BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

वडाध्यक्षले गठन गरेकाे उपभाेक्ता समितिमा छाेरा–बुहारी देखि सम्धीसम्म अटाए, जनता अटाएनन्

एक्सन खबर
वडाध्यक्षले गठन गरेकाे उपभाेक्ता समितिमा छाेरा–बुहारी देखि सम्धीसम्म अटाए, जनता अटाएनन्
[sharethis-inline-buttons]

सुनसरी । स्थानीय तहमा हुने विकास निर्माणमा जनप्रतिनिधिहरुले आफन्त नातेदारकै नाममा उपभोक्ता समितिहरु गठन गरेर राज्यको ढुकुटीमा लुटतन्त्र मच्चाएको पाइएको छ । सुनसरी जिल्ला दुहवी नगरपालिकाका वडाहरुमा जनप्रतिनिधिले नियम विपरित उपभोक्ता समिति र अनुगमन समिति बनाएर काम गरेका हुन् ।

दुहवी नगरपालिका वडा नम्बर ९ का वषध्यक्ष मेहदी हुसैनले वडाभित्र हुने विभिन्न विकास निर्माणको काम आफ्नै घरभित्रका नाता पर्नेहरुलाई नै राखेर गरेको पाइएको छ । वडा भित्र तीन वटा विकास निर्माणका काममा हुसैनले नियम बिपरित आफ्नै छोरा तथा घरका अन्य सदस्य र नातेदारहरुलाई नै राखेर उपभोक्ता समिति गठन गरी काम गरेका छन् ।

दुहवी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष मेहदी हुसेन

वडाभित्र उपभोक्ता समिति मार्फत आधारभुत स्वास्थ्य चौकी भवनमा माटो पुर्ने काम गर्दा आफ्नै छोरालाई उपभोक्ता समितिको अध्यक्ष बनाएर काम गराएका छन् । स्थानीयका अनुसार अध्यक्ष हुसैनले छोरा सद्दाम हुसैनलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर भाईको छोरा नुर आलमलाई सचिब बनाएका छन् ।

कूल १ लाख ७६ हजार ५ सय ३३ रुपैंयाको लागतको काममा गठित समितिको कोषाध्यक्षमा आफ्नै भाई बुहारी पर्ने आशा खातुनलाई राखेका छन् । भने, सदस्यहरु समेत परिवार भित्रको राखेका छन् । उक्त समितिको सदस्यमा मो. साबिर हुसैन (आफ्नै भतिजा), जाहिर मिया (आफ्नै भतिजा, दाजुको छोरा), हौवा मिया (भतिजी), आसमा खातुन ( नातेदार) रहेका छन् ।

यतिमात्रै हैन समितिको अनुगमन समिति संयोजकमा पनि आफ्नै भिनाजु इस्लाम मियालाई राखेका छन् भने, अनुगमन समिति सदस्यमा कमल ऋषिदेव (भाइको सालो) लाई राखेका छन् । कुनैपनि विकास निर्माणमा होस् वा अन्य काममा स्थानीय जनप्रतिनिधिहरुले आफ्नै नाता परिवार भित्रकालाई समितिहरुमा राख्न पाईंदैन ।

यस्तै वडाध्यक्ष हुसैनले वडाको इदगाह बाटो निर्माण गर्न गठित उदगाह बाटो निर्माण उपभोक्ता समितिमा पनि आफ्नै घर परिवारका सदस्य राखेर उपभोक्ता समिति गठन गरेका छन् ।

१ लाख ७७ हजार १ सय ५० रुपैंया लागतको बाटो निर्माणका लागि वडाध्यक्षले आफ्नै छोराको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेका छन् । गठित समितिको अध्यक्षमा मो. नजाम हुसैन छन् भने सचिबमा आफ्नै भिनाजु मो. इस्लाम मिया रहेका छन् । कोषाध्यक्षमा भुलुर खातुन रहेको छन् । उनीपनि हुसैन आफ्नै ज्वाइकाे भाउजु भएकाे स्थानीयको भनाई छ । समितिको सदस्यमा अनवर मिया, मोस्लिम मिया, निसरल मिया, इलियास मिया, मैमुम खातुनलाई राखेका छन् । यी सबै वडाध्यक्षका घरभित्रका मान्छेहरु हुन् ।

वडाध्यक्षका छाेरा मो. नजाम हुसैन जाे उपभाेक्ता समितिका अध्यक्ष तथा ठेकेदार हुन् ।

यसैगरी सोहि वडामा निर्माणाधिन साझा रिटेनिङ्ग बाल निर्माणको काम भइरहेको छ । त्यसको गठित उपभोक्ता समितिमा पनि आफ्नै मान्छेहरु राखेर समिति गठन गरीएको छ । १४ लाख ८९ हजार ४ सय ४४ रुपैंया लागतको कामका लागि गठित समितिको अध्यक्षमा आफ्नै सम्धीको भाईको नाती मो.सज्जाद हुसेन छन् । भने, सचिव अब्दुल हसिब पनि सम्धिको भाईको नाति पर्छन् । कोषाध्यक्ष नसिरा खातुन सम्धिको बुहारी हुन् भने अर्का सदस्य लियाकत मिया पनि हुसैनको नातेदार पर्छन् ।

वडामा हुने विकास निर्माणमा आफ्ना र आफन्तकै नेतृत्वमा उपभोक्ता समिति गठन गरी वडाध्यक्षले ‘कमाउ धन्धा’ चलाएको स्थानीयको भनाई छ । ‘एकाघरकै व्यक्तिहरु राखेर उपभोक्ता समिति गठन भएको छ । हामीले नगरपालिकाका मान्छेहरुलाई जानकारी गराएपनि कतैबाट सोधखोज भएन ।’ स्थानीयको भनाई छ ।

बाटो निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा बुबाले आफुलाई अध्यक्ष बनाएको नजाम हुसेनले स्विकार गर्दै आफुले उपभोक्ता समितिबाट ठेक्कामा काम गरेको बताए । ‘मेरो बुबा वडाध्यक्ष हो, मैरै अध्यक्षतामा समिति गठन भएपनि मैले समितिबाट ठेक्कामा लिएर काम गरेको हुँ ।’ नजाम हुसेनले भने । आफुले उपभोक्ता समितिलाई सहयोग पुगोस भनेर आफ्नै स्काभेटर, जेसिवी प्रयोग गरेर काम सम्पन्न गरेको जिकिर गरे । आफुहरुसँग साधन श्रोत (जेसिवी, स्काभेटर, टीपर) भएकोले प्रयोग गरेको नजामले बताए ।

यता वडाध्यक्ष मेहदी हुसेनले भने आफुले कुनै पनि उपभोक्ता समिति गठन नगरेको बताए । उपभोक्ता समिति गठन गर्दा पनि आफु नगएर वडाको प्रतिनिधि पठाएर समिति गठन गरेको जिकिर गर्दै उनले गाउँमा सबै आफ्नै मान्छेहरु रहेकाले नाता सम्बन्ध परेको हुन सक्ने बताए । ‘अरु वडामा कोटेसनमा काम गर्छन् मैले त उपभोक्ता समिति गठन गरेर काम गरेको छु । अब गाउँभरी मेरै आफन्त छन् त मैले के गर्नु ? कि अर्को वडाको मान्छे ल्याएर समिति गठन गर्नु ?’ वडाध्यक्षले प्रश्न गरे ।

यता स्थानीयहरुले भने वडामा हुने कुनैपनि विकास निर्माणका काममा वडाध्यक्षले समन्वय नगरेको बताएका छन् । आफुखुसी उपभोक्ता समिति गठन गरेर काम गर्ने गरेको बताएका छन् । नगरका धेरै वडाहरूमा वडाध्यक्षहरूले आफन्त, नातेदार राखेर उपभाेक्ता समिति बनाउने गरेका छन् भने, कतिपय वडाहरूमा काेटेसनमा कामहरू भइरहेका छन् । तर, यी विषयमा दुहवी नगरपालिकाकाे पनि ध्यान गएकाे छैन ।

दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहदी हुसेन विवादित व्यक्ति हुन् । लकडाउनको समयमा दुहबी–९ छाताबेलीका एकदर्जन व्यक्तिलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा उनीहरूविरुद्ध असार ८ गते इलाका प्रहरी कार्यालय दुहबी प्रहरीमा मुद्दा दर्ता भएको थियाे ।

कोरोना भाइरसको त्रास बढिरहेको बेला गाउँमै रहेको जयबाबा इट्टा उद्योगमा काम गर्ने बंगाली मजदुरको विषयमा लिएर विवाद भएको थियो । बाहिरबाट गाउँमा आएको मजदुरबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्थानीय प्रतिकारमा उत्रिएपछि विवाद हुँदा एकदर्जन व्यक्ति घाइते भएका थिए ।

उनीहरूलाई दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहदी हुसेन मिँयाको नेतृत्वमा उनका आफन्तहरुले योजना अनुसार कुटपिट गरी घाइते बनाएको आरोप थियाे । लकडाउन पालन नगरेको र जनप्रतिनिधि आफै लकडाउनको समयमा इट्टा उद्योग सञ्चालन गरेको भन्दै काम रोक्न र मजदुरलाई क्वारेन्टाइनमा राख्न स्थानीयले माग गरेका थिए । पुनः अद्यावधिक गरिएकाे ।

- २१ जेष्ठ २०७८, शुक्रबार १६:३१ मा प्रकाशित



Kumari Advertisement
top ad