BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

प्रधानमन्त्री ज्यू, वीपी प्रतिष्ठानका विषयमा तपाईंको मौनताको अर्थ के हो ?

टिप्पणी
प्रधानमन्त्री ज्यू, वीपी प्रतिष्ठानका विषयमा तपाईंको मौनताको अर्थ के हो ?

काठमाडौं । चार सातादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फ्याकल्टी, कर्मचारी तथा विद्यार्थीहरु आन्दोलित छन् । प्रतिष्ठानभित्रका भ्रष्टाचार, अनियमितता तथा विभिन्न विक्रिति विसंगतिको अन्त्यको माग गर्दै आन्दोलनरत पक्षले प्रतिष्ठानका पदाधिकारीहरुसँग भन्दापनि कुलपति समेत रहेका प्रधानमन्त्री स्तरीय टोलीसँग वार्ता गर्ने अडान लिएका छन् । प्रतिष्ठानमा जारी आन्दोलनको वस्तुस्थिति बुझ्न स्वास्थ्य मन्त्रालयले डा. रोशन पोखरेल र डा. मदन उपाध्यायलाई प्रतिष्ठान पठाएपनि आन्दोलनरत पक्षले आफ्ना मागहरुका बारेमा जानकारी गराउनु वाहेक केही गरेनन् ।

संघर्षरत पक्षले प्रतिष्ठानका चारै जना पदाधिकारी (उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशक, रजिष्ट्रार) को राजिनामा प्रमुख मागका रुपमा उठाएकाले मन्त्रालयबाट आन्दोलनको ‘टिपोट’ गर्न गएको टोलीले केही गर्न सक्ने अवस्था थिएन । वार्ताको नाटक गर्दै औपचारिकताका लागि मात्र आएको टोलीसँग आन्दोलनरत पक्षले ‘वार्ताका लागि वार्ता’ गर्नु वाहेक ठोस उपलब्धी नहुने देखेपछि वार्ता नगरेको हो । प्रतिष्ठानमा भएका भ्रष्टाचार, अनियमितताका मुख्य नाइके पदाधिकारी त्यसमाथि सबैभन्दा बढी जिम्मेवार उपकुलपति भएको संयुक्त संघर्ष समितिको ठम्याई छ । प्रतिष्ठानमा लामो समय आन्दोलन भइरहँदा वेवास्ता गर्दै उल्टै आन्दोलतरत पक्षका व्यक्तिलाई स्पष्टिकरण सोध्ने र कारवाही गर्ने धम्की दिँदै राजधानीमा बसेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले गएको असार १५ गते आन्दोलनरत पक्षसँग वार्तामा बसेका थिए । तर, उनले मादक पदार्थ खाएर आन्दोलनरत पक्षलाई चिढ्याएपछि वार्ताको माहौल एकाएक विथोलिएको थियो ।

उपकुलपति जस्तो गरिमामय पदमा आसिन व्यक्ति मदीराले धुत्त भएर कार्यालय समयमा आएर औपचारिक वार्तामा समेत बसेको थाहा पाएपछि आन्दोलनरत पक्षले उपकुलपतिसहित वार्तामा संलग्न पदाधिकारीहरुको मापसे चेकजाँच गर्न दवाव दिएका थिए । तर, उपकुलपति राजनीतिक शक्ति प्रदर्शन गर्दै प्रहरी प्रशासन लगाएर मापसे चेक गर्न दिएनन् । र, भोलीपल्टदेखि आन्दोलनरत पक्षले प्रतिष्ठान विग्रनुमा चारैजना पदाधिकारीको हात रहेको ठहर गर्दै उनीहरुको कार्यकक्षमा तालावन्दी गरे । त्यसपछि भने उनीहरुले चारै जना पदाधिकारीको राजिनामा मुख्य माग बनाए । यो विचमा कुनैपनि पक्षले आन्दोलनरत पक्षलाई वार्तामा ल्याउने, उनीहरुका मागलाई संवोधन गर्ने तथा समस्या हल गर्न पहल तथा तदारुकता देखाएनन् । स्वयं उपकुलपतिले पनि झारा टार्ने हिसाबले अपिल गर्नुवाहेक केही गरेनन् ।

प्रतिष्ठानलाई भ्रष्टाचार, अनियमितता, चरम राजनीतिकरणमा डुवाउने नाईके उपकुलपति डा. गिरी नै हुन् भन्ने आन्दोलनरत पक्षको धारणा छ जुन अस्वभाविक पनि हैन । किनभने प्रतिष्ठानमा विगत डेढ वर्षदेखि भए गरेका आर्थिक कृयाकलापमा उपकुलपति प्रत्यक्ष रुपमा जोडिएका छन् । प्रतिष्ठानको सर्वोच्च कार्यकारी पदमा रहेकाले डा. गिरीले त्यहाँका राम्रा नराम्रा सबै कामको जस–अपजस लिनैपर्छ । तर, आफ्नै कारणले प्रतिष्ठान धरासायी हुँदैछ भनेर चौतर्फी आलोचना भइरहँदा सच्चिनुको सट्टा भ्रष्टाचार भयो, अनियमितता भयो भनेर आवाज उठाउँनेलाई नै कारवाहीको चेतावनी दिने दुस्साहस उनीबाट भएको छ ।

कमीकमजोरी सुधारेर ‘प्रतिष्ठान बनाउँ’ भन्दा उपकुलपतिलाई अराजकता र अनुशासनहिनता भएको छ । आफ्नो नियत ठिक नराख्ने अरुलाई दोष दिने उपकुलपतिको रवैयाले नै प्रतिष्ठान दुगर्ती तर्फ गएकोमा दुईमत छैन ।

हुँदै नभएको प्राध्यापकको पगरी गुथेको भनेर प्रतिष्ठानमा आएदेखि नै विवादको भुमरीमा परेका उपकुलपतिले आफुमाथि लागेको कुनैपनि आरोपको खण्डन अहिलेसम्म गरेका छैनन् नत स्पष्टिकरण नै । प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले समेत पटक–पटक सच्चिन डा. गिरीलाई चेतावनी दिइरहेपनि उनी सच्चिएको देखिन्न । बरु झनै विवादीत कार्यहरु गरिरहेका छन् ।

प्रतिष्ठानका आन्दोलनरत पक्षले कुनै गलत विषय उठाएका छैनन् । आफ्नो उपकुलपतिको शैक्षिक योग्यताका सन्दर्भमा सञ्चारमाध्यममा आएका विषयहरु गलत होस् भन्ने उनीहरुको चाहना छ । प्रतिष्ठानको व्यवस्थापन चुस्त होस्, विरामीले सर्वसुलभ सेवा पाउन्, विद्यार्थीले पढ्न पाउन्, चिकित्सक, नर्स कर्मचारीले समयमै तलब भत्ता पाउन् भन्नु गलत हैन । तर, कमीकमजोरी सुधारेर ‘प्रतिष्ठान बनाउँ’ भन्दा उपकुलपतिलाई अराजकता र अनुशासनहिनता भएको छ । आफ्नो नियत ठिक नराख्ने अरुलाई दोष दिने उपकुलपतिको रवैयाले नै प्रतिष्ठान दुगर्ती तर्फ गएकोमा दुईमत छैन ।

पूर्वको विराटनगरमा लामो समयदेखि बरिष्ठ फिजिसियनका रुपमा डा. गिरीको राम्रो स्टाटस थियो । चिकित्सा सेवामा नाम र दाम कमाएका डा. गिरीलाई नपुग्दो पनि केही छैन । जीवनको उत्तरार्धतिर उपकुलपति भएर प्रतिष्ठानको श्रीवृद्धि गर्ने ठूलो अवसर थियो उनीसँग । तर, डा. गिरीले उपकुलपतिको गरिमा पनि राखेनन् । झनै मादक पदार्थ सेवन गरेर आन्दोलनरत पक्षसँग वार्ता गर्न बसेपछि उनको असलियत ‘छताछुल्ल’ भएको छ । कोरोना हस्पिटल निर्माण, औषधी उपकरण खरिद तथा अक्सिजन प्लान्टमा व्यापारीहरुसँगको साँठगाँठमा करोडौं भ्रष्टाचार गरेको आरोपको खण्डन समेत गर्न नसकेका डा. गिरीको कार्यशैलीले उनी प्रतिष्ठानलाई सुधार्न भन्दापनि विगार्न आएका रहेछन् भन्ने प्रष्टिएको छ । त्यसो त कम्युनिस्ट सरकारबाट नियुक्ति लिएर प्रतिष्ठान आएका उनले शुरुवाती दिनमै विश्वेश्वर प्रसाद कोइरालाको फोटो हटाउन लगाएर विवादमा आएका थिए । चौतर्फी आलोचना भएपछि विपीको शालिक नै बनाउनु पर्यो । उनको भ्रष्टाचारको ‘नग्न नाँच’ले प्रतिष्ठानलाई रसातलमा पुर्याउने लगभग निश्चित भइसक्यो । अब जो कोही प्रतिष्ठानमा आएपनि त्यसले सजिलै प्रतिष्ठानलाई उठाउन सक्दैन ।

प्रतिष्ठान डुब्नुमा उपकुलपति जति जिम्मेवार छन्, अन्य पदाधिकारी पनि नभएका हैनन् । उपकुलपतिको गलत धन्धामा फड्के साक्षी बस्नेहरु पनि कारवाहीको भागिदार हुनुपर्छ । प्रतिष्ठानमा वर्षौंदेखि रहेर त्यसको सबै विभि प्रक्रिया, ऐन नियमको जानकारहरु पनि ‘दुधको साक्षी विरालो’ भएकाले उपकुलपतिको मनोपोली बढेको हो । प्रतिष्ठान भित्रैबाट अस्पताल निर्देशक, रजिष्ट्रार तथा शिक्षाध्यक्ष भएकाहरु उपकुलपतिका गलत निर्णय विरुद्ध ‘फड्के साक्षी’ हुनुहुन्न ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मौनताले उहाँकै नियतमाथि बारम्बार प्रश्न उठिरहेको छ । देशव्यापी रुपमा प्रतिष्ठान सुद्धिकरणको अभियान चलिरहेको बेला मुलुकको कार्यकारी किन मौन ?

प्रतिष्ठानमा हुने हरेक खरिद विक्रिमा पदाधिकारी र माथिल्ला कर्मचारीले ‘भाग शान्ति’ पाउने गरेका छन् । खासगरी खरिद शाखा, मुल्यांकन शाखा, क्वालिटी चेक गर्ने समितिहरु विभिन्न व्यापारी र सप्लायर्ससँगको साँठगाँठमा बन्ने गरेको आरोप छ । पदाधिकारी र व्यापारीको स्वार्थ अनुकुल हुनेगरी काम गर्ने कर्मचारीहरु ती स्थानमा ल्याइन्छन् । कुनैपनि कर्मचारीले उपकुलपतिले भने अनुसार काम नगर्दा रातारात परिवर्तन गरिन्छ । कर्मचारीहरुलाई आन्तरिक सरुवा गर्नकालागि कर्मचारी नियमावली छ तर, ती नियमावली उपकुलपतिको हकमा लागू भएको पाईंदैन । उनले चाहे अधिकृतलाई पिउन, पिउनलाई अधिकृत बनाउन सक्छन् । रातारात आफ्ना, मन्त्रीका आसेपासेहरु भर्ती गर्न सक्छन् । जसले उपकुलपतिका अघिल्तिर राजामहाराजाको पालामा जस्तो ‘दाम’ चढाउन सक्छ त्यो नै उपकुलपतिको प्यारो बन्दछ । उपकुलपतिले दिनलाई रात भन्दा ‘हो हजुर !’ भन्नेहरुले स्यावासी पाउँछन्, हैन भन्नेले ‘कठबाँस’ प्रतिष्ठान विग्रनुमा सबैभन्दा ठूलो भूमिका यस्तै परिपार्टीको छ ।

प्रतिष्ठानको ऐनले चारै जना पदाधिकारीलाई अधिकार दिएको छ तर, उपकुलपतिले कार्यकारी भएको हैसियतमा आफु अनुकुल काम गर्ने पदाधिकारीलाई काखी च्याप्ने, नगर्नेलाई लत्याउने काम गरेका छन् । आफुले भनेको नमान्ने, ऐन निमायवली विपरित काम गर्नेलाई डा. गिरीले भित्ते पदाधिकारी बनाइदिएका छन् ।

महामानव विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा नेपाल–भारत मित्रताको अनुपम उदाहरण हो वीपी कोइराला प्रतिष्ठान । यसको गरिमा, इज्जत, प्रतिष्ठा जोगाउने काम सरकार र त्यहाँ आसिन पदाधिकारीको हो । तर, डेढ दशक यता प्रतिष्ठानमा आएकाहरुले वीपी कोइरालाको ऐश्वर्यलाई ‘धुजाधुजा’ बनाइरहेका छन् । ‘बाघको छालामा स्यालको रजाईं’ जस्तो लुछाचुँडी गरिरहेका छन् । यसको अन्त्य हुनुपर्दछ ।

प्रतिष्ठानभित्र सुद्धिकरण अपरिहार्य छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मौनताले उहाँकै नियतमाथि बारम्बार प्रश्न उठिरहेको छ । देशव्यापी रुपमा प्रतिष्ठान सुद्धिकरणको अभियान चलिरहेको बेला मुलुकको कार्यकारी किन मौन ? तपाईंको मौनताले कतै तपाईंकै निर्देशनमा प्रतिष्ठान सिध्याउने खेल त भइरहेको छैन ? नागरिक अभियान्ताले प्रश्न उठाइहेका छन् । प्रधानमन्त्री ज्यू, चिर निन्द्राबाट ब्यूझँनुहोस् प्रतिष्ठान बचाउनुहोस् ।

- २७ असार २०७८, आईतवार १२:२८ मा प्रकाशित



Kumari Advertisement
top ad