BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

विपत्तिमा निजी क्षेत्रले हातेमालो गर्छु भन्दा सरकार किन सुन्दैन ?

बसरुद्धिन अन्सारी
विपत्तिमा निजी क्षेत्रले हातेमालो गर्छु भन्दा सरकार किन सुन्दैन ?

विश्वव्यापी कोभिड–१९ को दोश्रो भेरियन्टले नेपाललाई नराम्ररी गाँजेको छ । एक महिनायता मुलुकभर कोरोना संक्रमितको संख्या र मृत्यूदर दुई सय प्रतिशत बढेको छ । देशका बढी जनघनत्व भएका शहरहरुमा संक्रमितको संख्या दिन दुगुणा रात चौगुणा बढिरहँदा स्वास्थ्य सेवा नराम्ररी प्रभावित भएको छ ।

देशभर अक्सिजन, भेन्टिलेटर, आइसियू, एचडियू वेडको अभाव छ । राजधानी उपत्यकासँगै ठूला शहरहरु विरगञ्ज, नेपालगञ्ज, वुटवल, धनगढी, विराटनगर जस्ता शहरका सबै हस्पिटलहरु कोभिडका विरामीले भरिएका छन् ।

कोभिड–१९ का संक्रमित र अन्य विरामीलाई एकै स्थानमा राखेर उपचार गर्न नमिल्ने भएकाले पनि कोरोनाको कोहराम मच्चिएको हो । कोरोनाका विरामीले सास्ती व्यहोरिरहेको एउटा दृश्य छ भने, अब अन्य रोगका विरामीहरु पनि स्वास्थ्योपचार नपाएर मर्ने अवस्था सृजना हुने खतरा पनि बढेको छ ।

राज्यसँग भएका स्वास्थ्य संरचना, जनशक्ति र उपचार पद्दतिले मात्रै यो महामारीबाट पार पाउने अवस्था छैन । निजी क्षेत्रसँग भएका स्वास्थ्य संरचनालाई प्रयोग गरेर पनि विरामीलाई बचाउन बचाउन नसकिइरहेको अवस्था छ । यो विकराल अवस्था आउनुमा सबैभन्दा बढी दोष राज्यलाई जान्छ ।
कोभिड–१९ सँग लड्न सरकारले अपनाएको रणनीति नै कमजोर भयो ।

घट्टेकूलाेकाे काठमाडाैं नेशनल मेडिकल कलेजमा रहेकाे वेड ।

जतिबेला हामीले पहिलो भेरियन्टबाट पार पाउँदैथ्यौं विज्ञहरुले दोश्रो भेरियन्ट निम्तन सक्छ भनेर सचेत गराएकै थिए तर, राज्यले ती विज्ञहरुको सल्लाह, सुझावलाई कागजको टोकरीमा थनक्याइ दियो । कोरोना समाप्त भयो भन्दै ठुल्ठूला सभा, सम्मेलन भए, राज्यका प्रमुख पदहरुमा बस्नेहरुले नै हज्जारौं मान्छेहरु भेला गरेर सभा, सम्मेलन गर्दा जनतामा पनि अब कोरोना भाइरस समाप्त भएछ भन्ने भ्रम सृजना भयो । राज्यको गल्ती नै यहाँ भएको हो ।

दोश्रो भेरियन्टको लक्षण बढ्दै जाँदा पनि हामीहरु चनाखो हुन सकेनौं अर्को गल्ती यहाँ भयो । फागुन अन्तिमतिरै भारतमा कोरोनाको दोश्रो लहरले संकट बढाउँदै गर्दा हामीहरु भने सत्ता ढाल्ने र बनाउने खेलमा रमाईरहेका थियौं । राज्यका सबै निकायहरु राजनीतिमा रुमलिँदा कोरोनाले कसरी राजधानीलाई जकड्यो सोच्नै सकिएन ।

भारतमा दोश्रो तहर फैलँदै गर्दा हामीले त्यसको बाछिटा नेपालमा पनि पर्छ भनेर सावधानी अपनाउँदै पूर्वतयारी गरेको भए आज सडकमा, अस्पतालका गेटमा, एम्बुलेन्समा अक्सिजन नपाएर विरामी मर्ने थिएनन् । कोभिड–१९ बाट मरेका जनताको लास गनेर बस्नुपर्ने अवस्था आउँदैनथ्यो ।

तर, अब जे भयो भइरहेछ त्यसमा रोएर कराएर मात्र कोरोना भाग्ने हैन । त्यसलाई पाठको रुपमा स्विकार गरेर उचित रणनीति अपनाउनु अहिलेको आवश्यक्ता हो । यद्यपि, प्रधानमन्त्रीले तेश्रो पटक सपथ लिँदै गर्दासम्म सरकारले अब कोरोना महामारी कसरी नियन्त्रण गर्छ अनुमान समेत गर्न सकिएको छैन । कोभिड–१९ को दोश्रो लहर फैलिएको डेढ महिना वितिसक्दा राज्य योजनाविहिन हुनु लाजमर्दो हो ।

मेरो विरगञ्जमा नेशनल मेडिकल कलेज छ । त्यहाँ प्रदेश २ भरीका सामान्य देखि गम्भिर प्रकारका विरामीहरु उपचारार्थ आउने गर्दछन् । सालाखाला दैनिक तीन हजारको हाराहारीमा विरामीको चाप हुने त्यहाँ मैले छुट्टै ठाउँमा कोभिड अस्पताल तयार गरी सेवा दिइरहेको छु । स्थानीय, प्रदेश सरकारसँग सहकार्य, समन्वयमा छुट्टै अस्थायी कोभिड अस्पताल सञ्चालन गरेकाले कोरोनाका विरामीका लागि पनि सहज भयो, अन्य जनरल विरामीहरुलाई पनि संक्रमण फैलन सक्न जोखिम भएन । विरगञ्जमा पनि हामीले अक्सिजन अभावलाई झेलिरहेका छौं । दिनदिनै विरामीको चाप बढ्दो छ । त्यसलाई थेग्न स्थानीय सरकार र प्रदेश सरकारको कुनै प्रभावकारी योजना रणनीति छैन । कमसेकम सरकारले निजी क्षेत्रलाई पनि समेटेर योजनाबद्ध रुपमा रणनीति बनाइदिए जोखिम न्यूनिकरण धेरै हदसम्म कम हुने थियो ।

मैले एक दशकदेखि काठमाडौंको घट्टेकूलोमा काठमाडौं नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल सञ्चालनका लागि तयारी गरेको थिए । मेडिकल कलेजलाई चाहिने सम्पूर्ण आधारहरु तयार गरी आशयपत्र समेत पाएको अवस्थामा मेडिकल कलेज चलाउन राज्यले अनुमति दिएन । अरबौं खर्च गरेर पूर्वाधार, जनशक्ति र उपकरण सहितको त्यो संरचनालाई मैले ताला लगाएर राख्नु परिरहेको छ ।

यो बेला मैले नै सरकारलाई ‘जनता कोरोना महामारीमा अक्सिजन नपाएर, बेड नपाएर, भेन्टिलेटर नपाएर मरिरहेका छन् । मेरो ३१५ वेड क्षमताको संरचना छ मलाई अनुमति दिनुभयो भने र त्यहाँ छुट्टै कोभिड अस्पताल चलाउँछु । अहिलेलाई अस्थायी कोभिड अस्पतालको अनुमति दिनुस’ भनेर अनुरोध गरें ।

राजधानीमा म जस्तै सम्बन्धनको पर्खाइमा रहेका अन्य स्वास्थ्य संस्था र भवनहरु छन् जसलाई आजभोली नै कोभिड अस्पतालमा रुपान्तरण गरेर, आइसोलेसन सेन्टर बनाएर चलाउन सकिन्छ । तर, आफुपनि नगर्ने, गर्न नसक्ने, अरुले गर्छु भन्दापनि टाङ् अड्याउने सोच भएका नीति निर्मातालाई यो कुरा पच्दै पच्दैन ।

स्वास्थ्य मन्त्री, सचिब, परराष्ट्रमन्त्री हुँदै प्रधानमन्त्रीसम्मलाई कोभिडको महामारीले निम्त्याउन सक्ने भावी संकट र त्यसबाट आफ्ना जनतालाई सुरक्षित गराउन सकिने उपाय समेत ब्रिफिङ गरें । मैले पहिलो कोभिडको लहरमा पनि राज्यसँग अनुरोध गरेको थिएँ । दोश्रो लहर आउनु अगाडी पनि संभावित संकटको जानकारी गराएँ, तर राज्यले चासो दिएन ।

डेढ महिना अगाडी मन्त्रालयका अधिकारीहरुसँग निवेदन नै हालेर अस्थायी कोभिड अस्पतालको अनुमति दिनुस म कोभिड विरामीको उपचार गर्छु भनेर भने । तर, निती निर्माण रहेकाहरुले, कोभिडसँग लड्ने योजना बनाउनेहरुले मेरो त्यो पूर्वाधार, क्षमता र योजनालाई देख्न सकेनन् । स्वास्थ्य मन्त्रालयको भवनबाटै प्रष्ट देखिने त्यो संरचनालाई त्यहाँ बस्नेहरुले देखेनन् । वीर अस्पताल, टेकू, शिक्षण अस्पतालका गेटमा अक्सिजन नपाएर छट्पटिएका विरामीहरुको आर्तनाद देखेनन् । रातभर काेभिडका विरामीकाे उपचारमा खटेर अस्पतालका करिडाेरमै सुस्ताएका डाक्टर, नर्सकाे पिडा देखिएन ।

निजी क्षेत्रसँग भएका पूर्वाधार, आवश्यक जनशक्तिहरु कसरी परिचालन गर्न राज्यले निजी क्षेत्रका स्टेक होल्डरसँग सल्लाह सुझाव लिएर प्रयोग गर्नु पर्दथ्यो ।

आज कोरोनाकै कारण दैनिक दुई सयको हाराहारीमा मानिसहरुको मृत्यु भइरहेको छ । दैनिक ८ हजार बढीको रेसियोमा संक्रमित बढेको अवस्थामा राज्यले मुलकमा भएका यस्ता ठूला संरचनाहरु कसरी हुन्छ प्रयोग गर्नु पर्दथ्यो । मैले मेरो संरचनाको त एउटा उदाहरण मात्र दिएको हुँ ।

राजधानीमा म जस्तै सम्बन्धनको पर्खाइमा रहेका अन्य स्वास्थ्य संस्था र भवनहरु छन् जसलाई आजभोली नै कोभिड अस्पतालमा रुपान्तरण गरेर, आइसोलेसन सेन्टर बनाएर चलाउन सकिन्छ । तर, आफुपनि नगर्ने, गर्न नसक्ने, अरुले गर्छु भन्दापनि टाङ् अड्याउने सोच भएका नीति निर्मातालाई यो कुरा पच्दै पच्दैन । जसरी चीनले कोरोना कहर बढ्दै गर्दा रातारात हजार बेडको कोभिड अस्पताल तयार गर्यो हामीले पनि गर्न सक्छौं । नेपालको अर्थतन्त्रले त्यस्तो र्यापिट्ली काम गर्न त संभव नहोला तर, राज्यले निजी क्षेत्रसँग सहकार्य गरे असंभव भने छैन । निजी क्षेत्रसँग भएका पूर्वाधार, आवश्यक जनशक्तिहरु कसरी परिचालन गर्न राज्यले निजी क्षेत्रका स्टेक होल्डरसँग सल्लाह सुझाव लिएर प्रयोग गर्नु पर्दथ्यो ।

अहिले देशभरका शैक्षिक संस्थाहरु बन्द रहेका छन् । सरकारी तथा निजी शैक्षिक संस्थाहरुका संरचनालाई पनि राज्यले प्रयोग गर्न सक्छ । सबै निजी संस्थाहरुको पूर्वाधार कोभिड अस्पताल, आइसोलेसन सेन्टर वा क्वारेन्टाइनका रुपमा प्रयोग गर्न नसकिएला तर, सरकारी पूर्वाधार भएका, खुल्ला र फराकिला स्कुल कलेजलाई पक्कै पनि गर्न सकिन्छ ।

यसका अलावा विरामीको चाप कम हुने स्वास्थ्य संस्थाहरुलाई पनि अस्थायी कोभिड अस्पतालका रुपमा प्रयोग गर्न सकिन्छ । र, मलाई लाग्छ कुनैपनि त्यस्ता सञ्चालक छैनन् जसले राष्ट्र विपत्तिमा परेको बेला म सहयोग गर्दिन भन्छन् । आज निजी क्षेत्र आफैंले महामारीका बेला राज्यलाई सघाउँछु भनेर आउँदा राज्य किन सुन्दैन ? राष्ट्र राष्ट्रियता र समाज संकट परेको बेला एक जुट हुनु देशका जुनसुकै कुना कन्दरामा बस्ने जुनसुकै वर्ग, समुदाय र क्षेत्रका जनताको कर्तव्य हो । जसरी कुनै पनि संकट र विपत्तिले धनी, गरिब, वर्ग समुदाय हेर्दैन त्यसरी नै राज्यले सबै तहका नागरिक र व्यवसायीलाई समान दृष्टिकोणले हेर्न पर्दछ । विपत्तिको यो घडीमा राष्ट्रियता र मानवता जागृत गराउनु राज्यको दायित्व हो ।

अन्त्यमा, कोभिड–१९ को महामारी कुनै एक जनाले, कुनै एउटा संयन्त्रले नियन्त्रण गर्ने अवस्थामा छैन । राज्यका सबै शक्ति र संरचनाले मात्रै यो विपत्तिबाट पार पाउने अवस्था छैन । आउनुस् हातेमालो गरौं । विपत्तिबाट राज्यलाई बचाउँ । जीवन र जगतलाई बचाउँ ।
अन्सारी विरगञ्जको नेशनल मेडिकल कलेज र काठमाडौंको काठमाडौं नेशनल मेडिकल कलेजका सञ्चालक हुन् ।
कुराकारीमा आधारित

- ३१ बैशाख २०७८, शुक्रबार १५:४८ मा प्रकाशित



Kumari Advertisement
top ad