BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

वीपीका डाक्टरहरु आन्दोलनमा उत्रँदा विरामीलाई सास्ती

एक्सन खबर
वीपीका डाक्टरहरु आन्दोलनमा उत्रँदा विरामीलाई सास्ती

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३२ दिनदेखि जारी आन्दोलनले स्वास्थ्य सेवा प्रभावित भएको छ । संयुक्त संघर्ष समितिले आजबाट दैनिक २ घन्टा इमरजेन्सी सेवा वाहेक अन्य सेवाहरु बन्द गर्दा प्रतिष्ठानमा उपचारार्थ आएका विरामीहरु मर्कामा परेका हुन् ।

प्रतिष्ठान सुद्धिकरणको माग गर्दै ३२ दिनदेखि आन्दोलनरत चिकित्सक, नर्स, कर्मचारी, विद्यार्थीहरुको संयुक्त आन्दोलनलाई प्रतिष्ठान तथा सरकारले समेत वेवास्ता गरेका कारण सेवाग्राहीहरु मारमा परेका हुन् । दैनिक तीन देखि चार हजार हाराहारीमा विरामीको भिड हुने प्रतिष्ठानका अधिकांश चिकित्सक, कर्मचारी, नर्सहरु आन्दोलनमा उत्रिएका छन् । हिजोसम्म प्रतिष्ठानको कुनैपनि कामकारवाही प्रभावित नहुने गरी आन्दोलनमा उत्रिएकाहरु आजबाट भने कठोर बनेका छन् ।

चिकित्सक, कर्मचारी र नर्सहरूले सेवा बन्द गर्दा प्रतिष्ठानकाे ओपिडीमा डाक्टरहरूकाे प्रतिक्षामा रहेका विरामी तथा आफन्त । तस्विरः वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानकाे पेजबाट

धनकुटा ४ बाट ९ वर्षीय छोरीको उपचारका लागि एका विहानै धरान आएका राजकुमार खतिवडाले ओपिडीमा डाक्टरहरु नहुँदा देखाउन नपाएको बताए । ‘बन्द छ भन्ने थाहा थिएन, डेढ घन्टा भो बसेको डाक्टरहरु आउनु भएको छैन ।’ उनले भने । प्रतिष्ठानको गाइनो ओपिडीमा भेट भएका मोरङ दाम्राभिट्टा श्रीमतीको उपचारका लागि आएका ४९ वर्षीय मदन श्रेष्ठले भनेको बेला डाक्टर नपाउँदा सास्ती भएको बताए । ‘श्रीमतीको नियमित चेकअपका लागि आएका हौं, अहिलेसम्म डाक्टरहरु आउनु भएन । बेलैमा आएको भए यतिखेर पालो आइसक्थ्यो ।’

सुनसरी इनरुवाबाट आफ्नी ६७ वर्षीय आमाको उपचारमा आएका कमलेश यादवले पनि समयमा डाक्टरहरु नहुँदा अफ्टेरो भएको बताए । सरकारी कर्मचारी यादवले डाक्टरहरु विरामी हेर्न छाडेर आन्दोलनमा उत्रनु दुखःद भएको बताउँदै स्वास्थ्य संस्थाहरुमा आन्दोलन गर्ने अवस्था आउन नदिन सरकार जिम्मेवार हुनुपर्ने बताए । ‘म पनि सरकारी कर्मचारी हुँ, अरुतिर आन्दोलन हुँदा जति असर गर्छ त्यसको दुई गुणा अस्पतालहरुमा हुने आन्दोलनले पार्दछ । डाक्टरहरु नै विरामी जाच्न छाडेर आन्दोलनमा उत्रनु ठिक हैन ।’

त्यसो त देशका सरकारी स्वास्थ्य संस्थाहरुमा सबैभन्दा बढी आन्दोलन वीपी प्रतिष्ठानमै हुने गरेको छ । पछिल्लो १० वर्षयता प्रायः अधिकांश समय प्रतिष्ठानमा कुनै न कुनै विषयमा आन्दोलनहरु भइरहेका छन् । शिक्षक, कर्मचारी, चिकित्सक, विद्यार्थीहरुले पटक–पटक अनेक मागहरु राखि आन्दोलन गर्नुमा व्यवस्थापनकै कमजोरी देखिन्छ ।

0000

‘प्रतिष्ठान सञ्चालनमा आर्थिक कठिनाई छ । समयमा तलब सुविधा नपाउनु ठूलो समस्या हो । त्यसमाथि यहाँ भित्र हुने चरम राजनीतिले पनि प्रतिष्ठानलाई ध्वस्त बनाएको छ । पिउनदेखि प्रोफेसरसम्म राजनीतिक लविङमा नियुक्ति लिएर आउने भएकाले उनीहरु काम भन्दा बढी राजनीति गर्छन् । प्रतिष्ठानको सेवा सुधार्न, गुणस्तरीय शिक्षा दिन कसैको ध्यान जाँदैन ।’ प्रतिष्ठानका एक प्रोफेसर भन्छन् । पछिल्लाे समय काेराेना महामारी यता प्रतिष्ठानकाे सञ्चित घाटा मात्रै सात अर्ब पुगिसक्याे । महालेखा परीक्षकले प्रतिष्ठानकाे बेरूजू मात्रै एक अर्ब बढी देखाइदिएकाे छ ।

प्रतिष्ठानलाई कसरी सुधार्ने, कसरी आत्मनिर्भर बनाउने भन्ने कुनैपनि पदाधिकारीको योजना हुँदैन । १० वर्षयता प्रतिष्ठानमा आएका अधिकांश पदाधिकारीहरु विभिन्न शक्ति केन्द्रहरुमा पैसा बुझाएर वा व्यापारीहरुको स्वार्थमा आएको चर्चा छ । र, प्रतिष्ठानमा आएपछि उनीहरुको पहिलो काम भनेकै कि कमिसन खाने हुन्छ कि व्यापारी पोस्ने । यो आरोप हैन, विगत एक दशकयता पदाधिकारी भएर आएकाहरुको चरित्र, उनीहरुमाथि लागेको भ्रष्टाचारको आरोप तथा रंगेहात घुसकाण्डले प्रमाणित गर्दछ । प्रतिष्ठानका पूर्वपदाधिकारीहरु, बरिष्ठ कर्मचारीहरु समेत भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेका छन् ।

बर्तमान पदाधिकारीहरु पनि निष्कलंक छैनन् । उपकुलपति डा. ज्ञानेन्द्र गिरी तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई चुनाबमा जिताए वापत पुरस्कार पाएर आएका हुन् । अस्पताल निर्देशक, शिक्षाध्यक्ष, रजिष्ट्रार समेत कुनै न कुनै श्रोत प्रयोग गरेरै पदमा पुगेको आरोप छ ।

प्रतिष्ठानका पदाधिकारीहरुको असक्षमताका कारण संस्था धरासायी भएको, प्रतिष्ठानमा भ्रष्टाचार बढेको, पदाधिकारीहरु आफैं कमाउ धन्धामा लागेको भन्दै चिकित्सक, कर्मचारी, विद्यार्थीहरु एक महिनादेखि आन्दोलनरत हुँदा उनीहरुलाई सहमतिमा ल्याउन पदाधिकारीहरुले खासै मेहनत गरेनन् । उपकुलपति डा. गिरीले त भ्रष्टाचार, अनियमितताको कुरा गर्नेलाई नै कारवाही गरी तह लगाउने रणनीति अपनाए । आलोचना सुन्नै नचाहने डा. गिरीकै कारण प्रतिष्ठान अस्तव्यस्त भएकोमा दुईमत छैन ।

अहिले आन्दोलनरत पक्षले पदाधिकारीहरुको रवैया खासगरी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यशैली र हेपाहा प्रवृत्तिका विरुद्ध आन्दोलन चर्काएका हुन् । अहिले डा. गिरीको प्राज्ञिक योग्यतामै प्रश्न उठाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रतिष्ठानभित्र सुद्धिकरण गर्न चारै जना पदाधिकारीको राजिनामा प्रमुख मागका रुपमा उठाएको छ । यसका अलावा प्रधानमन्त्री कार्यालय स्तरीय वार्ता टोलीसँग वार्ता गर्ने आन्दोलनरत पक्षको माग छ ।

सोहि माग बमोजिम आजमात्रै मन्त्रीपरिषद्को कार्यालयबाट सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा आठ सदस्यीय जाँचबुझ समिति गठन गरेको छ । भने, उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षसँग वार्ताका लागि पुनः आब्हान गरेका छन् । यद्यपि, उनीहरुले उपकुलपतिले आफ्ना मागहरुका बारेमा कुनै संवोधन नगरेको भन्दै वार्ता गर्न अस्विकार गरेका छन् ।

पदाधिकारीले राजिनामा गर्लान् ?

यो पल्टको आन्दोलनमा संघर्ष समितिले चारै जना पदाधिकारी, उपकुलपति, अस्पताल निर्देशक, रजिष्ट्रार तथा शिक्षाध्यक्षको राजिनामा मागेका छन् । चारै जना पदीय दायित्व निर्वाह गर्न असक्षम भएको भन्दै संयुक्त संघर्ष समितिले उनीहरुको राजिनामा मागेपनि पदाधिकारीहरु कुनैपनि हालतमा राजिनामा नदिने पक्षमा छन् ।

उपकुलपति डा. गिरीले आन्दोलनकारीलाई सकेसम्म सहमतिमा ल्याउने नभए पेलेर लैजाने रणनीति अपनाएको प्रतिष्ठान श्रोतको भनाई छ । प्रतिष्ठानमा डा. गिरीलाई कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापा तथा अन्य सिनियर कर्मचारीको साथ छ । जुनियर कर्मचारी तथा चिकित्सकहरु भने आन्दोलनरत पक्षसँग रहेका छन् । प्रतिष्ठानका चारै जना पदाधिकारी एकापसमा नमिलिरहेको अवस्थामा यो आन्दोलनले उनीहरुलाई एउटै टोकरीमा ल्याइदिएको छ । अहिले चारै जना पदाधिकारीहरु एकापसको मनमुटाव थाँति राखेर आ–आफ्नो बचाउमा छन् ।

पदाधिकारीहरुलाई सरकारले आफैं हस्तक्षेप गरेर निकाल्न सक्दैन । कारवाही गर्न पनि सरकारसँग ठोस आधार छैन । कुनैपनि आधारविना बर्खास्त गरे भोली अदालत गएर भएपनि उनीहरु पुनः पदमा आउने बाटो छ । बरु उनीहरुले स्वेच्छिक रुपमा राजिनामा दिएर मार्ग प्रसस्त गरे समस्या समाधान हुने सरकारी पक्षको बुझाई छ । ‘बरु कुर्सीमै मर्न तयार होलान्, अनेक स्वार्थमा पदाधिकारी भएकाले स्वेच्छिक रुपमा राजिनामा देलान् भन्ने सकिन्न ।’ प्रतिष्ठानका एक प्राध्यापकको भनाई छ ।

प्रतिष्ठानलाई सुद्धिकरण गर्ने हो भने नियुक्तिका सबै प्रक्रियाहरु परिमार्जन गरेर नयाँ विधि र प्रक्रिया बनाउनु अपरिहार्य रहेको विज्ञहरुको सुझाव छ ।

- १ श्रावण २०७८, शुक्रबार १४:४४ मा प्रकाशित



Kumari Advertisement
top ad