BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

कांग्रेसलाई सुदृढ र गुटरहित बनाउन डा. शेखरको विकल्प छैन

अतुल अधिकारी
कांग्रेसलाई सुदृढ र गुटरहित बनाउन डा. शेखरको विकल्प छैन

PinShares1.9k

भदौ दोश्रो साता १४ औं महाधिवेशनको मिति सार्वजनिक भएसँगै नेपाली कांग्रेसभित्र सभापतिका मुख्य दावेदारको चर्चा परिचर्चा भइरहेको छ । बर्तमान सभापति शेरबहादुर देउवासँगै आधा दर्जनले सभापतिको दावेदारी प्रस्तुत गरिरहँदा देश विदेशबाट आउँदो भदौदेखि कांग्रेस कसको नेतृत्वमा जाला चासोका साथ हेरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार, बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारका असंबैधानिक कदमका विरुद्ध पनि बलियो प्रजातान्त्रिक शक्तिको खोजी भइरहेको अवस्थामा कांग्रेसमा सक्षम नेतृत्वको खाँचो देखिएकै हो । कम्युनिस्टहरुले मुलुक सिध्याए भन्दै गर्दा कम्युनिस्टको विकल्प खोज्नुपर्ने समय पनि आएको छ ।

तर, सभापतिको दावेदारी गर्नेहरुको राजनीतिक इतिहास हेर्ने हो भने एकाध वाहेक अरुले कांग्रेसलाई लिड गर्न सक्ने ल्याकत राख्दैनन् । केही आकांक्षीले विरासतको कुरा अगाडी ल्याएपनि त्यो आधारहिन गफ मात्र हो । विमलेन्द्र निधीले महेन्द्रनारायण निधीको विरासत बोक्ने, डा. शशांक वीपी कोइरालाको छोरो हुँ भन्ने, प्रकाशमानले गणेशमानको त्यागका कुरा मात्र गरेर अब कांग्रेस संगठित, सुदृढ र बलियो बन्नेवाला छैन । नेपाली कांग्रेसलाई मुलुक र जनताको पक्षमा उभ्याउने हो भने, ‘एक्सपायर’हरुको चंगुलबाट बाहिर निकाल्नु अपरिहार्य छ ।

अकाट्य होकि, नेपालको राजनीतिमा कोइराला बंशको ठूलो योगदान छ । खासगरी २००७ सालमा प्रजातन्त्र ल्याउन, २०४६ सालमा बहुदलीय व्यवस्था ल्याउन तथा २०५२ सालपछि मुलुकमा चलेको १० वर्षे शसष्त्र द्वन्द्व व्यवस्थापनमा नेपाली कांग्रेसका नेतृत्वले कुशल नेतृत्व दिए । मुलुकको संविधान निर्माण र कार्यान्वयनमा पनि नेपाली कांग्रेसले योगदान दिएको विषयलाई नजर अन्दाज गर्न मिल्दैन । तर, इतिहास भइसकेका विषयलाई बर्तमानमा बोकेर ‘मैले नै पाउनु पर्छ, मनै राजा मनै मन्त्री’ भन्ने चैं कत्तिको सान्दर्भिक होला ?

१४ औं महाधिवेशनमा सभापतिका मुख्य आकांक्षीहरु सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक, उपसभापति विमलेन्द्र निधी, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा. शेखर कोइराला, गगन थापासमेतले प्रत्यक्ष–अप्रत्यक्ष सभापतिको दावेदारी दिइरहँदा गुट, उपगुटमा रुमलिएको कांग्रेसलाई एकताबद्ध बनाउन सक्दछन् विष्लेशण हुन जरुरी छ ।

गिरिजाप्रसाद कोइरालाको अवसान पछि नेतृत्वमा आएका देउवाले त्यसपछि झनै गुटवन्दी र भागवण्डाको राजनीतिलाई मलजल गरेकाले अब पुनः उनैलाई सभापति बनाउनु कांग्रेसका लागि कत्तिको फलदायी हो ?

देउवा, पौडेल, सिटौला गुटमा रुमलिएको कांग्रेसलाई एक ढिक्का बनाउन अब विरासतको राजनीतिले सकिँदैन । नत, पटक–पटक नेतृत्वमा भएका तर, काम गर्न नसकेकाहरुबाट नै कुनै मिराकल हुने अपेक्षा नै गर्न सकिन्छ । नेपाली कांग्रेसलाई एक बनाउने होभने अब नेतृत्वमा नयाँ अनुहार चाहिन्छ । भिजन भएको, नेता कार्यकर्तामाझ रुचाइएको, देश विदेशको राजनीतिक ज्ञान भएको, दुरदर्शी नेतृत्व जसले परिआएको खण्डमा कांग्रेसको लागि मात्र हैन मुलुकको लागि पनि जस्तोसुकै बलिदानी दिन सक्छ त्यस्तो व्यक्तिले कांग्रेसलाई अगाडी बढाउन सक्छ ।

२०५५ साल यता कांग्रेसमा गुट र भागवण्डाको राजनीति मौलाउँदै गएको हो । २०५९ सालमा शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँगको टकरावमा पार्टी फुटाएपछि गुटवन्दी र भागवण्डाको राजनीतिले प्रश्रय पाएको हो । देउवा चार वर्षपछि माऊ पार्टीमा फर्किए तर, सँगसँगै गुटवन्दी र भागवण्डाको राजनीति पनि ल्याए । गिरिजाप्रसाद कोइरालाको अवसान पछि नेतृत्वमा आएका देउवाले त्यसपछि झनै गुटवन्दी र भागवण्डाको राजनीतिलाई मलजल गरेकाले अब पुनः उनैलाई सभापति बनाउनु कांग्रेसका लागि कत्तिको फलदायी हो ?

अहिलेसम्मको राजनीतिमा रामचन्द्र पौडेलले पाउन नसकेको पद भनेको प्रधानमन्त्री नै हो । पार्टीमा कार्यवाहक सभापति भइसकेका छन् । १८ पल्टसम्म प्रधानमन्त्रीको रिले दौडमा उत्रिएकाले पनि डा. शेखरको प्रस्ताव अनुपयुक्त हैन कि !

१३ औं महाधिवेशनमा डा. शेखरकै त्यागबाट वीपी पुत्र डा. शशांक महामन्त्री भएका हुन् । उनको कार्यक्षमता पनि देखिइसकिएको छ । नेतृत्वमा हुने गुण उनमा छैनभन्दा पनि हुन्छ । कांग्रेस महामन्त्री कुनै सानोतिनो पद हैन, देशविदेशमा रहेका लाखौं कांग्रेसीलाई एकबद्ध गराउने सवालमा सभापतिको भन्दा बलियो भूमिका हुन्छ तर, डा. शशांकले यो ५ वर्षमा वीपी पुत्रको ट्याग बोक्नु शिवाय कुनै उपलब्धीपूर्ण काम गरेनन् । कांग्रेसका सबै भातृ संगठनहरुको अधिवेशन समयमै नगर्नुमा सभापति जति जिम्मेवार छन् त्यत्ति नै महामन्त्री पनि जिम्मेवार छन् । पार्टीभित्रको भागवण्डाको राजनीतिमा देउवाको जति भूमिका छ त्यसलाई मलजल गर्न डा. शशांकको पनि हात छ ।

रामचन्द्र पौडेलले लोकतन्त्र, प्रजातन्त्र प्रति निभाएको भूमिका त हामी सबैले देखेकै हो । उहाँ सादगी हुनुहुन्छ तर, उहाँसँग पार्टी कसरी चलाउनु पर्छ भन्ने ज्ञान छैन भन्दापनि हुन्छ । एउटा गुटको नेता भएर भागवण्डाको राजनीति गर्नेले कसरी कांग्रेसलाई बलियो बनाउला ? गुटवन्दीको राजनीति गर्न कृष्ण सिटौला सँगै पौडेल पनि जिम्मेवार छन् । केहीदिन अगाडी डा. शेखर कोइरालाले पौडेललाई प्रधानमन्त्रीको पद अफर गर्नुभयो । अहिलेसम्मको राजनीतिमा रामचन्द्र पौडेलले पाउन नसकेको पद भनेको प्रधानमन्त्री नै हो । पार्टीमा कार्यवाहक सभापति भइसकेका छन् । १८ पल्टसम्म प्रधानमन्त्रीको रिले दौडमा उत्रिएकाले पनि डा. शेखरको प्रस्ताव अनुपयुक्त हैन कि !

विमलेन्द्र निधीले कांग्रेसमा दोश्रो पुस्ताको नेतृत्व गर्छन् । तर, उनलाई अहिले नै सभापति दिनु हतारो हुन्छ । उमेरका हिसाबले पनि निधीभन्दा पाका जो पहिलो र दोश्रो पुस्ताको प्रतिनिधित्व गर्न सक्षम छन् उनको नेतृत्वमा कांग्रेस अगाडी बढ्न आवश्यक छ । प्रकाशमान सिंह अझैपनि बागमती प्रदेश बाहिर निस्कन सकेका छैनन् । देशभरीका कांग्रेसीलाई एउटै मालामा उन्न उनी सक्षम छैनन् । निधीलाई सभापतिमा पर्गेल्न अझै एक दशकको समय छ ।

डा. शेखर कोइराला सभापतिका बलिया दावेदार भएपनि उनमा पनि कमजोरी छ । उनी कोइरालावाद बाट बाहिर निस्कनु अपरिहार्य छ । कोइरालाको लिगेसीले मात्रै डा. शेखर सभापतिका दावेदार हैनन् । उनीसँग कांग्रेसलाई नेतृत्व गर्ने योग्यता, क्षमता र जनाधार प्रसस्त छ । तर, त्यसलाई अझै जनता र कार्यकर्ता माझ लैजानु आवश्यक छ । गुटको राजनीतिमा नरहनु डा. शेखरको सबैभन्दा बलियो पक्ष हो ।

विगतको ‘लिगेसी’ मात्रै समातेर अस्ताउन लागेको कांग्रेसलाई त्राण भर्न सकिँदैन । लोकतन्त्र, संविधान, संघियताको संरक्षण गर्दै कांग्रेसलाई पुर्नजिवित गराउन समयसापेक्ष नयाँ नेतृत्व आवश्यक छ । त्यसका लागि तलदेखि माथिसम्मै पुर्ननिर्माणको खाँचो छ ।

बर्तमान कांग्रेसको पहिलो समस्या गुटवन्दी र भागवण्डाको राजनीति हो । दोश्रो समस्या लिगेसीको राजनीति हो भने तेश्रो समस्या चैं समय र परिस्थिति अनुरुप नेतृत्व परिवर्तन नहुनु हो । चौथो समस्या पार्टी सुद्धिकरण र सुदृढीकरण पनि हो । यी चार विषयलाई जसले मनन गर्न सक्छ उसैले कांग्रेसलाई डोहोर्याउन सक्छ ।

संभावनाको दृश्य
आधा दर्जन सभापतिका आकांक्षी भएकाले अहिले नै कसले बाजी मार्न सक्छन् भविष्यवाणी गर्नु मुर्खता हो । तर, कांग्रेसलाई चलायमान बनाउन, अबको निर्वाचनमा एक नम्बरको पार्टी बनाउन, गुमेको शाख फिर्ता ल्याउने समय यहि हो । १४ औं महाधिवेशनले सहि नेतृत्व छनौट गरे कांग्रेसको विरासत फिर्ता ल्याउन सकिन्छ ।

यसका लागि यो एउटा संभावनाको बाटो हो कि !

१४ औं महाधिवेशनमा पार्टी सभापति डा. शेखर कोइरालालाई बनाउँ । किनभने डा. शेखरसँग पहिलो, दोश्रो र तेश्रो पुस्तालाई समेट्न सक्ने क्षमता छ । वाक पटुतामा निपुण छँदैछन् । दुई वर्ष यता देशका ७७ वटै जिल्ला भ्रमण गरेर कांग्रेसको कमजोरी के हो ?, कार्यकर्ताको मनोभावना के छ ? नौ नाडी छामिसकेका छन् । डा. शेखरलाई हिमाल, पहाड, तराईमा रहेका सबै वर्ग समुदाय र क्षेत्रका जनताका आवश्यक्ता, त्यहाँको राजनीतिक धरातल, त्यसमाथि कांग्रेसीहरुको अवस्था थाहा छ ।

राष्ट्रिय, अन्तराष्ट्रिय राजनीति, बर्तमान मुलुकको आवश्यक्ता, युवाहरुको मागका बारेमा जानकार डा. शेखर सभापतिका उपयुक्त पात्र हुन् उनीसँग पहिलो, दोश्रो र तेश्रो पुस्ता जोडिनु पर्दछ । यसका लागि डा. शेखरको टीममा रामचन्द्र पौडेल प्रधानमन्त्रीका दावेदार रहने, महामन्त्रीमा गगन थापा रहनु उपयुक्त हुन्छ । विमलेन्द्र, प्रकाशमानलाई १५ औं महाधिवेशनका लागि डा. शेखरले तयार गर्दा कृष्ण सिटौलाले पनि १५ औं महाधिवेशनसम्म पर्खनुको विकल्प छैन ।

सबैलाई थाहा छ, १३ औं महाधिवेशनमा डा. शशांकलाई शेखर कोइरालाले सहयोग गरेको । अब शशांकले शेखरको त्यो गुण तिर्ने बेला आएको छ । यसका लागि उनले यो पल्ट सभापतिमा शेखरलाई सघाउने, आफु उपसभापति हुने । त्यसमा सहमत नभए रामचन्द्र पौडेललाई राष्ट्रपतिमा प्रस्ताव गर्ने, आफु प्रधानमन्त्री हुने शेखरलाई सभापति दिने ।

शेर बहादुर देउवा आगामी महाधिवेशनमा उठ्ने बताइरहँदा उनीसँग तराई मधेशको मत तान्न विजयकुुमार गच्छदार, पूर्वी पहाडी क्षेत्रको मत तान्न राप्रपाबाट छुटिएर आएका सुनिल बहादुर थापा छन् । तर, कांग्रेसभित्र जवरजस्त रुपमा पुस्ता हस्तान्तरणको अभियान चर्किएको तथा भातृ संगठनहरु समेत नयाँ नेतृत्वको पक्षमा रहेकाले देउवालाई महाधिवेशन जित्न फलामको चिउरा चपाए सरह हुन्छ ।

डा. शेखरले युवा प्रतिनिधित्वको कुरा जवरजस्त उठाएका छन् । स्थानीय तहमा ६०, प्रदेशमा ५० र केन्द्रमा ४० प्रतिशत युवा सहभागिताको नाराले राजनीति प्रति युवाको आकर्षण बढेको छ । डा. शेखरले भने जस्तै एक व्यक्ति एक पद एक कार्यकाल पार्टीमा मात्र हैन मुलुकको बागडोर संहाल्ने तहमा पनि हुनुपर्दछ । किनभने आजको नयाँ पुस्ताले राजनीतिलाई ‘डर्टी गेम’ भनिरहेका छन् । राजनीतिबाट भागिरहेका छन् । २०४६ सालदेखि राजनीति गर्नेहरु अझै आफुलाई युवाको पगरी गुथाउँदै राजनीति गरिरहेकाले युवाहरुले अवसर पाएका छैनन् ।

नेतृत्व तहमा युवा सहभागिताका लागि डा. शेखरको योजना कार्यान्वयनमा आए यहि महाधिवेशनबाट नेपालको राजनीतिमा नयाँ पुस्ताको उदय भइसक्छ । नेपाली कांग्रेसलाई गुट रहित बनाउने हो भने, कांग्रेसलाई भागवण्डाको राजनीतिबाट बाहिर निकाल्ने हो भने, कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने हो भने, अबको निर्वाचनमा दुई तिहाईको सरकार बनाउने हो भने, डा. शेखर कोइराला पार्टी सभापति, गगन थापा महामन्त्रीको विकल्प छैन ।

- १९ असार २०७८, शनिबार १०:३९ मा प्रकाशित

Kumari Advertisement
top ad