BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

‘एमाले भित्र ‘धमिलो पानीमा माछा मार्ने’ खेल भइरहेको छ, एकताको विकल्प छैन’

एक्सन खबर
‘एमाले भित्र ‘धमिलो पानीमा माछा मार्ने’ खेल भइरहेको छ, एकताको विकल्प छैन’

सत्तारुढ नेकपा एमाले भित्रको आन्तरिक विवाद शीर्ष नेताहरुको सहज व्यवस्थापन हुन नसक्दा देखिएको केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज भगवती चौधरीले बताएकी छन् । तत्कालिन माओवादी केन्द्रसँगको एकताले गठित नेपाल कम्युनिस्ट पार्टीको एकता महाधिवेशन समयमै भएको भए तथा पार्टीभित्र देखिएका स–साना मतभेदहरु बेलैमा हल गर्न सकेको भए अहिले एमाले भित्र यस्तो कलह नहुने पनि बताइन् । एक्सन खबरसँगको कुराकानीमा पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले अझैपनि पार्टीलाई एक बनाउन सकिने कुरामा जोड दिँदै दुवै पक्षले पार्टी एकता र कम्युनिस्ट एकतामा प्रतिबद्ध हुनुपर्ने बताइन् ।
प्रस्तुत छ नेतृ चौधरीसँग गरिएको कुराकानीको संक्षेपः

नेकपा एमाले भित्रको विवाद सुलह हुनै नसक्ने अवस्थामा पुगेको हो ?

हैन, पार्टीलाई एकताबद्ध बनाइराख्नुपर्छ, विभाजन तर्फ जानु हुँदैन भनेर दुवै तर्फबाट प्रयासहरु भइरहेका छन् । शीर्ष नेता खासगरी सम्माननीय प्रधानमन्त्री पार्टी अध्यक्ष र बरिष्ठ नेताविच पटक–पटक अनौपचारिक भेटवार्ता पनि भइरहेकोले नेकपा आजै अहिले नै फुटि हाल्छ भन्ने अवस्था छैन । ५ महिना अगाडी जुन प्रकारको तिक्तता थियो अहिले कम भएको अवस्था छ । दुवै पक्षबाट कार्यदल मार्फत एकताका प्रयासहरु भइरहेकाले पार्टी विभाजनको अन्तिम अवस्थामा छ भन्न पर्दैन ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक संसद विघटन गरेपछि माधब नेपालहरु पार्टी हित विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर हस्ताक्षर नै गरेर गएकाले अब एमाले जुट्नै नसक्ने अवस्थामा पुग्यो अब फुटको दोष कसले बोक्ने हो त्यो मात्र छिनोफानो हुन बाँकी हैन र ?

प्रधानमन्त्रीज्यूले दोश्रो पटक संसद विघटन गरी निर्वाचनको मिति घोषणा गर्नुभयो । यो रहरले पक्कै हैन । संसदमा विस्वासको मत लिन नसक्ने अवस्था भइसकेपछि पटक–पटक किन विस्वास, अविस्वासको प्रस्ताव सामना गरिरहनु बरु जनतामै जान्छु भन्ने उहाँको तर्क हो । अझैपनि प्रधानमन्त्री ज्यू निर्वाचनकै पक्षमा हुनुहुन्छ । तर, सम्माननीय राष्ट्रपतिज्यूले सरकार गठन गर्नको लागि आब्हान गरेपछि हाम्रै पार्टीका सांसदहरुले आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न संसदीय अभ्यास विपरित जसरी हस्ताक्षर गर्नुभयो त्यो चैं गलत थियो । यसले एमालेलाई एकताबद्ध बनाउन झनै समस्या पैदा गरेको थियो । तैपनि, पछिल्ला दिनहरुमा माधब कमरेड र केपी कमरेडले पार्टी एकतालाई जोड दिइरहनु भएको छ । अन्य शीर्ष नेताहरु, कार्यदल तथा हामी जस्ता दोश्रो तहका नेताहरुले पनि एकतामै जोड दिइरहेकाले जुट्नै नसक्ने अवस्था छैन । दुई तीन दिनको राजनीतिक कोर्षले एकताका संभावनालाई बलियो बनाउँदै लगेकोले एमाले फुट्दैन भन्नेमा म विस्वस्त छु ।

सर्वोच्च अदालतले नेकपालाई खारेज गर्ने वित्तिकै पार्टीभित्रको विवाद हल गरेको भए परिस्थिति यहाँसम्म आउँथ्यो त ?

अदालतले नेकपा खारेज गर्छ भन्ने कसैले अनुमानै गरेका थिएनन् । यो राजनीतिक विषय थियो, राजनीतिक तवरबाटै हल गर्नुपर्दथ्यो तर, अदालतले फैसला गरेपछि त्यसको कार्यान्वयन गर्नु÷गराउनु कानुनी राज्यको लागि अपरिहार्य पनि हो । तसर्थ, हामी सर्वोच्चको फैसला पुवरावलोकनको पक्षमा गएनौं । जसले कानुन पालनाको जिम्मेवारी लिएको छ उसैले ‘म अदालतको फैसला मान्दिन’ भन्दछ भने त्यहाँ कानुनी शासन कहाँ रहला ! तर, त्यसपछिका परिदृश्यमा आफ्नै पार्टीका कमरेडहरुले सरकार ढाल्ने, महाधिवेशनबाट निर्वाचित भएर आएको अध्यक्ष फ्याल्ने जुन हर्कतहरु गर्नु भो त्यो जाजय भएन । तपाईले भनेजस्तो नेकपालाई खारेज गरेसँगै एमाले भित्रका अन्तरविरोधहरु हल गरेर गएको भए हुन्थ्यो, हामी धेरै साथीहरुले जोड पनि गरेका थियौं । तर, सफल भइएन ।

समय परिस्थिति अनुसार पार्टीको समायोजन हुन नसक्नु, सैद्धान्तिक र बैचारिक मतभेद, फरकफरक स्कुलिङको पृष्ठभूमीका कारण अहिलेको राजनीति विथोलिएको हो ।

अहिले नेकपा एमालेभित्र देखिएको विवादको मुल जरो माधब नेपाल र केपी ओली विचको व्यक्तिगत टकराव मात्र होकि राजनीतिक, सैद्धान्तिक र बैचारिक टकराव पनि छ ?

एमाले स्वर्गीय मदन भण्डारीको जनताको बहुदलीय समाजवादबाट निर्देशित छ । माधब कमरेड र केपी कमरेड मात्र हैन हामी तमाम् नेता कार्यकर्ता मदन भण्डारीकै जबजबाट निर्देशित छौं । नेकपा एमालेभित्र जबजलाई मान्दिन भनेर कुनै पक्षले भनेका छैनन् । यहाँ समस्या कार्यशैली र व्यक्तिगत टकराव हो । नेकपा एमालेले खासगरी शीर्ष तहमा रहेका नेताहरुलाई व्यवस्थापन गर्ने सवालमा चुक्यो । केपी कमरेड, माधब कमरेड, झलनाथ, बामदेव कमरेड समकालिन नेताहरु भएकाले उहाँहरुलाई पार्टीमा कसरी व्यवस्थापन गर्ने सोच्नै सकिएन । फेरी माओवादीसँगको एकताले पनि अरु शीर्ष नेताहरु थपिए । ती सबैलाई सहि व्यवस्थापन गर्नका लागि एकताको महाधिवेशन अपरिहार्य भएपनि यहाँ एकता प्रक्रियाका प्रारम्भिक कामहरु नै भएनन् । फरक–फरक स्कुलिङ र सिद्धान्तबाट निर्देशित नेता तथा कार्यकर्ताहरुको व्यवस्थापनमा पार्टीले समयमै सहि निर्णय लिन नसक्दाको उपज हो अहिलेको राजनीति ।

त्यसकारण नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टीभित्रको कलह कुनै एउटै विषयबाट भएको भन्न सकिन्न । समय परिस्थिति अनुसार पार्टीको समायोजन हुन नसक्नु, सैद्धान्तिक र बैचारिक मतभेद, फरकफरक स्कुलिङको पृष्ठभूमीका कारण अहिलेको राजनीति विथोलिएको हो ।

भगवती चाैधरी, केन्द्रीय सदस्य, नेकपा एमाले

एउटा पार्टीभित्रको विवादमा सिंगो मुलुकलाई बन्धक बनाइनु त्यो पनि कोरोनाको यस्तो महामारीका कत्तिको न्यायोचित थियो ?

तपाईले सहि कुरा उठाउनु भयो । कुनैपनि पार्टी भित्रको विवादमा सिंगो मुलुक प्रताडित हुनु हुँदैन । जनताका पक्षमा सर्वहाराका पक्षमा राजनीति गर्नेले त एकाध व्यक्तिगत स्वार्थमा मुलुकलाई नै बन्धक बनाउने कुरा सपनामा पनि सोच्नु हुन्न । तर, यो अहिले मात्र देखिएको परिस्थिति चैं हैन । यो दशकौंदेखि हुँदै आएको राजनीति हो । आफुलाई प्रजातन्त्रको पहरेदार भन्ने कांग्रेसले पार्टीको आन्तरिक किचलोमा पटक–पटक संसदलाई मारेको छ । गिरिजाप्रसादका पालामा मात्र हैन शेरबहादुर देउवाले पनि पार्टीभित्रको विवादमा मुलुकलाई भड्खालोमा लगेकै हो । तर, त्यो बेला त कसैले प्रश्नहरु उठाउनु भएन, कसैले गलत भयो भनेनन् ।

अहिले केपी ओलीले विगतमा सरकारले गरेको निर्णय भन्दा परिपक्व ढंगले अब सरकार चलाउन नसक्ने भएँ संविधानले व्यवस्था गरेअनुसार जनतामा जान्छु भन्दा यत्रो कोकोहोलो ? जनतामै नगईकन तानाशाही लाद्न चाहनेहरु यतिबेला हिरो भएर लोकतन्त्र र प्रजातन्त्रको दुहाई दिएको पटक्कै सुहाएको छैन । पार्टीको आन्तरिक विवादमा मुलुकलाई बन्धक बनाइयो भन्ने कुरामा प्रधानमन्त्री मात्र हैन सबै राजनीतिक दलहरु जिम्मेवार छन् ।

अब कोरोना संक्रमणकै बेला किन यस्तो ? भन्ने प्रश्नको उत्तरमा जाउँ ? यो हाम्रो पनि प्रश्न हो ? विश्व कोरोना महामारीसँग लडिरहेको बेला हाम्रो जस्तो कमजोर स्वास्थ्य संरचना र आर्थिक अवस्था भएको देशमा किन यस्तो ? यो प्रश्न हामीले सरकारलाई मात्र हैन सम्पूर्ण राजनीतिक दल, नेतृत्वलाई पटक–पटक सोधेका छौं । प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेरै आन्तरिक विवाद पछि हल गरौंला पहिले कोरोना भाइरससँग लडौं भन्दा किन विपक्षीले मुख फर्काए ? कारण प्रष्ट छ, प्रधानमन्त्री आफ्नै पार्टीभित्र अल्पमतमा रहेका बेला उनलाई हटाउन पाए सरकार गठन गर्न सकिन्छ, आफ्नो हातमा ‘डाडुपन्यु’ हुन्छ भन्ने सोच प्रतिपक्षसँग भयो ।

सरकारले भारतसँग कोरोनाको खोप किन्दै गर्दा प्रमुख प्रतिपक्षले नै खोप आउन नदिन लविङ गरेको भन्ने सुन्नमा आएको छ । अर्को सरकार गठन हुन्छ अनी खोप दिनु भनेर प्रतिपक्षले लविङ गरेको कुरा छ । सरकारको राम्रो कामको समर्थन गर्नु गलत कामको विरोध गर्नु प्रतिपक्षको धर्म भएपनि कोरोना महामारीका बेला खोपमा प्रतिपक्षले राजनीति गरेको देखियो । अहिलेको हाम्रो प्राथमिकता कुनैपनि हालतमा जनतालाई कोरोनाको खोप लगाउनु पर्छ भन्ने हुनुपर्छ । जतिसक्दो चाँडो जनतालाई खोप लगाउन पर्छ ।

कोरोना संक्रमणमा राज्यले गरेको काम त दक्षिण एसियाली राष्ट्रहरुलाई हेरेर नै थाहा हुन्छ नी । छिमेकी मुलुकको कोरोना संक्रमण दर, नियन्त्रणको प्रयास र हामीले गरेको प्रयासलाई मुल्यांकन गर्दा हामीले अझै राम्रो गरेका छौं । होला एकाध दुईवटा केसमा कमीकमजोरी भयो, तर, विज्ञानले पनि शतप्रतिशत रिजल्ट त दिँदैन नी !

२ वर्षपछि निर्वाचनमा जानै पर्दथ्यो, एक वर्षपछि महाधिवेशन गर्नै पर्दथ्यो । तर, केही कमरेडहरुले समयभन्दा अगाडी ‘भाग शान्ती’ खोज्दा पार्टी र सरकारलाई कमजोर बनाए ।

पार्टी भित्रको किचलोकै कारण केपी ओली सरकार असफल भएको हो ?

कसले भन्यो केपी ओली सरकार असफल भयो भनेर ? ओली सरकार विभिन्न चुनौतिका बावजुद पनि सफल भएको छ । यो ४ वर्षमा २० वर्ष यता नभएका कामहरु भएका छन् । तपाईंलाई थाहा भएकै कुरा हो, ओली सरकार मुलुकको नयाँ संरचनामा बनेको पहिलो सरकार हो । योसँग संघियता कार्यान्वयनको चुनौति पनि थियो । दुनियाँमा कहिँकतै नयाँ संरचनामा जाँदा पहिलो सरकारले नै सबै संरचनाहरु तयार गरेर कार्यान्वयन गरेको इतिहास संभवतः छैन । तर, सरकारले शुरुदेखि नै संघियता कार्यान्वयनलाई प्राथमिकतामा राखेर स्थानीय, प्रदेश र केन्द्रका तहहरु निर्माण गरी त्यहाँ कर्मचारी पठाउने, संरचना तयार गर्ने काम गर्यो ।

सरकारले दोश्रो वर्षलाई विकासका आधार वर्ष भन्यो । त्यहि अनुसार गाउँगाउँमा शिक्षा, स्वास्थ्य, विद्युत, यातायात जस्ता आधारभूत आवश्यक्ताका संरचनाहरु बन्न थाले । कृषि, उर्जा र पर्यटन, उद्योगमा ठूलै कामहरु भए । गाउँगाउँमा विकासका योजना गएका छन् । राष्ट्रिय गौरबमा आयोजनाहरु द्रुतगतिमा निर्माण भइरहेका छन् । तर, तेश्रो वर्षसँगै कोरोना भाइरसको संक्रमण आइदियो । नागरिकको जिवन बचाउनु पनि राज्यको पहिलो दायित्व भएकोले केही समय विकास निर्माणका कामहरु ठप्प गरेर सरकारले कोरोनासँग लड्नु पर्योे । सरकारका लागि नागरिकको जिउधन भन्दा ठूलो अरु केही छैन ।

तर, त्यसमा प्रतिपक्ष लगायतले भ्रष्टाचार, अनियमितताका अनेक बखेडाहरु झिकेर सरकारलाई अल्झाउने काम गरे । मुलुक नै महामारीमा रुमलिएको बेला सबै दलहरुले भ्रष्टाचारका विषय पछि छानविन गरौं पहिला नागरिकको ज्यान बचाउँ भन्नुपर्नेमा कोरोना स्वास्थ्य सामग्री आयात, खोप आयातमा समेत व्यवधार खडा गरे । यसमा ओली सरकारको लोकप्रियता देखेर कतिपय पार्टीभित्रैका कमरेडहरुलाई असैह्य पनि भयो । नत्र आफ्नै पार्टीको सरकारलाई ढाल्न यतिसम्मको हर्कत किन गर्नुपर्दथ्यो ? २ वर्षपछि निर्वाचनमा जानै पर्दथ्यो, एक वर्षपछि महाधिवेशन गर्नै पर्दथ्यो । तर, केही कमरेडहरुले समयभन्दा अगाडी ‘भाग शान्ती’ खोज्दा पार्टी र सरकारलाई कमजोर बनाए ।

भनेपछि केपी शर्मा ओलीको कुनै कमजोरी छैन, उहाँले जे गर्नुभयो ठिक गर्नुभयो ?

म यो पनि भन्दिन, प्रधानमन्त्री ज्यूमा पनि कमजोरी छ । उहाँको सबैभन्दा ठूलो कमजोरी उहाँ सानो घेराभित्र रुमलिनु भयो । अझ भन्नुपर्दा उहाँ बालुवाटारभन्दा बाहिर निस्कन सक्नु नै भएन । अथवा निस्कन नै दिइएन कि !, एकाध व्यक्तिका भनाईहरुमा विस्वास गर्दा पनि संकटमा पर्नुभएको हो । प्रमलाई असफल बनाउन कतिपय गलत सल्लाहको पनि भूमिका छ । प्रमले एउटा सानो घेरामा रहेर बस्न भएन । सबैलाई समेटेर लैजानु पर्यो । पार्टीभित्र विवाद छ, यसलाई बेलैमा सेटल गरिएन भने भोली मुलुक अफ्टेरोमा पर्छ भन्ने उहाँले सोच्नुपर्दछ । यो साँढे तीन वर्ष उहाँले आफ्ना नेता कार्यकर्ता को को हुन् ? कसले कस्तो काम गर्दैछन् ? जनताका अपेक्षा के छ ? सोच्न सक्नु भएन ।

देश बनाउने, समृद्ध मुलुक सुखी नेपाली बनाउन उहाँको भिजन र सोच अत्यन्त राम्रो छ । तर, त्यसलाई कार्यान्वयन तहमा लैजान काम गर्नेहरु कमजोर भइदिए । प्रधानमन्त्रीको स्पिरिट अनुसार मन्त्री र कर्मचारीतन्त्रले काम नगर्दा पनि समस्या पैदा भएको छ । अर्को कुरा नेतृत्वले कमजोरी स्विकार्ने पनि गर्नुपर्दछ । प्रधानमन्त्रीज्यूले पनि आफ्ना कमी कमजोरी सच्याउँदै काम गर्नुपर्दथ्यो । नेताहरुबाट पनि प्रधानमन्त्रीलाई एक्ल्याउने, सरकारमाथि हस्तक्षेप गर्ने काम भयो । तर, अब नेकपा एमालेको राजनीति धेरै अगाडी बढिसकेकोले खाटा बसेका घाउ उप्काएर नुन छर्नुभन्दा औषधीमुलो गर्नतिर लाग्नु नै श्रेयकर छ । कमी कमजोरी दुईटै पक्षबाट भएकाले आत्मसमिक्षा गर्दै मिल्नुको विकल्प छैन ।

कसले कुन स्वार्थले पार्टी फुटाउन खोज्दैछ नेतृत्वले चिन्न सक्नुपर्दछ । पार्टी फुटाएर जान खोज्नेहरुलाई इतिहासले पर्गेल्ने छ ।

माधब नेपाल पक्षले २०७५ जेठ २ गते अगाडी फर्कन गरेको प्रस्तावमा किन जान सकिन्न ?

पार्टीभित्र देखिएको विवाद हल गर्न कार्यदल गठन गरिएको छ । त्यसले काम गर्दै गरेको परिस्थितिमा मैले यसै हुनुपर्छ भन्न उचित रहँदैन । तर, नेकपा एमालेलाई एक बनाउन, पार्टीभित्र देखिएका विवादहरु हल गर्न दुवै पक्ष मिलेर जानुको विकल्प चैं छैन । इतिहास साक्षी छ, एमाले फुटेर माले भयो, माओवादी चिराचिरा भयो, कांग्रेस, राप्रपा पनि नफुटेका हैनन् । तर, इतिहास कसैको राम्रो छैन । जसले पार्टी फुटाउनु पर्छ भनिरहेका छन् तिनीहरुको भविष्य चैं छैन । अहिले एमाले भित्र ‘धमिलो पानीमा माछा मार्ने’ खेल भइरहेको छ, सहमतिकाे विकल्प छैन । कतिपय देशीविदेशी शक्तिहरु पनि पार्टी एक नहोस् माधब कमरेड र केपी कमरेड मिल्नुहुँदैन भनिरहेका छन् । कसले कुन स्वार्थले पार्टी फुटाउन खोज्दैछ नेतृत्वले चिन्न सक्नुपर्दछ । पार्टी फुटाएर जान खोज्नेहरुलाई इतिहासले पर्गेल्ने छ ।

पार्टी एकता कायम राख्ने मुख्य आधार के हो ?

शीर्ष नेतृत्वले नेपालको कम्युनिस्ट राजनीति गरेका हुन् र मुलुकमा समाजवाद ल्याउन खोजेका हुन् कम्युनिस्ट आन्दोलनलाई स्थायित्व दिन चाहेका हुन् भने नेकपा एमाले संसारको कुनैपनि शक्तिले फुटाउन सक्दैन । हैन, मैले व्यक्तिको, स्वार्थको राजनीति गरेको हुँ मनै सर्वेसर्वा हुँ भन्छन् भने त्यसले पार्टीको हित त गर्दैन नै उहाँहरुको राजनीति पनि समाप्त हुन्छ । राजनीतिमा जहिल्लै पनि नीति र सिद्धान्त प्राथमिकतामा पर्नु पर्दछ । पद र पावर हैन ।

आउँदो महाधिवेशनसम्म पार्टीका विवादहरु थाँति राखेर जान सकिने अवस्था छ कि छैन ?

अवश्य छ । पार्टीभित्र भएका जुनसुकै मतभेद, विवादहरु घनिभूत रुपमा वहस, छलफल हुने ठाउँ भनेको पार्टीका बैठकहरु नै हुन् । नेकपा एमाले भित्र अहिले देखापरेका विवादहरुलाई महाधिवेशनमा लैजाने र छलफल, वहसमार्फत टुंग्याउने राम्रो विकल्प हो । पार्टी अध्यक्षले पनि पटक–पटक यो कुरा दोहोर्याउनु भएको छ ।

कुनैपनि व्यक्तिले समाज, पद्दति र सिस्टमबाट न्याय नपाएपछि न्यायका लागि जाने अन्तिम स्थान भनेकै न्यायालय भएकोले त्यसको निष्पक्षता प्रति प्रश्न उठाउनु र उठ्न दिनुहुन्न ।

कार्यदलले विवादहरु समाधान गर्ला ?

समाधान हुनुपर्दछ भन्ने हामी सबैको मान्यता हो । पार्टीलाई फुटाएर जाँदा कसैलाई पनि लाभ छैन । अहिले मुलुकको लागि बृहद् कम्युनिस्ट एकताको पनि आवश्यक्ता छ । माओवादीसँगको एकता कुन परिवेश र स्वार्थ प्रेरित थिए अब त्यसको अर्थ छैन तर, समान उद्देश्य, सिद्धान्त भएका कम्युनिस्टहरु विच वैचारिक, सैद्धान्तिक, राजनीतिक एकता गरेर मुलुकमा समाजवाद स्थापना गर्नु आवश्यक्ता हो । पार्टीभित्रका आन्तरिक विवादहरु हल गरेर पार्टीलाई सहि दिशातर्फ डोहोर्याउने हो भने दुवैपक्ष लचिलो भएर निकास निकाल्नु पर्छ । आशा छ, कार्यदलले दुवै पक्षलाई एउटै स्थानमा ल्याउनेछ ।

दोश्रो पटक संसद विघटनको विषयमा अदालतले कस्तो फैसला गर्ला ?

सम्मानीत अदालतले कस्तो फैसला गर्ला, गर्नुपर्छ भन्नु गलत हो । न्यायालयप्रति सबैको विस्वास हुन्छ, रहनुपर्छ । कुनैपनि व्यक्तिले समाज, पद्दति र सिस्टमबाट न्याय नपाएपछि न्यायका लागि जाने अन्तिम स्थान भनेकै न्यायालय भएकोले त्यसको निष्पक्षता प्रति प्रश्न उठाउनु र उठ्न दिनुहुन्न । न्यायमुर्तिहरुले गरेको फैसला कार्यान्वयन गर्नु राज्यको नैतिक जिम्मेवारी भएकाले पनि फैसला नै नभइसकेको विषयमा हामीले फैसला गर्नु हुन्न । अदालतबाट जे फैसला आएपनि कार्यान्वयनमा सरकार प्रतिबद्ध छ ।

घाेषित समयमा निर्वाचन हाेला ? 

अहिलेकाे संकटबाट पार पाउन र नयाँ जनमत पाउनका लागि पनि निर्वाचन अपरिहार्य हाे । ५ वर्ष पछि यसैपनि निर्वाचनमा जानै पर्छ । संसदमा खसी बाेका बिक्रि गरे जस्ताे माेलमाेलाईकाे राजनीतिबाट मुलुकलाई मुक्त गर्नका लागि पनि प्रमले निर्वाचनकाे बाटाे राेज्नु भएकाे थियाे । अब सर्वाेच्चकाे फैसला कस्ताे हुन्छ त्यस अनुसार निर्णय हुन्छ ।

- २४ असार २०७८, बिहीबार १७:३३ मा प्रकाशित

Kumari Advertisement
top ad