BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

कथा–चिया दिने केटी

कुमार काफ्ले
कथा–चिया दिने केटी

शरद यामको ठण्डी बिहान ।

सडकमा कुकुरहरू भुकिरहेका थिए । कतै प्रत्येक घरमा त कतै बिराएर ऊ एकैक्षणका लागि साइकल रोक्थ्यो र बन्द पसलका सटरहरूमा, अफिस र घरका ढोकाहरूमा पत्रिका छिराइदिन्थ्यो । ग्राहक र पाठकहरूले भन्दा पहिले नै पत्रिका उसले छुन पाएपनि त्यसमा छापिएका समाचार र विचारहरू उसलाई पढ्ने फुर्सद कत्ति थिएन । बिहान पाँच नबज्दै शुरु भएको उसको यो नित्य कर्म कहिले नौं त कहिलेकाहीँ दश बजेसम्मै चल्थ्यो ।

प्रायःजसो साँढे सातबजेतिर ऊ एउटा यस्तो घरमा पुग्थ्यो जहाँ उसलाई आत्मीयताका साथ चिया दिइन्थ्यो । मान्छे वास बसेपछि जस्तो भए नि घर त घरै हो नि , तर त्यो घर उसलाई बिल्कुलै फरक लाग्थ्यो । त्यस घरमा एक दम्पती र एउटी त्यस्तै पन्ध्र सोह्र वर्षकी केटी देखिन्थे । प्रायः चिया तिनै केटीले ल्याउँथिन् र उसलाई ती सोही घरकी छोरी हुन् जस्तो लाग्थ्यो । तैपनि सोधेर विश्व्स्त हुन भने सकेको थिएन । हुन त ऊ यस्ता सयौं महलहरूमा पुग्छ र आफ्नो काम फत्ते गर्छ । तर अरू महल र यसमा निकै भिन्नता महशुस गर्थ्यो ऊ । सडकमा अनि बजारमा गनिनसक्नु युवतीहरू भेटिन्थे । कतिसँग त ठोकिन्थ्यो पनि । सुन्धारा, रत्नपार्क ,असन र इन्द्रचोकतिर ठेलाम् ठेल गरेर हिँडे मात्रै समयमा गन्तव्य पुग्न सकिने कुरा पनि उसलाई राम्रैसँग थाहा थियोे । तर ती सब नवयौवनाहरूमा भन्दा ति‌नमा एकखालको आकर्षण थियोे र त्यो सुगन्धित फूलमा भँवराको आकर्षण भन्दा कम्ता थिएन ।

त्यसबेलाको कुरा उसले झलझली सम्झियो । क्याम्पस पढ्न भनेर गाउँबाट शहर छिरेको ऊ कामको खोजीमा भौतारिरहेको बेला स्कुल पढ्दाको साथी उद्धवको सल्लाह र सहयोगमा यो काम थालेको थियोे । अझै केही दिन उसले यो काम नभेटाएको भए उसको जिन्दगीले अर्कै मोड लिने पक्कापक्की जस्तै थियो । किनकि खाली पेटले सधैं आदर्शलाई शिरोपर गर्न असंभव थियोे । बिहान, दिउँसै पत्रिका बेच्ने उसले दिउँसोको समयमा छुट्टै अफिसमा सामान्य कर्मचारीको रूपमा काम पाएपछि भने दिउँसो पत्रिका बेच्न छोडिदियो । यसै गरेर उसले जीविका चलाइरहेको थियोे । दु:ख त अवश्य थियो तर प्रत्येक बिहान ऊ त्यो घरमा पुगेपछि उसले आफू बाँचिरहेको जिन्दगी , दु:ख र संघर्ष चटक्कै भुलिदिन्थ्यो । मेहनती र लगनशील थियोे र त उसले आफ्नो जीवनको एउटा लय समातेको थियो । नत्र त ऊ यतिबेला कि सडकछाप भएर कतै डेन्ड्राइट सुँघिरहेको हुने थियो कि त चुल्ठे- मुन्द्रे भएर गुण्डागर्दी गरिरहेको हुन्थ्यो ।
००० ००० ०००

ऊ पत्रिका बाँड्दै त्यो घरमा पुग्दा केटी सोफामा गहिरो निद्रामा थिई । त्यहाँ उसले उसको रूपलाई , उसको गर्दन र मुहारमा छरपस्ट कपाललाई र उसको अङ्गविन्यासलाई धित मर्नेगरि हेर्न चाहिरहेको थियो ।

एउटा ठूलो पहाडी टाकुरामा फूलेको गुराँसको फूल टिप्न ऊ रुखमा चढेर यसो के लम्किएको मात्रै थियो , टेकेको हाँगो कर्याक्क्क भाँचियो । त्यो मनमोहक फूल टिपेर ऊ चिया दिने केटीलाई दिन चाहन्थ्यो जो रुखको फेदमा बसेर टुप्पामा हेरिरहेकी थिई, जहाँ फूल टिप्न ऊ अर्थात सौगात चढेको थियो । सौगात टुप्पाबाट खसेपछि त्यो केटी पनि होसहवास खुस्केर टेकिरहेको जमिनबाट लडी । एकैछिनपछि ती दुवै आकाशमा उडिरहेका थिए राजहाँस भएर । उडेर कहिले पहाडको चुचुरो भन्दापनि धेरै माथि त कहिले नदीको तीरैतीर टाढाटाढा पुग्थे । उड्दाउड्दै थाकेर लखतरान भएपछि फेरि पहिलेकै गुराँसको रुखमा आएर बसेका थिए । त्यही बखत अलि परबाट एउटा शिकारीले भरुवा बन्दुक उनीहरूतिरै ताकिरहेको देखियो । अब लौ फेरि यहाँबाट उड्नुपर्छ भनेर दुवैले चुच्चो एकापसमा जोडेर सल्लाह गर्दैगर्दा ऊ झल्यास्स बिउँझेको थियो । बाहिर झिसमिसे उज्यालो भईसकेको रहेछ । सदा यतिखेर ऊ आफ्नो प्यारो साइकल लिएर भूगोलपार्क पुगिसकेको हुन्थ्यो ।

ऊ पत्रिका बाँड्दै त्यो घरमा पुग्दा केटी सोफामा गहिरो निद्रामा थिई । त्यहाँ उसले उसको रूपलाई , उसको गर्दन र मुहारमा छरपस्ट कपाललाई र उसको अङ्गविन्यासलाई धित मर्नेगरि हेर्न चाहिरहेको थियो । तत्क्षण सोच्यो, मैले यसरी निहारिरहेको उसका बाउआमाले थाहा पाए भने त वित्यासै पर्छ । ऊ त्यहाँबाट हिँड्न खोज्यो तर चियाको तल्तल् बेस्मारी लागेर आयो । कल्प्यो, चियाको चुस्कीसँगै उसको बेपरवाह सुताइ नियालेर छेउमा बसेको ।

उसको आँखालाई यो दृश्य मन परेको थियो र केही बेर आँखा नझिम्क्याइकन हेर्न लोभ लाग्यो । रोक्दारोक्दै मुखबाट खोकी खुस्कियो ।

मैले चाहेको थिइनँ कि उनी उठुन्, तर पातलो निद्राबाट बिउँझे झै उनी झट्ट उठिन् र म भर्खरै आएझैं गरेर उनले सुतेको देखेकै छैन झैं गर्न खोजें । तर म त अलमलमा पो परें ।
“अहो ! म त भुसुक्कै पो निदाइछु । म चिया बनाएर ल्याइहाल्छु है, भित्रै बस्नु न आउनू !”
उनको सधैं सुनिरहेको स्वर, तर आज अलिक फरक लाग्यो । त्यो बोलीमा यस्तो मिठास थियो कि ऊ त्यसको स्वाद कुन चाहिँ मिष्ठान्न परिकारसँग मिल्छ भनेर अहिले ठ्याक्कै भन्न सक्दैन । जे होस् त्यो आवाज उसले सुन्ने आवाजहरू मध्येको मीठो थियोे भन्ने कुरामा उसलाई कुनै शंका थिएन ।
“होइन म जान्छु ।” उसले हाँस्दै भन्यो। तर उनले चिया खाएर मात्रै जानू भने हुन्थ्यो भन्ने उसलाई लागिरहेको थियो ।
“पाकिसक्यो है , भित्र‌ आउनुस् छिटो ।” उनले आदेशत्माक स्वरमा भनेपछि ऊ लुरुलुरु भित्र गयो ।

सम्पन्नता झल्काउने खालको बैठक कोठामा पसेर सोफामा बस्नुअघि उसले ‘किचन’ तिर झुलुक्क हेर्यो। खै के टिप्न हो , निहुरिएकी उनको अरुबेला देख्न मुस्किल पर्ने शरीरको केही भाग देखियो । उसले संजोगले भनौं कि चोरेर त्यो सब हेर्यो र त्यो लाज लाग्ने हेराइ उनले थाहा नपाउन् भनेर ऊ झस्कियो । धेरै बेर नकुर्दै उनले दुईवटा सेता टि कपमुनि प्लेट राखेर बाफ उडाउँदै चिया लिएर आइन् र उसको छेवैमा बसिन् । उसले असजिलो मान्दै दबेको स्वरमा सोध्यो –“सर, म्याडम खै त आज ?”

चिया भन्दा निकै मीठो आवाजमा उनले भनिन्–“बिहानै पोखरा जानुभयो । र त म आज त्यतिबेलासम्म सुतिछु !” यसो भन्दा उनी लजाएको उसले सजिलै चाल पायो ।
“अनि तिमी त गईनछौ त, किन ? लानु भएन ?”
“यहाँ घर रुङ्नु परेन त ?”
उसलाई यिनी यही घरकी छोरी हुन् भन्ने कुरामा विश्वास थियो । तर, अहिले शंका लाग्यो । सिधै सोध्न चाहिँ उसलाई मन लागेन । अझ यसो भनौं, सोध्न सकेन ।

निकैबेर गफ गरेपछि थाहा भयो कि उनी त्यस घरकी छोरी नभएर काम गर्न बसेकी रहिछिन् र नाम रहेछ माया । उनको दिनचर्या सुनिसकेपछि ऊ उनीप्रति अझै मायालु र नजिक भएको महसुस गरिरहेको थियो । उठेर हिँड्नै लाग्दा अनायासै उनका हातमाथि आफ्ना हात खप्टिए । पहिलो स्पर्श । उसले ती हात समातेर उचाल्यो । आफ्नो अनुहारसम्म ल्यायो। आँखासम्म । त्यसपछि ओठको नजिकै पुर्यायो। अनि छोडिदियो । ऊ लजाउँदै सुस्तरी बोल्यो । “ल म गएँ है माया” उनी मुसुक्क मुस्कुराईन् र टाउको हल्लाईन् ।

यसरी उनीहरू विस्तारै विस्तारै नजिक हुँदै गए । मौका मिल्दा सुखदुःखका कुरा हुन थाले । घरपरिवार, रुचि र उद्धेश्यका कुरा भए । चिया खाने काम बिहान नियमित र आक्कलझुक्कल दिउँसो पनि हुन थाल्यो । दिउँसो चाहिँ त्यस घरका साहु साहुनी नभएको बखत मात्रै जान्थ्यो ऊ ।

••• ••• •••
साहु , साहुनीलाई यस्तो माया गर्थ्यो कि बाहिर कतै जाने बेला निकैबेर गुनुमुनु गुनुमुनु गरिरहन्थ्यो र हात समाउँथ्यो, खेलाउँथ्यो र ओठमा लगेर लामो समय राखिरहन्थ्यो । अनि घरमा फर्केर भेट्ने बित्तिकै श्रीमतीको काखमा ढल्किन मन पराउँथ्यो । उनी पनि काखमा स्वामीको शिर राखेर खिरिला लामा नरम औंला कपालभित्र घुसारेर गन्थन गरिरहन्थिन् धेरैबेर । यी सब कुरा सौगातले मायाबाटै थाहा पाएको थियो । मायाले आफूलाई यस्ता कुरा सुनाउनुको मतलब बुझ्न राती सुतेपछि ओछ्यानमा ढल्केर दोहोर्याएर सम्झिन्थ्यो । यसो गर्दा उसलाई समयमा निद्रा पर्दैनथ्यो । कहिलेकाहीँ त उज्यालो हुने बेला मात्रै निदाउँथ्यो । यो बेग्लै कुरा थियोे ।

दिउँसोको कामले मात्रै आजीविका चले पनि उसले बिहानको काम छोडेको थिएन । कतिपटक त छोड्नेबारे सोच्यो पनि ! तर त्यो काममा नगएपछि त दिनकै मायासँग कुन बहानामा भेट्नु ? बाध्यताले शुरु गरेको हकर काम अहिले उसको लागि रहरजस्तो भएको थियो । तथापि त्यसबाट कोठा भाडा तिर्न र गाउँमा भएकी बिरामी आमालाई औषधी पठाउन ठूलै सहयोग पुगिरहेको थियो । जुनसुकै काम होस्, त्यसमा थपथाप गर्न बिहानी कमाइले राहत दिइरहेको थियो । र, सबैभन्दा मुख्य कुरा मायाको हातले पकाएको चिया खान र एकैपल भए पनि उसको मुहार हेर्न ऊ हरदम लालायित थियो । यसैको लोभमा उसले यो काम नछोड्ने अठोट गरेको थियो ।

साहुनीको माइती पोखरा । बेलाबेलामा गइरहन्थिन् । शनिबार बिहानै उनी पोखरा हिँडेपछि मायाले निकै राहत महशुस गरेकी थिईन् । कारण थियो, माया दिनभर जसो उनकै लुगाकपडा धुने, सुकाउने, आइरन गर्ने, पट्याउने, थन्क्याउने लगायतका काममा व्यस्त हुनुपर्थ्यो । साहु पनि खाना खाएर अफिस गइहाले । यतिबेला उनले गर्नुपर्ने काम सक्किसकेको थियो र मनमा कुरा खेल्न थालेको थियो । सौगातले बिहान हतारहतार चिया खाएर हिँडेको सम्झेर उनले अहिले आएपनि फुर्सदमा गफ गर्दै चिया खुवाउने थिएँ भनेर कल्पिन् । किनकिन आजकाल सौगातको याद बाक्लो आउन लागेको छ उनलाई । कोठामा पस्ने, बस्ने, उठ्ने, ढल्किने, ऐनामा आफ्नो ज्यान हेर्ने गर्दै उनी उसैलाई सम्झिरहेकी थिईन् । त्यहीबेला डोअरबेलको मीठो ध्वनिले उनको ध्यान भंग गरिदियो । को आयो होला भन्ने सोच्दै उनी गेट खोल्न गइन् । अगाडि साहुजी उभिएका थिए । यति छकालमै त उनी घर कहिल्यै फर्कदैनथें । आज के भएछ कुन्नि ! पक्कै केही भएको हुनुपर्छ भन्ने सोच्दै उनले साहु भित्र छिरेपछि गेट बन्द गरिन् ।
“माया एक गिलास चिसो पानी लिएर आऊ त !” उसले आफ्नो कोठाबाटै बोलायो ।

पानी पिएपछि उसले आफू छिटै आउनाको कारण खोल्यो । “अफिसको सिँढीमा लडेर खुट्टा बेस्सरी ठोकियो, जाऊ कचौरामा तेल लिएर आऊ त”
माया आज्ञाकारी भएर गई र तेल लिएर आई ।

“मेरो हात पनि कता ठोकिएछ कुन्नि ! दुखिरहेको छ । तिम्रो काम छैन भने मलाई एकछिन सहयोग गरिदेऊ न है ?”
उसले के सहयोग गर्नुपर्ने हो केही बुझिनँ र अनौठो मानेर उभिईरही ।
उसले हाँस्दै भन्यो , “एकछिन तेल लगाइदेऊ न”

अप्ठ्यारो मान्दै उसले तेलको कचौरो समाती र अप्ठ्यारै मानेर छेउमा बसी । यसअघि साहुनीलाई दिन बिराएर जसो ज्यान मालिस गरिदिन्थी ऊ । तर साहुलाई भने अहिलेसम्म गरेकी थिईनँ । सायद साहुनीले नै गर्दिहुन् भन्ने ऊ सोच्दथी । “तेरो हातले मालिस गरेपछि सारै आनन्द आउँछ माया” कहिलेकाहीँ साहुनी उसलाई फुर्क्याउँदै भन्थिन् । ऊ मक्ख पर्थी । तर आज साहुको पिडुँला मालिस गर्नुपर्दा उसलाई अति नै असजिलो लागिरहेको थियो । साँझतिर बाहिर गएको ऊ राती घर आएको पनि चाल पाईनन् उनले । राती आएर फेरि दिउँसोको जसरी नै मालिस गर्न लगाउँछ कि भनेर ठूलो चिन्ता थियो उनलाई ।

हातमा खै के को हो पोको बोकेको थियो , तर उनले त्यसमा ध्यान दिईनन् । उनलाई त एकैपटक दुईवटा चिन्ताले गाँजेको थियो । साहू नबाहिरिदैं सौगात आउला भन्ने डर र त्योभन्दा पनि धेर त हिजो झै साहूले खुट्टा दुख्यो भनेर पूरै जीउ मालिस गराउला र सोही बहानामा आफूलाई शोषण गर्ला भन्ने पीर !

०००
भोलिपल्ट बिहान चिया पिउँदै गर्दा सौगातले लजाइ लजाइ मायासँग आज फुर्सद के छ ? भनेर सोध्यो । “फुर्सद त फुर्सदै छ तर बाहिर जान मिल्दैन । बरु तपाईंको फुर्सद भए दिउँसो यतै निस्कनुस् न !” मायाको यस्तो जवाफ पाएर ऊ प्रफुल्ल मुद्रामा त्यहाँबाट हिँड्यो । बिहानको खानपिन सकेपछि साहु अफिस गयो र माया कोठामा ढल्केर झ्याल खोलिन् र सौगात आउने बाटो हेर्न थालिन् ।

आज त साहु दिउँसै घर नआउलान् नि ! आए भने त वर्वादै हुन्छ । मायाको मनमा सौगात आउने खुसी र साहु आउनसक्ने डर दुवै सँगसँगै मिसिएर आइरहेका थिए । हिजो झैँ आएर फेरि तेल मागे ……….. भने म के गरौंला ! उनी सोचमा डुबिन् । नमानौं भने सानैदेखि पालनपोषण गरे, हुर्काए बढाए । माया ममता दिए । मानौं भने दिनदिनै अधबैंसे पुरुषको जीउ मालिस गरिदिनु पर्ने ! उनी आफू भयङ्कर संकटमा फसेको अनुभव गरिन् ।

उता सौगात आजचाँहि मनको कुरा खुलस्त भन्छु भनेर सोच्दै कसरी कुराको शुरुआत गर्ने होला भनेर आइडिया खोज्दै थियो । खाली हात जाऊँ कि, केही उपहार पनि लै‌जाऊँ ! उपहारमा के लैजाँदा ठीक होला ? फेरि मायाले अस्वीकार गरि भने के गर्ने ! दयाले के बिहान बिहान एक कप चिया खुवाएकी थिएँ ! यत्रो हिम्मत ? भन्ने पो हो कि ! सोचको सागरमा पौडिदैं थियो ऊ पनि ।

अब त सौगात आउनुपर्ने हो ! कतै नआउने पो हो कि ? ढाँट्नु त नपर्ने ! ऊ आएपछि म पनि आफ्नो मनको कुरा राख्छु । बरु कुरा पो कसरी शुरु गर्ने होला ? माया पनि उसकै बारेमा कल्पिरहेकी थिईन् । यत्तिकैमा उनको सोचलाई खल्बल्याउँदै डोअरबेलले मीठो संगीत बोल्यो । उनले पक्कै पनि सौगात नै हुनुपर्छ भन्ने सोचिन् र एकपटक आफ्नो ज्यान दराजको ऐनामा हेरिन् र मुस्कुराउँदै गेट खोल्न गईन् । गेट खोलिसक्दा सधैं देख्ने मान्छे देखेर पनि उनी नराम्ररी झस्किईन् । ऊ मुसुक्क हाँस्यो र सरासर भित्र गयो । हातमा खै के को हो पोको बोकेको थियो , तर उनले त्यसमा ध्यान दिईनन् । उनलाई त एकैपटक दुईवटा चिन्ताले गाँजेको थियो । साहू नबाहिरिदैं सौगात आउला भन्ने डर र त्योभन्दा पनि धेर त हिजो झै साहूले खुट्टा दुख्यो भनेर पूरै जीउ मालिस गराउला र सोही बहानामा आफूलाई शोषण गर्ला भन्ने पीर !

उनी गह्रौं मन पारेर भित्र गईन्। साहूले भान्साकोठामा बोलायो र दुईवटा प्लेटमा प्याकिङ गरेर ल्याएको नास्ता राख्यो । ल तिमी पनि खाऊ भन्दै आफू पनि खान थाल्यो । गिलासमा रेड लेबलको बोतलबाट एक पेग खन्यायो र पिउन थाल्यो । उनले जे नहोस् भनेर कामना गरिरहेकी थिईन्, त्यही हुने भयो । केहीबेरपछि हिजो झैँ बउलमा तेल लिएर रुममा आऊ है भनेर बोलाएर गयो । जाम् कि नजाम् भएर निकैबेर घोरिएर उभिईरहिन् । फेरि साहूको बोलावट सुने पछि उनी तेल लिएर गईन् र उसले भने मुताविक मालिस गरिदिन थालिन् । श्रीमतीले छोडेको दुई दिन भएको, मायाको फक्रदै गरेको सोह्र वर्षे जवानी देखेर हुरुक्क भएको र रक्सीको नसामा उसले मायालाई मालिस गर्दागर्दै च्याप्प समातेर सँगै सुताउन खोज्यो । तर मायाले उम्किने हरप्रयास गरिन् । केही नलागेपछि चिच्याउन खोजिन् र अन्तमा उसको बाहुपासबाट उम्केर भाग्न खोजिन् । तर भागेर पनि कहाँ जानू र ! भान्साकोठामा पसिन् यताउता हेरिन् । साहू त मैमत्ता भएर उनको पछिपछि पो आउँदै रहेछ । उसले अँगालो मार्न झम्टनु अघि उनले हत्तपत्त एउटा चक्कु टिपिन् र उसलाई ताकिन् । यहीबेला कानै खानेगरि डोअरबेल बज्यो । यसले मायाको हौसला बढाउन हुनसम्मको काम गर्यो । एक्कासि उनको ज्यानमा काली भगवतीको सवार भयो र आँखा राताराता भए । कानबाट रगत चुहिएला जस्तो भयो । श्वासप्रश्वास छिटोछिटो चल्न थाल्यो र हातमा भएको धारिलो चक्कु साहूको छातीमा कसरी गड्यो ! उनले पत्तै पाईनन् ।

उसको चिच्याहट र रोदनले घरको सीमाना नाघ्यो । गेट पार गरेर सौगात पनि त्यहाँ पुगिसकेको थियो भने छिमेकका मान्छेहरू आउने संभावना पनि बढेकै थियो । तर साहूले अन्तिम सास फेरुञ्जेलसम्म थप मान्छे कोही आएनन् । बरु मान्छे आइदिएको भए प्रहरी बोलाउथें, आउँथे र गिरफ्तार गर्ने थिए । तर त्यहाँ त केही नभएको झैँ सुनसान थियो र बाक्लो स्तब्धता छाएको थियो । यस्तो बेला के गर्नुपर्ने हो ! दुवैलाई थाहा थिएन । सौगातले अघि नै देखि हातमा लिइराखेको रातो गुलाबको फूल मायालाई दियो । उनले त्यो उपहार हातमा लिंदै भनिन् “हाम्रो प्रेम शुरु नहुँदै अन्त्य हुने भो सौगात !” र एउटा लामो सुस्केरा हालिन् । उसले उनको हात समाउँदै भन्यो “यो प्रेमको अन्त्य यति सजिलै हुँदैन माया ! म छु नि तिम्रो साथ ।” त्यसपछि उसले मायालाई लिएर वकिलकोमा गयो, जहाँ ऊ हरेक बिहान पत्रिका पुर्याउन जान्थ्यो । वकिलको सल्लाह अनुसार उनीहरू अगाडि बढे र स्वाभिमान कायम राख्दै प्रेमको पूजा गरे ।

- ५ असार २०७८, शनिबार १०:१४ मा प्रकाशित



Kumari Advertisement
top ad