BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेलको दावी

एक्सन खबर
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेलको दावी

काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेसले सरकारको दावी गरेको छ । हिजो कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख पौडेलले शुक्रबार अपरान्ह संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गरेकी थिइन् ।

प्रदेश प्रमुखले आहृवान गरेको केही घण्टामै पोखरेल बहुमत सांसदसहित मुख्यमन्त्री दाबी गर्न पुगेका थिए । कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे स्वयंम गरी ३१ सांसदको समर्थनमा कृष्णचन्द्र प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

पोखरेललाई मुख्यमन्त्री बनाउन चार दल र स्वतन्त्र सांसद मनाङेले लिखित पत्र समेत दिएका छन् । प्रदेश प्रमुखसँग भएको भेटमा मुख्यमन्त्रीमा दाबी पेश गरेका पोखरेलले आफूहरु सशरीर आएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पुर्‍याएर निर्णय गर्ने बताएकी छन् । लगतै ३१ सांसदले प्रमुख प्रमुखको कार्यालयमै पोखरेलको मुख्यमन्त्री दाबीको पक्षमा हस्ताक्षर गरेका छन् ।

मुख्यमन्त्रीमा दावी पेश गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस संसदीय दलका नेता पोखरेलले समयको चापका कारण छिटो निर्णय होस् भनेर अनुरोध गरेको जानकारी दिएका छन् । प्रदेश प्रमुखले आज निर्णय दिने बताइएको छ ।

यसअघि हिजै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशकाे संसदबाट विस्वासकाे मत पाउन नसकि पदमुक्त भए । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत खसेकाे थियाे भने, विपक्षमा ३० मत खसेको छ ।

- २९ जेष्ठ २०७८, शनिबार ०७:५५ मा प्रकाशित



Kumari Advertisement
top ad