BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

वीपीका उपकुलपति जोगाउन कानुनमन्त्री कार्की सक्रिय, सत्याग्रही डा.केसी प्रतिष्ठानमा

एक्सन खबर
वीपीका उपकुलपति जोगाउन कानुनमन्त्री कार्की सक्रिय, सत्याग्रही डा.केसी प्रतिष्ठानमा

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई जोगाउन नवनियुक्त कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्र बहादुर कार्की सक्रिय भएका छन् ।

हिजोमात्रै शेरबहादुर देउवाको सरकारमा मन्त्री भएका कार्कीले सुनसरीका कांग्रेस नेता तथा प्रतिष्ठानकै कर्मचारी कल्याण समाजका पदाधिकारीलाई फोन गरेरै उपकुलपतिलाई जोगाउनु पर्ने अरुको चासो नगर्न निर्देशन दिएको श्रोतको दावी छ ।

मन्त्री कार्कीले प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानको कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापा लगायत धरानका कांग्रेसीलाई फोनै गरेर आफु सरकारमा गएको र अब पहिलो प्राथमिकता उपकुलपति जोगाउनु पर्ने भनेको स्रोतको दावी छ ।

सुनसरीबाट नवनियुक्त मन्त्रीलाई बधाई दिन आएका केही व्यक्तिहरुले समेत अन्य पदाधिकारीको मतलव छैन, उपकुलपतिलाई जोगाउँ, हाम्रै फेवरमा चल्छन् भनेको श्रोतको दावी छ ।

उपकुलपति डा. गिरी र मन्त्री कार्कीको खास मित्रता रहेको छ । विगतमा मन्त्री कार्कीले प्रतिष्ठानको श्रोत साधन चरम दुरुपयोग गरेको चर्चा छ । डा. राजकुमार रौनियार प्रतिष्ठानको उपकुलपति हुँदा ज्ञानेन्द्रबहादुर कार्की दर्जनौं कार्यकर्ता सहित पटक–पटक प्रतिष्ठानको गेस्ट हाउसमा बस्ने, प्रतिष्ठानमा आफ्नो निर्वाचन क्षेत्रका मान्छेलाई जागिर लगाई दिने तथा अन्य साधन श्रोत प्रयोग गर्ने गर्दथे ।

मन्त्री कार्कीले डा. गिरीलाई बोक्नुमा उनको प्रतिष्ठानका पूर्वउपकुलपति डा. शेखर कोइराला तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापा विच राम्रो सम्बन्ध छैन । डा. गिरीलाई संरक्षण गरेर डा. शेखर र गगन थापासँग रिसिइवी साँध्ने कार्कीको रणनीति रहेको बुझिएको छ ।

भ्रष्टाचार, अमियमितता र प्राज्ञिक योग्यतामा प्रश्न उठेपछि सर्वत्र आलोचित उपकुलपति डा. गिरीलाई जोगाउन कानुनमन्त्री नै सक्रिय भएपछि प्रतिष्ठानमा सुद्धिकरणको नारासहित ३० दिनदेखि चलेको आन्दोलन समेत तुहिने संभावना देखिएको छ । यद्यपि, प्रतिष्ठानमा आन्दोलनरत पक्षले कुनैपनि हालतमा उधारो सहमति नगर्ने रणनीति अपनाउँदै प्रधानमन्त्री स्तरीय वार्ताटोलीको माग गरेका छन् ।

सत्याग्रही डा. केसी वीपी प्रतिष्ठानमा

सत्याग्रही डा. गाेविन्द केसी, संयुक्त संघर्ष समितिका पदाधिकारीसँग

चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग गर्दै सक्रिय सत्याग्रही डा. गोविन्द केसी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् ।

प्रतिष्ठानमा ३० दिनदेखि निरन्तर जारी आन्दोलनमा ऐक्यवद्धता जनाउन डा. केसी धरान पुगेका हुन् । देशव्यापी रुपमा प्रतिष्ठान सुधारको आन्दोलन चलिरहँदा सरकार मुकदर्शक भएको अवस्थामा डा. केसी धरानमै गएर आन्दोलनरत पक्षसँग जोडिएपछि प्रतिष्ठानको आन्दोलन अझै बलियो भएको छ ।
डा. केसीले प्रतिष्ठानका भ्रष्ट पदाधिकारीको राजिनामा माग गरेका थिए । उनले प्रतिष्ठान तथा विश्वविद्यालयहरुमा हुने नियुक्तिको मापदण्ड सुधारको कुरा पनि उठाइरहेका छन् । डा. केसी आफैं धरान आएपछि आन्दोलनरत पक्षले डा. केसीको उपस्थितिले प्रतिष्ठान सुधार्न बल पुग्ने बताएका छन् । सरकारले प्रतिष्ठान सुधार्न ठोस पहल नगरे डा. केसीले आमरण अनसन बस्ने घोषणा गरिसकेका छन् ।

प्रधानमन्त्रीलाई ४८ घन्टे अल्टिमेटम

यता प्रतिष्ठान शुद्धीकरण अभियान चलाइरहेको संयुक्त संघर्ष समितिले आफ्ना मागहरुको सम्बोधन गरी कार्यकालको सुरुआत गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । संघर्ष समितिले आज विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा बिगत ३० दिनदेखि आन्दोलनमा रहेकाहरुको माग सम्बोधन गरी कार्यकाल सुरुआत गर्न प्रधानमन्त्रीलाई अपिल गरेको हो ।

उनीहरुले प्रधानमन्त्री नियुक्त भएको ४८ घण्टाभित्र आफ्ना मागहरू पूरा नगरिए साउन १ गतेदेखि आकस्मिक तथा कोभिड उपचार नगर्ने लगायतका कार्यक्रम गर्ने चेतावनी पनि दिएका छन् ।

प्रतिष्ठानका पदाधिकारीसँग वार्ता हुन नसक्ने अवस्था बनेको भन्दै संघर्ष समितिले कुलपतिको हैसियतले प्रधानमन्त्रीको हस्तक्षेपकारी भूमिका अत्याश्यक रहेको जिकिर गरेका छन् । यसअघि केपी शर्मा ओली सरकारले प्रतिष्ठानको आन्दोलनमा कुनै चासो दिएको थिएन ।

‘आफ्नो पदीय जिम्मेवारी पूरा गर्न असक्षम, पटक पटक मौखिक र लिखितरुपमा जाहेर गरेका प्रतिबद्धता पूरा गर्न नसक्ने एवम् आचरण, अनुशासन, नैतिकता स्खलन हुने कार्य गर्ने वा गरिएका कार्यलाई ढाकछोप गर्न खोज्नेजस्ता कारण प्रतिष्ठानका पदाधिकारीहरुलाई एक मिनेट पनि उक्त पदमा बस्ने अधिकार नरहेकोले तत्काल नैतिकताका आधारमा राजीनामा दिई मार्ग प्रशस्त गर्न हामीले सार्वजनिक रुपमा आव्हान गरिसकेको र १५ गते घटेको घटनाको परिप्रेक्ष्यमा प्रतिष्ठानका पदाधिकारीसङ्ग वार्ता हुन नसक्ने हुनाले कुलपतिको हैसियतले सम्माननिय प्रधानमन्त्री ज्युको हस्तक्षेपकारी भूमिका अत्याश्यक रहेको छ’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री देउवा नियुक्त भएको ४८ घण्टाभित्र आफ्ना मागहरू पुरा नगरिएमा श्रावण १ गते शुक्रबारबारदेखि हरेक दिन बिहान ८–१० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार र पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरुबाहेकका सम्पूर्ण सेवाहरूमा सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, विद्यार्थी लगायत सबै उपस्थित हुन नसक्ने कदम चाल्न बाध्य हुने भनिएको छ ।

आफूहरुको कदमलाई पनि नजरअन्दाज गरिएमा निकट भविष्यमै आकस्मिक सेवा बाहेक सबै सेवामा पूर्ण रुपले सहभागी हुन नसक्ने संघर्षसमितको भनाइ छ ।

याे पनि हेर्नुहाेस्

मिति: २०७८/०३/३०
सम्माननीय प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवा ज्यू ,
नवनियुक्त प्रधानमन्त्री हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ । प्रधानमन्त्री ज्यूको सफल कार्यकालको सुरुवात वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बिगत ३० दिनदेखि आन्दोलनमा रहेका सम्पूर्ण विद्यार्थी,कर्मचारी, फ्याकल्टीहरु सम्मिलित “वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान”का मागहरूको सम्बोधन गरी शुरुवात होस् भनी सादर अनुरोध एवम् अपिल गर्दछौं ।
यस शुद्धीकरण अभियानले देशकै शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम दलीय स्वार्थ अभिप्रेरित हुने र भ्रष्टीकरण हुने प्रवृत्तिको बिरुद्ध नागरिक समाज, राजनितिक दल र सर्वसाधारण लगायत सबै पक्षहरूलाई एक ठाउँमा ल्याएको छ । सबैले, सशक्त रुपमा आवाज उठाउँदै, देशका विभिन्न स्थानमा निरन्तर प्रदर्शन भइरहेको पनि स्मरण गराउन चाहन्छौं।
आफ्नो पदीय जिम्मेवारी पूरा गर्न असक्षम, पटक पटक मौखिक र लिखितरुपमा जाहेर गरेका प्रतिबद्धता पुरा गर्न नसक्ने एवम् आचरण, अनुशासन, नैतिकता स्खलन हुने कार्य गर्ने वा गरिएका कार्यलाई ढाकछोप गर्न खोज्नेजस्ता कारण प्रतिष्ठानका पदाधिकारीहरुलाई एक मिनेट पनि उक्त पदमा बस्ने अधिकार नरहेकोले तत्काल नैतिकताका आधारमा राजीनामा दिई मार्ग प्रशस्त गर्न हामीले सार्वजनिक रुपमा आव्हान गरिसकेको र १५ गते घटेको घटनाको परिप्रेक्ष्यमा प्रतिष्ठानका पदाधिकारीसङ्ग वार्ता हुन नसक्ने हुनाले कुलपतिको हैसियतले सम्माननिय प्रधानमन्त्री ज्युको हस्तक्षेपकारी भूमिका अत्याश्यक रहेको छ ।
हामीले उठाएका बिषयहरुमा निम्न अडानहरु यथावत् रहेको र सोको सम्बोधन नभएसम्म आन्दोलनबाट पछि नहट्ने कुरा पुन: स्पष्ट पार्न चाहन्छौ ।
१. वी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भएका भनिएका सम्पूर्ण अनियमिता, भ्रष्टाचार, वेथिति र राष्ट्रियस्तरका बिभिन्न पत्रपत्रिकामा उठेका मुद्दाहरुलाई सम्बोधन गर्न शक्तिशाली, उच्च – स्तरीय छानबिन आयोग गठन गरिनुपर्ने र उक्त छानबिनबाट दोषी देखिएकालाई तत्काल कार्वाही प्रक्रिया अघि बढाउने । उक्त छानबिन आयोगमा हाम्रा प्रतिनिधि, स्वास्थ्य, अर्थ, शिक्षा मन्त्रालय, लगायत प्रतिष्ठानका पूर्व पदाधिकारी र अन्य बिज्ञसमेत प्रतिनिधि संलग्न हुनुपर्ने ।
२. ४८ घण्टाभित्र प्रधानमन्त्री तहबाटै सचिवस्तरीय वार्ता कमिटि गठन गर्नुपर्ने ।
३. अब उपरान्त प्रतिष्ठानमा र विश्वविद्यालयमा हुने पदाधिकारीको नियुक्ति यस अघि नै विज्ञहरुले बुझाईसकेको प्रतिवेदनलाई मुख्य आधार बनाई “पदाधिकारी छनोट- प्रोटोकल” सार्वजनिक गर्ने। छनौट भएका हरेक पदाधिकारीले प्रतिष्ठानमा हाजिर हुनुपूर्व, छनोट हुँदाको बखत पेश गरेको ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने । हरेक ६-६ महिनामा उनीहरुको सार्वजनिक रुपमा कार्यसम्पादन मुल्यांकन गर्नुपर्ने र सन्तोषजनक नपाइएमा कारबाही गरिनुपर्ने ।
४. यो पत्रसंगै समाबेश गरिएका १२ बुँदे मागहरुको सुक्ष्म अध्ययन र अनुसन्धान सहित स्पष्ट खाकासहित अल्पकालीन वा दीर्घकालीन कार्ययोजना अनुरुप वार्तामा उपस्थित हुने र सो कुरा समयसीमा तोकी कार्यान्वयन गर्नुपर्ने।
५: गत असार १५ गते घटेको घटनाको निष्पक्ष जाँच गर्ने। दोषी देखिएमा कारवाही गर्ने। प्राध्यापक भए नभएको सत्यतथ्य जानकारी गराउने।
संविधानले समेत सुनिश्चित गरेको मौलिक हक अन्तर्गतको शिक्षा र स्वास्थ्यलाई सरकार र राजनीतिक नेतृत्व आफैँले प्रत्याभूति गराउनुपर्नेमा, उल्टै सरोकारवालाले उठाएको मागलाई समेत वेवास्ता गर्नुले हामीलाई निराश र आक्रोशित तुल्याएको छ। ३० दिनदेखि निरन्तर आन्दोलन चलिरहँदा पनि हाम्रा मागहरूको उचित सम्बोधन गर्ने तदारुपता नदेखाउँदा आन्दोलनलाई अझ कडा बनाउन बाध्य भएका छौँ ।
प्रधानमन्त्री नियुक्त भएको ४८ घण्टाभित्र हाम्रा मागहरू पुरा नगरिएमा मिति २०७८ श्रावण १ गते शुक्रबारबारदेखि हरेक दिन बिहान ८-१० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार र पूर्व निर्धारित परिक्षाका कार्यक्रमहरुबाहेकका सम्पूर्ण सेवाहरूमा हामी सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, विद्यार्थी लगायत सबै उपस्थित हुन नसक्ने कदम चाल्न बाध्य हुनेछौँ । यदि यस कदमलाई पनि नजरअन्दाज गरिएमा निकट भविष्यमै आकस्मिक सेवा बाहेक सबै सेवामा पूर्ण रुपले सहभागी हुन नसक्ने जानकारी गराउन चाहन्छौं ।
यसबाट उत्पन्न हुने सम्पूर्ण अकल्पनीय परिस्थितिको जिम्मेवारी कुलपति तथा प्रधानमन्त्री स्वयमले लिनुपर्ने पनि जानकारी गराउन चाहन्छौँ । हाम्रो धैर्यता र सुझबुझलाई कमजोरी ठानी, तत् तत् समस्या समाधानमा कदम नचालिएमा अझ कडा आन्दोलनका कार्यक्रम अगाडी ल्याउन बाध्य हुनेछौं। कृपया हामीलाई बाध्य नपारियोस् भनी पुन: स्मरण गराउन चाहन्छौं।
धन्यवाद ।
संयुक्त संघर्ष समिति
वी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान २०७८

- ३० असार २०७८, बुधबार १३:२८ मा प्रकाशित



Kumari Advertisement
top ad