BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

राप्ती प्रतिष्ठान सुधार्दै वीपी प्रतिष्ठानका दुइ स्टाफ नर्स

एक्सन खबर
राप्ती प्रतिष्ठान सुधार्दै वीपी प्रतिष्ठानका दुइ स्टाफ नर्स

दाङ । गतवर्ष काेराेना संक्रमणमा स्वास्थ्य उपचार सेवा नदिएकाे भन्दै चर्काे आलाेचना खेपेकाे दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले  काेराेना संक्रमणकाे दाेश्राे भेरियन्टमा भने आफ्नाे सेवाहरू प्रभावकारी बनाउँदै गएकाे छ ।

यसका लागि  प्रतिष्ठानमा एडभान्स ओटी, एचडियू, आइसियू सेटअपका लागि बाहिरबाट सिनियर स्टाफ नर्स ल्याइएको छ । राप्ती प्रतिष्ठानले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई जना सिनियर स्टाफ नर्स ल्याएको हो ।

प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावकारी बनाउन र कोरोनाका बिरामीहरुको प्रभावकारी उपचार र सहज व्यवस्थापन मिलाउन वीपी प्रतिष्ठानबाट अनुभवी दक्ष जनशक्ति ल्याएकी हुन् ।

राप्ती प्रतिष्ठानमा काजमा आएका उल्लेखित स्टाफ नर्सहरुसँग वीपी प्रतिष्ठानको कोभिड–१९ अस्पताल व्यवस्थापन र उपचार सेवामा काम गरेको अनुभव छ । उनीहरुले राप्ती प्रतिष्ठानका स्टाफहरुलाई ओटी, एचडियू, आइसियू सेटअपमा तालिम दिने कार्यपनि गर्ने बताइएको छ ।

उनीहरु गत बैशाख १२ गते नै राप्ती आएका थिए । उनीहरुले प्रतिष्ठानको मेडिकल वार्ड, पोष्टअप वार्ड, ओटि वार्ड, आइशोलेसन वार्ड र इमरजेन्सी वार्ड लाई व्यवस्थापन गरी विरामीको उपचार गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको प्रतिष्ठानको भनाई छ । उनीहरूले वीपी प्रतिष्ठानमा हासिल गरेकाे सिप, ज्ञान र क्षमतालाइ राप्तीमा उपयाेग गरिरहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय कोभिड–१९ का विरामीको स्वास्थ्योपचारमा प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । गत वर्षको कोभिड–१९ मा जनशक्ति, स्वास्थ्य सामग्री तथा आवश्यक उपकरण व्यवस्थापन नगरेको भन्दै आलोचित प्रतिष्ठान यो पटकको महामारीमा स्तरीय सेवा प्रदान गर्न सफल भएको बताइएको छ । तस्वीरः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

- २९ बैशाख २०७८, बुधबार १७:३० मा प्रकाशित



Kumari Advertisement
top ad