी नेपालका राजा त्रिभुवन भारत निर्वासित हुँदा नेपाललाई कब्जा गर्ने भारतको भित्री सड्यन्त्र थियो । भारतले वीपी कोइरालालाई मन पराएको थिएन । राजालाई इण्डियासम्म ल्याउन कांग्रेसकै सपोर्ट लिने त्यसपछि कांग्रेसलाई नै समाप्त पारेर नेपाल कब्जा गर्ने रणनीति भारतले अपनाएको थियो । त्यहि भएर त्रिभुवन निर्वासनमा हुँदा भारतमा वीपीलाई भेट गर्न समेत दिइएन ।

तर, वीपी कोइरालाले भारतीय ग्राइण्ड डिजाइन बुझेरै राजा–राणासँग संवाद, सहमति, सहकार्य र एकताको रणनीति अपनाए । वीपीको त्यहि रणनीतिले नेपाललाई भारतले कब्जा गर्न सकेन । राष्ट्रिय एकता मजवुत भयो । त्रिभुवन स्वदेश फिर्तिसँगै प्रजातन्त्र आयो, त्यसपछिको मन्त्रिमण्डलमा राणाहरुलाई समेत भूमिका दिइएको थियो तर, उनीहरुले धोका दिए । अनी विस्थापित भए । २०१७ सालमा राजा महेन्द्र राणा र वीपी विचको सहमति तोडेर राजा महेन्द्रले मुलुकको पहिलो निर्वाचित सरकार र संसद प्रति ‘कू’ गरे । त्यसबेला पनि वीपीले संवाद सहमति र सहकार्यको नारा त्यागेनन् ।

२०२८ सालमा महेन्द्रको देहवसान हुनु अघी वीपी कोइराला नेतृत्वको निर्वाचित सरकार प्रति गरेको ‘कू’ को आत्मलोचना गरे । महेन्द्रपछि राजगद्दिमा आएका विरेन्द्रसँग पनि वीपीले संवाद, सहमति र सहकार्यको राजनीति गर्न चाहेका थिए । तर, राजसंस्थाबाटै वीपीलाई सधैं धोका भयो ।

२०४६ सालको आन्दोलनबाट पञ्चायत शासन व्यवस्था समाप्त भयो । देशमा बहुदलीय शासन व्यवस्था लागूहुँदा पनि राजा र प्रजाविच संवाद, सहमति र सहकार्य नै भएको पाइन्छ । वीपीले सदैव राष्ट्रियताका पक्षमा संवाद, सहमति र कार्यगत एकतालाई प्रमुख हतियार बनाउनु भएको थियो । तर, उनलाई पटक–पटक धोका भयो । ०४६ सालमा राजतन्त्रका विरुद्ध जनताले लडेर मात्रै बहुदल आएको हैन । त्यहाँ पनि सहमति थियो । २०५२ सालपछिको माओवादी शशष्त्र द्वन्द्व समाप्त पार्नपनि संवाद, सहमति र सहकार्य नै गरियो । ०६२/०६३ को जनान्दोलनसम्म आइपुग्दा पनि संवाद, सहमति र सहकार्य प्राथमिकतामा रह्यो । तत्कालिन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले माओवादीलाई संवाद सहमति र सहकार्यद्वारा शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन खेलेको भूमिकाकै कारण मुलुकले नयाँ राजनीतिक प्रणालीमा गएको हो ।

२००७ सालयता भएका हरेक राजनीतिक परिवर्तनहरु संवाद, सहमति र सहकार्यबाट संभव भएका छन् । तत्कालिन नेतृत्वले जो–जससँग सहमति गरे ती तत्कालिन समय र परिस्थितिका लागि अपरहार्य थिए । ०४७ सालको संविधान पनि सहमतिको दस्तावेज हो जसलाई दरबारबाटै तोड्ने काम ०५९ सालमा राजा ज्ञानेन्द्रले गरे । त्यसपछि सशष्त्र जनयुद्ध गरेको माओवादीसँग दलहरु, गिरिजा बाबुले संवाद सहमति र सहकार्य गरेर १२ बुँदे सहमति गरेर राजसंस्थालाई पाखा लगाएको इतिहास छ ।

२००७ साल यताका राजनीतिक घटनाक्रमले नेपालमा कुनैपनि राजनीतिक परिवर्तन हुन्छ भने त्यो संवाद, सहमति र सहकार्यबाट नै हुन्छ भन्ने प्रमाणित भइरहेको छ । नेपालको इतिहासमा त्यस्तो कुनै क्रान्ति छैन जसले एकतर्फी सत्ता कब्जा गरेको होस् । कुनैपनि विषयमा संवाद, सहमति र सहकार्य गर्नु नेपाली कांंग्रेसको बटमलाइन हो । वीपी कोइरालाको प्रमुख शुत्र हो । वीपी कोइरालापछि संवाद, सहमति र सहकार्यलाई गिरिजाप्रसाद कोइरालाले पछ्याए । सशष्त्र जनयुद्ध गरेको माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन ठूलो भूमिका निर्वाह गरे ।

तर, पछिल्लो समय भने नेपाली राजनीतिमा संवाद, सहमति र सहकार्यको राजनीति खस्किँदै गएको छ । नेपाली राजनीतिमा मात्र हैन प्रजातान्त्रिक शक्तिका रुपमा रहेको नेपाली कांग्रेसभित्र समेत संवाद, सहमति र सहकार्यको विषय गौण बन्दैछ । गुट उपगुट र विभाजनको जालोमा कांग्रेस जकडीएको छ ।

नेपाली कांंग्रेस १४ औं महाधिवेशनको संघारमा छ । इतिहासकै कठिन परिस्थितिबाट पार्टी गुज्रिरहेको बर्तमान अवस्थामा किन कांग्रेस कमजोर भयो समिक्षा गर्न आवश्यक छ । यसका लागि डेढ दशक यता नेतृत्वमा आएकाले पार्टीलाई कसरी अगाडी बढाए ? वीपीको सिद्धान्त र एकताको शुत्रलाई कत्तिको शीरमा राखे ? १३ औं महाधिवेशनपछि नेतृत्वमा नैतिकता, इमान्दारिता, त्यागको राजनीति कति रह्यो ? त्यसको समिक्षा गर्नुपर्छ । कमजोरी भए आत्मलोचना गर्नुपर्छ, सच्चिनु पर्छ ।

१४ औं महाधिवेशनको संघारमा अब कांग्रेस कस्ता व्यक्तिको हातमा जानुपर्छ ? कस्ता व्यक्ति नेतृत्वमा आउनुपर्छ ? वहस, छलफल चलिरहेको बेला हामीले संवाद, सहमति र सहकार्यलाई प्राथमिकताका साथ अगाडी बढाउन सक्ने र गुट उपगुटमा रुमलिएको कांग्रेसलाई एउटै मालामा उन्न सक्ने क्षमता भएको नेतृत्व खोज्नुपर्छ ।

बर्तमान अवस्थामा वीपीले अख्तियार गरेको संवाद, सहमति र सहकार्यको राजनीति जुन नेतृत्वले अवलम्बन गर्छ उही राष्ट्रिय राजनीतिमा अगाडी बढ्न सक्छ । उही नेतृत्वमा आउन लायक छ । वीपीको संस्कार बोकेका, राष्ट्रिय परिस्थिति र समय अनुसार चल्न सक्ने नेतृत्वहरु कांग्रेसको लिडर बन्न सक्छन् । इमान्दारिता, निष्टा, नैतिकता र त्यागको राजनीति गर्नेहरु अझैपनि कांग्रेस भित्र छन् । मात्र उनीहरुलाई पार्टीले यथोचित स्थान दिन आवश्यक छ ।

कांग्रेसको १२ औं महाअधिवेशन र देशको परिस्थिति अर्कै थियो, १३ औंमा अर्कै छ । हरेक कालखण्डमा कांग्रेस र मुलुकको चुनौति फरक–फरक भएकाले १३ औं महाधिवेशनबाट नेतृत्वमा रहेकाले १४ औं महाधिवेशन पछि पनि नेतृत्वमा रहन सक्छन् वा रहनुपर्छ भन्ने हुँदैन । नेतृत्वको कुशलता, क्षमता समय र परिस्थितिले निर्क्यौल गर्ने कुरा हो ।

अहिलेको अवस्थामा मुलुक र कांग्रेस दुवैभित्र लोकतान्त्रिक पद्दति र विधि विधानको अभाव छ । मुलुक राज्य विहिन छ । निरंकुशता मौलाएको छ, अधिनायकवाद हावी भएको छ । र, यो कांग्रेसमा पनि छ । पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर छ । व्यक्तिवाद चरित्र हावी हुँदा विधिविधान च्यातिएका छन् । गुटवन्दी, चाकरी, चाप्लुसी अचाक्ली छ । कांग्रेसभित्र देखिएका यी चुनौतिहरु फेस गर्नसक्ने नेतृत्व अबको महाधिवेशनमा आउन अपरिहार्य छ ।

नेपालका कम्युनिस्टहरु बनमारा जस्तै हुन् नत अक्सिजन दिन्छ, नत काठ नै । बनमाराले भएको जंगल समेत समाप्त पार्छ । कम्युनिस्टले भएको लोकतन्त्र पनि समाप्त पार्दैछन् । त्यसलाई रक्षा गर्ने अभिभारा कांग्रेसको हो ।

अहिले कांग्रेसभित्र मौलाएको अर्को चरित्र ‘पुजीँवादी चरित्र’ पनि हो । इमान्दार, निष्टावान नेता कार्यकर्ताहरु पुजीँवादी चरित्रका अगाडी कमजोर भएका छन् । कांग्रेसका वडा–वडामा इमान्दार, निष्टवान कार्यकर्ताहरु नभएका हैनन् तर, तिनीहरुलाई पैसावालाहरुले कुल्चिएका छन् ।

पैसावालाहरुलाई मात्र राजनीतिमा स्पेश दिनुहुन्न । किन खेतान र चौधरीहरुलाई बढि स्पेश दिने ? पैसावालाहरुलाई मात्रै पार्टी सुम्पने हो भने अब कांग्रेसलाई ठेक्का लगाउँ । जसले धेरै पैसा दिन्छ उसैलाई पार्टी जिम्मा लगाउँ । ‘भताभुङ्गे देशका लथालिङ्गे चाला’ जस्तो कांग्रेसको विधि विधान र सिद्धान्तलाई बागमतीमा बगाएर चौधरी र खेतानका बंगलामा कैद गर्ने हो भने त्यसले पार्टीको मात्र हैन मुलुककै लोकतन्त्र सुरक्षित रहन सक्दैन ।

विगतका नेतृत्वले फेस गरेका चुनौति, कार्य र परिस्थितिको आत्मसमिक्षा गर्नु आवश्यक छ । विगतका कमीकमजोरी पहिल्याएर नयाँ कार्यदिशा र रणनीति जबसम्म पार्टीले लिँदैन तबसम्म कांग्रेस बलियो हुन सक्दैन । लोकतन्त्र र प्रजातन्त्रको रक्षा हुन सक्दैन । समय र परिस्थिति अनुरुप देश र जनताका लागि नेतृत्व आउनु पर्छ । राजनीतिमा जब निष्टा मर्छ पैसाको प्रभाव हुन्छ त्यो पार्टी रहँदैन । कांग्रेसमा पैसा हावी भइरहेको छ । आन्तरिक नेतृत्व दृष्टिहिन तवरले दौडिइरहेको छ । अवसरलाई कांग्रेसले बुझ्न सकेन ।

पद र पैसाकै पछि लाग्ने नेतृत्वले नत कांग्रेसको रक्षा गर्न सक्छ, नत लोकतन्त्र र प्रजातन्त्रकै । नेपालका कम्युनिस्टहरु बनमारा जस्तै हुन् नत अक्सिजन दिन्छ, नत काठ नै । बनमाराले भएको जंगल समेत समाप्त पार्छ । कम्युनिस्टले भएको लोकतन्त्र पनि समाप्त पार्दैछन् । त्यसलाई रक्षा गर्ने अभिभारा कांग्रेसको हो ।

लोकतन्त्रको रक्षार्थ पनि कांग्रेसको आन्तरिक नेतृत्वमा देखिएको समस्या १४ औं महाधिवेशनले समाप्त पार्नुपर्छ । मुलुकलाई नयाँ बाटोमा डोर्याउन, कांग्रेसलाई विधि पद्दति र सिष्टममा चलाउन दिर्घकालिन सोच भिजन राख्न सक्ने नेतृत्व चाहिन्छ ।

केही साथीहरुले पार्टीमा पुस्ता हस्तान्तरण हुनुपर्छ, नयाँ नेतृत्व आउनुपर्छ भन्दै अभियान चलाईरहेका छन् । हो, राजनीतिमा युवा सहभागिता हुनुपर्छ । तर, अहिले नै कांग्रेसमा नेतृत्वको अभाव भएको चैं छैन । अझैपनि १० वर्षसम्म कांग्रेसलाई नेतृत्व गर्न सक्ने क्षमता बर्तमान नेतृत्वकै वरीपरी छ । तर, त्यो पक्षलाई आज खोपीमा राखिएको छ ।

पुस्ता हस्तान्तरण भन्दा पनि कांग्रेसमा निस्टा र इमान्दारिताको खडेरी भएको छ । इमान्दारलाई सूली चढाइएको छ । पार्टीको झण्डा ओढेर पैसाको बलमा व्यक्तिगत स्वार्थ खोज्नेहरुको हालीमुहाली छ । वीपीको आदर्श, सिद्धान्त र इमान्दारितालाई जोगाउने नेतृत्व अबको महाधिवेशनबाट आउनु जरुरी छ ।

न्यौपाने, नेपाली कांग्रेस चितवन सचिव हुन् ।

- ३ बैशाख २०७८, शुक्रबार १२:५० मा प्रकाशित



Kumari Advertisement
top ad