BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

‘मन्टेश्वरीमा पढ्न त क्राइटएरिया हुनुपर्छ भने भिसी बन्न क्राइटएरिया हुनुपर्दैन ?’

एक्सन खबर
‘मन्टेश्वरीमा पढ्न त क्राइटएरिया हुनुपर्छ भने भिसी बन्न क्राइटएरिया हुनुपर्दैन ?’

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स, विद्यार्थी तथा कर्मचारीहरुले आज धरानमा बृहद् सिठी जुलुस निकालेका छन् ।

प्रतिष्ठान सुद्धिकरणको माग गर्दै ३३ दिनदेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले चिकित्सक, विद्यार्थी, नर्स, कर्मचारी तथा नागरिक समाज समेतको सहभागितामा सिठी जुलुस निकालेको हो ।

संयुक्त संघर्ष समितिले शान्तिपूर्ण आन्दोलनको कुरा नसुन्ने बहिरो सरकारलाई जगाउन बृहद् प्रदर्शनसहित सिठी जुलुस निकालेको बताएको छ । सिमसिम पानीमा छाता तथा रेनकोट लगाएर प्रदर्शनमा सहभागीहरुले सिठी बजाइरहेका थिए भने, प्रदर्शनमा धरानका नागरिक समाजले पनि सहभागिता जनाएका थिए ।

सिठी जुलुसपछि आयोजित कोण सभामा बोल्दै संघर्ष समितिका संयोजक डा. सुर्य रिमालले प्रतिष्ठानलाई सुधार्न अब निर्णायक आन्दोलन आवश्यक रहेको बताए । आन्दोलनप्रति देशब्यापी समर्थन जुटेको र भर्खरै गठन भएको सरकारले पनि जाँचबुझ समिति गठन गरेको जानकारी दिँदै प्रतिष्ठान भित्र रहेका विक्रिति विसंगति समाप्त पार्न सबै लाग्नु पर्ने बताए ।

‘वीपी प्रतिष्ठानको सन्दर्भमा लेखिएको देखिएको कुरा मिलिरहेको छैन । हरेक पार्टीहरुका चुनावी घोषणापत्रमा शिक्षा र स्वास्थ्यलाई एक नम्बर बुँदामा राखिएका छन् । देखिएको कुराभने गुटगत स्वार्थ, कुनै एउटा व्यक्ति मन्त्री र मन्त्रीका श्रीमतीहरुको स्वार्थमा पदाधिकारीहरु चयन हुन्छन् त्यो देखिएको कुरा हो । अब लेखिएको र देखिएको कुरा एउटै हुनुपर्छ ।’ संघर्ष समितिका संयोजक डा. रिमालले भने ।

उनले एउटा मन्टेश्वरीमा भर्ना हुन चाहने विद्यार्थीको हकमा त क्राइटएरिया हुने भन्दै प्रतिष्ठानका भिसी र रेक्टर हुन क्राइिटएरिया लागू नगरेको जिकिर गरे ।

शिक्षा र स्वास्थ्य आधारभूत आवश्यक्ता भएकोले त्यहाँ दक्ष पदाधिकारी हुनुपर्ने समितिको भनाई छ । अदक्ष, कमिसन र घुसखोसी मान्छे पठाएर प्रतिष्ठान विगार्न नपाइने डा. रिमालको भनाई छ । ‘अब पदाधिकारीहरु खल्तीबाट आउनु हुँदैन ।’ विज्ञहरुले ३ वटा गाइडलाईन सरकारलाई बुझाइसकेको भन्दै उनीहरुले राजनीतिक पार्टीको झण्डा बोकेर सरकारले पदाधिकारी पठाएको जिकिर गरे ।

प्रतिष्ठानमा मुठ्ठीभर स्वार्थ लिएर आएकाहरुले फाइदा लिइरहेको भन्दै उनले प्रतिष्ठानमा राजनीतिक आस्थाको नामबाट दलहरुले फाइदा लिइरहेको तर्क गरे । प्रतिष्ठानले सबै प्रकारका स्वास्थ्य सेवा सुविधाहरु दिन नसक्नुमा पदाधिकारीहरु नै जिम्मेवार रहेको, पदाधिकारीहरुको स्वार्थ र सेटिङमा भइरहेको भ्रष्टाचारमा इमान्दार चिकित्सक र कर्मचारीहरु बदनाम भएको उनको भनाई छ ।

रिमालले सार्वजनिक संस्थाहरु राजनीतिक भर्ती केन्द्र हुन नहुने पनि बताए । सरकारले वार्ता समिति गठन गरेको जानकारी गराउँदै समिति आएपनि त्यसले आफ्ना मागहरु पुरा नगरेसम्म आन्दोलन नरोकिने जनाए ।

धरान नागरिक दबाव सञ्जालका संयोजक डा. राजेन्द्र शर्माले प्रतिष्ठान बचाउन र सुद्धिकरणको अभियानमा धरानबासीलाई जुट्न आग्रह गरे । उनले प्रतिष्ठानमा भएका सबै समस्याको निराकरण जरैबाट हुनुपर्ने र प्रतिष्ठानको गुमेको शाख फिर्ता ल्याउनु पर्ने बताए ।

कोणसभामा बोल्दै प्रतिष्ठानका जुनियर रेसिडेण्ट सोसाइटीका महासचिव डा. गणेश फुलाराले प्रतिष्ठानमा सबै प्रकारका स्वास्थ्य सेवाहरु सूचारु गर्नपनि सुद्धिकरण अभियान आवश्यक रहेको बताए । प्रतिष्ठानमा क्वालिटीको सेवा प्रदान गर्नका लागि पनि खबरदारी रहेको बताए । ‘यहाँका खोला नाला अतिक्रमण हुँदा धरानबासीहरु उर्लेर जानु भएको छ, विपी प्रतिष्ठानमा भएको विक्रिति विरुद्ध जानु पर्दैन ?’ उनले प्रश्न गरे । प्रतिष्ठान धरानबासीको साझा सम्पत्ति भएको बताउँदै प्रतिष्ठान सुद्धिकरणको अभियान राष्ट्रव्यापी भएको पनि जिकिर गरे ।

प्रतिष्ठान सुद्धिकरणको माग गर्दै ३३ दिनदेखि आन्दोलनरत चिकित्सक, नर्स, कर्मचारी, विद्यार्थीहरुको संयुक्त आन्दोलनलाई सरकारले वेवास्ता गरेका कारण सेवाग्राहीहरु मारमा परेका छन् । दैनिक तीन देखि चार हजार हाराहारीमा विरामीको भिड हुने प्रतिष्ठानका अधिकांश चिकित्सक, कर्मचारी, नर्सहरु आन्दोलनमा उत्रिएका छन् । हिजोबाट इमरजेन्सी सेवा वाहेक अन्य सेवाहरु दैनिक २ घण्टा बन्द हुँदा प्रतिष्ठानमा उपचारार्थ आउने विरामीले सास्ती खेप्नु परेको छ ।

- २ श्रावण २०७८, शनिबार १९:३० मा प्रकाशित

Kumari Advertisement
top ad