BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

ला लिगाको उपाधि एटलेटिको म्याड्रिडलाई, रियल दोश्रो स्थानमा

एजेन्सी
ला लिगाको उपाधि एटलेटिको म्याड्रिडलाई, रियल दोश्रो स्थानमा

एजेन्सी । स्पेनिस ला लिगाको उपाधि एटलेटिको म्याड्रिडले जितेको छ । लिगको अन्तिम खेलमा जित दर्ता गरेसँगै एटलेटिको म्याड्रिडले स्पेनिस लिग जितेको हो । उपाधि होडमा रहेको रियल म्याड्रिडले जित हासिल गरेपनि एटलेटिकोले २ अंकको अग्रता लिँदै सन् २०१३÷०१४ पछि ला लिगा हात पार्यो ।

घरेलु टोली रियल भालाडोलिडमाथि २–१ को जित दर्ता गर्दै एटलेटिको च्याम्पियन बनेको हो । एटलेटिकोको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले १–१ गोल गरे । रियल म्याड्रिडले भने घरेलु मैदानमा भिल्लारियलविरुद्ध २–१ को जित दर्ता गर्यो ।

ला लिगामा एटलेटिको ३८ खेलमा ८६ अंक जोड्न सफल रहयो । रियल भने ३८ खेलमा ८४ अंक जोड्दै उपविजेतामा सिमित रहयो । बार्सिलोनाले पनि अन्तिम खेल जित हासिल गर्दै तेस्रो स्थानमा ७९ अंक जोड्दै सिजन अन्त्य गर्यो ।

एटलेटिको भालाडोलिडविरुद्ध पहिलो हाफमा १–० ले पछि परेको थियो । भालाडोलिडका ओस्कार प्लानोले १८ औं मिनेटमा अग्रता दिलाएका थिए । उनले काउन्टर अट्याकमा मार्कोस डे सौसाले दिएको पासलाई मैदानको मध्यभागबाट अघि बढाउँदै पेनाल्टी क्षेत्रभित्र पुर्याएर गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमा नै एटलेटिकोले बराबरी गोल फर्काउन सफल रहेको थियो । एन्जल कोर्रियाले खेलको ५७ औं मिनेटमा गोल गर्दै उपाधि होडमा एटलेटिकोलाई केहि बलियो बनाएका थिए । उनले यानिक करास्कोको पासलाई पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दै गोलरक्षक जोर्डी मासिपलाई बिट गर्न सफल रहेका थिए ।

६६ औं मिनेटमा सुआरेजले गोल गर्दै खेलमा एटलेटिकोलाई अग्रता दिलाए । भालाडोलिडका खेलाडीले दिएको ब्याकपास नियन्त्रणबाहिर रहेपछि मैदानको मध्यभागबाट एक्लै बल अघि बढाएर सुआरेजले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वन स्थितिमा गोल गरेका थिए । भालाडोलिड यस हारसँगै लिगबाट रेलिगेसनमा परेको छ ।

यता रियल म्याड्रिडले भने भिल्लारियलविरुद्ध जित निकालेपनि एटलेटिकोले जित निकाल्दा उपाधि जित्न सकेन । पाहुना टोलीका लागि येरेमी पिनोले २० औं मिनेटमा गोल गरेका थिए । उनले जेरार्ड मोरेनोको चिप पासलाई पेनाल्टी क्षेत्रभित्र दोस्रो प्रयासमा नियन्त्रणमा लिँदै गोलको दिशा दिएका थिए । उनको अन्तिम प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले बचाउने प्रयास गरेपनि हातमा लाग्दै पोस्टमा छिरेको थियो ।

दोस्रो हाफको सुरुवातमै करीम बेन्जेमाले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई अफसाइड दिएका थिए । क्यासेमिरोको क्रसमा बेन्जेमाले हेडरमार्फत गोल गरेपनि क्रस दिने बेलामा बेन्जेमा अफसाइड रहेको भिडियोमा देखिएको थियो ।

खेलको ६६ औं मिनेटमा बेन्जेमाले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाले । गोलरक्षक रुल्लीले दबाबमा गरेको क्लिअरेन्स पेनाल्टी क्षेत्रभित्र अनामार्क रहेका बेन्जेमाले नियन्त्रणमा लिएपनि उनले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् ।

खेलको तीन मिनेट समय बाँकी रहँदा बेन्जेमाले बराबरी गोल गरे । उनले रोड्रीगोको पासलाई पेनाल्टी क्षेत्रको ठिक भित्र नियन्त्रणमा लिँदै टप कर्नरमा गोल गरेका थिए । इन्ज्युरी समयमा बेन्जेमाको क्रसमा लुका मोड्रीचले गोल गरेपनि उक्त जित उपाधिका लागि पर्याप्त रहेन ।

क्याटलान क्लब बार्सिलोनाले लिगको अन्तिम खेलमा एइबारमाथि १–० को जित दर्ता गर्यो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमनले निर्णायक गोल गरेका थिए । ८१ औं मिनेटमा उनले सानदार भलीमार्फत गोल गर्दै जित सुनिश्चित गरेका थिए । एइबार अंक तालिकाको पुछारमा रहेपछि अर्को सिजन तल्लो श्रेणीमा खेल्नेछ ।

युरोपा लिगको दौडमा भने रियल बेटिसले रोमान्चक पुनरागमन गर्दै सेल्टा भिगोलाई ३–२ ले पराजित गर्यो । एक समय २–० ले पछि रहेको बेटिसले दोस्रो हाफमा ३ गोल फर्काएको थियो । सेल्टाले इयागो आस्पास र ब्राइस मेन्डेजको गोलमा आरामदायी अग्रता बनाएको थियो । तर बोर्जा इग्लेसिस, नाबिल फेकिर र भिक्टर रुइजले गोल गर्दै खेलमा फर्काए ।

अन्य खेलमा हुएस्का र भ्यालेन्सियाको खेल गोलरहित बराबरीमा सकियो । हुएस्का यस बराबरीका बाबजुद रेलिगेसनमा परेको छ । एलेक्जेन्डर इसाकको गोलमा रियल सोसिडाडले ओसासुनालाई १–० ले हरायो । एल्चेले एथ्लेटिक बिल्बाओलाई २–० ले पराजित गर्यो । एल्चे यस जितसँगै शीर्ष डिभिजनमा रहन सफल रहयो ।

- ९ जेष्ठ २०७८, आईतवार ००:०१ मा प्रकाशित



Kumari Advertisement
top ad