BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

च्याम्पियन्स लिगको फाइनलमा चेल्सीको यात्रा तय

एजेन्सी
च्याम्पियन्स लिगको फाइनलमा चेल्सीको यात्रा तय

एजेन्सी । यसवर्षको युरोपियन च्याम्पियन्स लिग फुटवलको फाइनलमा दुई इङिलस क्लबको भेट भएको छ । दुई दिनअघि म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पिएसजीलाई हराउँदै फाइनलको यात्रा तय गरेकोमा गएराती चेल्सीले पनि स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्यो ।

सेमिफाईनलको दोस्रो लेगको खेलमा रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाईनल प्रवेश गरेको हो । प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजा सहित फाईनल प्रवेश गर्यो ।

दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक÷एक गोल गरे । काइ हभार्ट्जको प्रहार पोस्टमा लागेर फर्किदा वार्नरले २८ औं मिनेटमा हेडमार्फत चेल्सीलाई अग्रता दिलाएका थिए ।

खेल सकिन ५ मिनेट अघि माउन्टले चेल्सीका लागि दोस्रो गोल गरे । पुलिसिकले डिबक्स भित्र उपलब्ध गराएको चलाखीपूर्ण पासमा माउन्टले गोल गरेका हुन् ।
खेलमा रियलले पकड बनाएपनि स्ट्राइकरहरु जम्न सकेनन् । रियल च्याम्पियन्स लिगकै सर्वाधिक सफल टीम हो ।

अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाईनल खेल्नेछ । उसले सन् २००८ मा म्यान्चेष्टर युनाईटेडसँग पेनाल्टी सुटआउटमा उपाधि भिडन्त गुमाएको थियो । त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो ।

फ्राङ्क लाम्पार्ड बर्खास्तमा परेपछि चेल्सी सम्हाल्न आईपुगेका थोमस टुचेल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पुगेका हुन् । टुचेलले पीएसजीबाट गत सिजन च्याम्पियन्स लिगको फाईनलमा टिमको नेतृत्व गरेका थिए । चेल्सीले मे १५ मा लेस्टर सिटीसँग एफ ए कपको फाईनल समेत खेल्दैछ ।

- २३ बैशाख २०७८, बिहीबार ०८:३७ मा प्रकाशित



Kumari Advertisement
top ad