BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

कथा–किन ?

ममता श्रेष्ठ
कथा–किन ?

शान्त–सौम्य मुहार, अग्लो शरीर, सेतो र कालो मिसिएको तिलचामलजस्तो छोटो कपाल, झट्ट हेर्दा सबैको नजरमा एक पटक छाउने व्यक्तित्वका धनी प्रशान्त सर सबैको प्रेरणाको स्रोत हुन् । गाउँमा प्रशान्त सरले भनेको कुरा सबैले मान्छन् । बीस वर्षको अल्लारे उमेरदेखि गाउँको विद्यालयमा पढाएका विद्यार्थी सबै तहमा पुगिसकेका छन् तर प्रशान्त सर जहाँको त्यहीँ ।

प्रशान्त सरका तीनवटी छोरी विवाहित भएर आ–आफ्नो घर गईसकेका छन् । तीनवर्ष अगाडि उनकी पत्नी अम्बिकाले छाडेर गएपछि उनी एक्लिएका छन् । जीवनको कठिन यात्रा, अनेकौं उकाली–ओरालीमा बितिरहेको छ प्रशान्त सरको । समयरूपी अजिङ्गरले डस्न आउने डरले आफूलाई सधैं व्यस्त राख्न अभ्यस्त भइसकेका छन् । धेरैले पुनर्विवाह गर्ने सल्लाह दिएपनि ख्वै कुन्नि के सोचेर विवाह गरेनन् ।

एकरात प्रशान्त सरलाई राति अबेरसम्म निद्रा लागेन । बिहान ब्युँझिदा घाम झुल्किसकेको थियो । आँगनमा बिस–पच्चिस जना मानिस खल्याङ्गबल्याङ्ग गर्दै रहेछन् । प्रशान्त सर उठेर बाहिर निस्के ।

के भएको रहेछ सोच्नै नपाई विनोदसँग आएका चार जना केटाले प्रशान्त सरलाई कालो मोसो दलिदिए । विनोदले हातपात गर्यो । केहीबेर कुटपिट चल्यो । प्रशान्त सर भुइँमा ढलेपछि केटाहरू भागे । केही समयपश्चात् प्रशान्त सरलाई प्रहरीले पक्रेर लिएर गए । मौन प्रशान्त सरले आफ्नो गल्ती छुट्याउन सकेका थिएनन् १ कसलाई सोध्ने ? बुझ्न सकेका थिएनन् ।

पचपन्न वर्षमा के गल्ती भयो छुट्याउन मुस्किल भइरहेको थियो । प्रशान्त सरलाई हिरासत भित्रबाट बाहिर निकालेर इन्सपेक्टर भएको कोठामा लिएर आए । ‘भित्तामा गएर उभिइरहेस्, भाग्लास्, तेरो हड्डी भाँच्नु नपरोस्’ सिपाहीले कठोर आदेश बजार्यो । मौन भएर भित्तामा टाँसिएर उभिएको प्रशान्त सरलाई इन्सपेक्टरले कड्केर बोल्यो–‘यो उमेरमा तँलाई बलात्कार गर्न लाज लागेन ? छोरीभन्दा कान्छी केटीलाई तैँले बलात्कार किन गरिस् ?’

प्रशान्त सरको आँखा अगाडि कालो बादल छायो । मुख सुक्यो । रिँगटा लागेर आयो । बिस्तारै मुख खोले–‘मैले कसैलाई बलात्कार गरेको छैन ।’

इन्सपेक्टरले हाँस्दै भन्यो–‘अपराधीले अपराध सजिलै स्वीकार गर्दैन । पहिला स्वास्थ्य परीक्षण गरेर ल्याऊ, अनि ठीक पार्नुपर्छ । अहिले लैजाओ ।’

सिपाही अगाडि आएर प्रशान्त सरलाई लैजान थालेको मौकामा बिस्तारै प्रशान्त सरले सोधे–“उजुरी कसले गरेको छ ?”

सिपाहीले हाँस्दै भन्यो–“राधिका भन्ने केटीले हो ।”
प्रशान्त सर स्तब्ध भए । हिउँ जमेजस्तै मन चिसो भयो । ‘राधिका कहाँ छिन् ?’ सिपाहीसँग पुनः सोधे । ‘अस्पतालमा महिला प्रहरीले लिएर गएका थिए, त्यसपछि थाहा छैन ।’

हिजो प्रशान्त सर इटहरी गएर फर्किंदा साँझको पाँच बजेको थियो । घर आउने क्रममा राधिकासँग भेट भएपछि राधिकाले चिया पिउने आग्रह गरेकी थिई । प्रशान्त सरले प्रस्ताव स्वीकार गरेर चिया पिएका थिए । घर आएपछि के भयो प्रशान्त सरलाई थाहा थिएन ।

सिपाहीको कुरा सुनेर प्रशान्त सरको मन विक्षिप्त भयो । प्रशान्त सरलाई भेट्न राजेश सर आएका रहेछन्, राजेश सरको आग्रहलाई स्वीकार गरी भेट्टाउन सिपाही आयो । प्रशान्त सरले राजेश सरसँग भने–‘सर, यो के भएको मैले केही बुझ्नै सकिनँ ?’

राजेश सर छक्क परे । ‘प्रशान्त सर, तपाईँले राधिकालाई बलात्कार गरेको हल्ला गाउँमा फैलिएको छ । हामी सबै विद्यालयका शिक्षकहरूले अचम्म मानेका छौँ । तपाईँबाट यस्तो घृणित कार्य हुन सक्दैन भन्ने विश्वास मलाई लागेर भेट्न आएको हुँ । यो कार्य कसको हो, म पनि बुझ्ने कोसिस गर्छु ।’ आश्वासन दिएर राजेश सर गए ।

प्रशान्त चुपचाप सोचिरहे–राधिकाले यत्रो ठुलो आरोप मलाई किन लगाई ? केही समयपश्चात् अदालत लगेर म्याद थपेर ल्याए । जबरजस्ती करणी अभियोगमा पन्ध्र दिन प्रहरी हिरासतमा बसी पुर्पक्षको लागि थुनामा राख्ने आदेशानुसार कारागारमा पुर्याइएका प्रशान्त सर सागरजस्तै शान्त थिए । मनभित्रको ज्वालामुखी विष्फोटन हुन सकेको थिएन ।

प्रशान्त सर एक्लै चिच्याइरहे तर उनको चिच्याहटमा कसैले विश्वास गरेनन् । आँखामा शङ्का, मनमा माया लिएर कहिलेकाहीँ छोरीहरू भेट्न आउँथे । प्रशान्त सर बलीको बोकोजस्तै निरीह बनिरहेका थिए । राधिकाले किन यस्तो गरी प्रशान्त अन्योलमा थिए ।

दुई वर्षपछि अदालतबाट प्रशान्त सर छुटे पनि मनभित्रको वेदना छुटेन । आँखामा आएर अडिएको विश्वास छुटेन । मनमा रहेको कौतुहलता छुटेन । प्रशान्त सरले निश्चय गरे, राधिकालाई सोध्छु, उसले किन मलाई फसाई ? राधिकासँग प्रश्न सोध्ने आँट गरेर घरबाट निस्के प्रशान्त सर, बाटोमा राधिकाको बुबासँग आँखा जुध्यो । प्रशान्त सरले हिम्मत गरेर बोलाए–‘वीरेन्द्रबाबु !’ वीरेन्द्र अडिए । प्रशान्त सर नजिकै गएर भने –‘म राधिकासँग एउटा प्रश्न सोध्न सक्छु ?’

‘प्रशान्त सर ! मलाई थाहा छ, तपाईँ निर्दोष हुनुहुन्थ्यो तर मैले केही गर्न सकिनँ । राधिकाले मलाई धेरै पछि भनी । प्रशान्त सर मलाई माफ गर्नुस् । तपाईँ राधिकासँग भेट्न सक्नुहुन्छ ।’ भनेर उनले प्रशान्त सरलाई घर लिएर गए ।

घरमा ढोका भित्रबाट लगाइएको थियो । वीरेन्द्रले राधिकालाई बोलाए, ढोका ढक्ढक्याए, कुनै आवाज आएन । झ्याल खुल्ला रहेछ । झ्यालबाट भित्र हेर्नासाथ वीरेन्द्र चिच्याए । राधिका पङ्खामा सल बाँधेर झुण्डिरहेकी थिई । प्रशान्त सर केही नबोली घर फर्के । उनको मनमा शङ्का उपशङ्काका बादल मडारिए । कौतूहलताको बिजुली चम्क्यो अनि त्यहाँ एउटा अनुत्तरित प्रश्न खडा भयो–राधिकाले किन त्यसो गरी, किन ?

- २६ असार २०७८, शनिबार १३:४८ मा प्रकाशित



Kumari Advertisement
top ad