BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

म्यानचेस्टर सिटी इतिहासमै पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी
म्यानचेस्टर सिटी इतिहासमै पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २–० ले पराजित गर्दै समग्रमा ४–१ को जित दर्ता गर्दै सिटी पहिलो पटक फाइनल पुगेको हो ।

सिटीको जितमा दुवै गोल विंगर रियाद माहरेजले गरे । उनले दुवै हाफमा १–१ गोल गरेका थिए । खेलको दोस्रो हाफमा पिएसजीका एन्जल डी मारियाले रातो कार्ड पाएपछि सिटीको जित थप सहज बनेको थियो । सिटीले अब फाइनलमा चेल्सी र रियल म्याड्रिडको आज बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

मंगलबार घरेलु मैदान इत्तेहाद रंगशालामा सिटीले ११ औं मिनेटमा माहरेजको गोलमा अग्रता लिएको थियो । गोलरक्षक एडरसनको लामो प्रहारसँगै सुरु भएको आक्रमणलाई माहरेजले फिनिस गरेका थिए । त्यसअघि केभिन डे ब्रुएनको प्रहार फर्केपछि आएको बललाई माहरेजले प्रहार गरेका थिए ।

खेलको आठौं मिनेटमा नै रेफ्रीले पिएसजीलाई पेनाल्टी दिएपनि भीएआरमा हेर्दा उक्त बल ओलेक्जान्दर जिन्चेन्कोको हातमा नभएर काँधमा लागेको पाइएको थियो । तर त्यसको केहीबेरमा नै पिएसजी १ गोलले पछि पर्यो । १८ औं मिनेटमा पिएसजी कप्तान मार्किन्हसको हेडर क्रसबारमा लाग्दा सिटीको अग्रता कायम नै रहयो ।

युवा फरवार्ड किलियन एमबाप्पे चोटका कारण बेन्चमा नै रहेको खेलमा पिएसजीले खेलमा फर्कने ठूलो अवसर पाएन । दोस्रो हाफको ६३ औं मिनेटमा सिटीले सुन्दर काउन्टर अट्याकमा अग्रता दोब्बर पार्यो । फिल फोडेन र केभिन डे ब्रुएनले वन टु पास खेल्दै बुनेको मुभलाई माहरेजले सहजै फिनिस गर्दै सिटीलाई फाइनलनजिक पुर्याए ।

६९ औं मिनेटमा डी मारियाले रातो कार्ड खाएपछि प्रशिक्षक पोचेटिनोमाथि दबाब थपिएको थियो । डी मारियाले मैदानबाहिर बल गएको अवस्थामा फर्नान्डीन्होलाई जानाजान खुट्टाले हानेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । ७५ औं मिनेटमा माहरेजको प्रहार मार्किन्हसले रोकेपछि अल्जेरियन विंगर ह्याट्रिकबाट चुके । त्यसको तीन मिनेटपछि नै फोडेनको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।

सिटी क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिग फाइनल प्रवेश गरेको हो । क्लबले ५१ वर्षमा पहिलो पटक युरोपेली प्रतियोगिताको फाइनल खेल्नेछ । प्रशिक्षक पेप गोर्डीओला १० वर्षपछि च्याम्पियन्स लिगको उपाधि जित्ने संघारमा पुगेका छन् । त्यसअघि उनी बार्सिलोनामा रहँदा च्याम्पियन्स लिग जितेका थिए ।

- २२ बैशाख २०७८, बुधबार ०९:१४ मा प्रकाशित



Kumari Advertisement
top ad