BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

२८ वर्षपछि अर्जेन्टिनालाई अन्तराष्ट्रिय उपाधि (फाेटाे फिचर सहित)

एक्सन खबर
२८ वर्षपछि अर्जेन्टिनालाई अन्तराष्ट्रिय उपाधि (फाेटाे फिचर सहित)

काठमाडौं । २८ वर्षपछि अर्जेन्टिनाले अन्तराष्ट्रिय उपाधि हासिल गरेको छ । आइतबार विहान ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको उपाधि जित्दै अर्जेन्टिनाले लामो उपाधि विहिन यात्रामा पूर्णविराम लगाएको हो ।

अर्जेन्टिनाले उपाधि जितेसँगै शताब्दीकै उत्कृष्ट फुटवल खेलाडीमा लियोनल मेसीको नाम समेत दर्ज भएको छ । करियरकै पहिलो अन्तराष्ट्रिय ट्रफी उचालेका लियोलाई देशको लागि खेल्न नसकेको भन्ने आरोप पनि अब अन्त्य भएको छ ।

आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । ब्राजिलको ऐतिहासिक माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।

खेलको २२ औं मिनेटमा डी मारियाले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गर्दै लियोनल मेसी कप्तानीको टीमलाई उपाधि जिताए ।

खेलमा बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा स्टार खेलाडी नेइमार पनि अन्तराष्ट्रिय उपाधिबाट विमुख भए ।
ब्राजिललाई पराजित गर्न अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज नायक भए ।

खेल अवधिभर मार्टिनेजले ब्राजिलको पटक पटकको आक्रमण विफल पारे । पहिलो हाफ अर्जेन्टिनाको पकडमा भएपनि दोश्रो हाफमा ब्राजिल आक्रमक भएको थियो । तर, सेमिफाइनलमा कोलम्बियाका तीन पेनाल्टी रोक्दै सनसनी प्रदर्शन गरेका मार्टिनेजले फाइनलमा पनि लय समाते ।

सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि निराश मेस्सीले अन्तराष्ट्रिय खेलबाट सन्यास घोषणा गरेपनि पछि अर्जेन्टिनी फुटवल फेडरेसनको अनुरोधमा राष्ट्रिय टीममा फर्किएका थिए । देशका लागि ट्रफी उचाल्ने मेसीको सपना पनि साकार भएको छ ।

कोपा अमेरिकाको उत्कृष्ट खेलाडी र हाई स्कोरर पनि मेसीकै पोल्टामा रह्यो । उनले प्रतियोगिताभर ४ गोल तथा ५ असिस्ट गरेका छन् ।

अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो । यस अघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो । ब्राजिलले भने पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

- २७ असार २०७८, आईतवार ०८:५२ मा प्रकाशित



Kumari Advertisement
top ad