BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मनिषा कोइरालाको सहयोग

एक्सन खबर
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मनिषा कोइरालाको सहयोग

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

मनिषा कोइराला फाउण्डेसन मार्फत अभिनेत्री मनिषाले पिपिई ५० सेट, ग्लोब्स तीन सय सेट, एन नाईन्टीफाईभ मास्क ३०० पिस, एक हजार ट्यावलेट डेक्सोना औषधी, रियूजएवल गाउन ३० सेट, डिस्पोजेवल गाउन ३६० वटा सहयोग गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलको समन्वयमा अभिनेत्री कोइरालाले फाउण्डेसन मार्फत सहयोग गरेको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्य सामग्री काठमाडौंबाट जुम्ला ल्याउन नेपाली सेनाले सहयोग गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पोजेटिभ विरामीलाई उपचार गर्नुका साथै जिल्ला बाहिर चिकित्सकहरु परिचालन गरि कोभिड नियन्त्रणमा योगदान गरिरहेको छ । प्रतिष्ठानले कोभिडका विरामीको प्रभावकारी उपचार गरेका कारण आजभोली सुगम क्षेत्रबाट पनि विरामी आउने गरेका छन् ।

प्रतिष्ठानमा कोरोनाको उपचारका लागि १२० वेडको आइसोलेसन, १२ वेडको आईसियू र २४ एचडियू सञ्चालन गरेको प्रवक्ता डा. रमेश भट्टराईले बताए । प्रतिष्ठानमा २० जना कोरोना संक्रमितको वेडमा सिधै अक्सिजन प्लान्टबाट अक्सिन आपुर्ति हुने गरेको छ । अन्य संक्रमितको लागि अक्सिजन सिलिण्डरबाट अक्सिजन दिइने व्यवस्था छ ।

यसअघि  अभिनेत्री मनीषा कोइरालाले वीरगंजस्थित नारायणी अस्पताललाई चार थान भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेकी थिइन् ।

- २३ जेष्ठ २०७८, आईतवार २२:५३ मा प्रकाशित



Kumari Advertisement
top ad