BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

वीपीको कोभिड अस्पताल तोडफोड गर्नेहरु भौतिक संरचना बनाईदिने सहमतिमा छुटे

भरतराज शर्मा ‘गोपाल’
वीपीको कोभिड अस्पताल तोडफोड गर्नेहरु भौतिक संरचना बनाईदिने सहमतिमा छुटे

धरान । कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल नै तोडफोडमा उत्रिएकाहरु छुटेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल तोडफोड गर्ने मृतकका आफन्तहरु तोडफोडमा भएको भौतिक संरचनाहरु बनाइदिने सहमति पश्चात छुटेका हुन् ।

इलाका प्रहरी कार्यालय धरानमा स्थानीय जनप्रतिनिधी, अस्पताल प्रशासनसँगको छलफलमा तोडफोडमा भएको भौतिक संरचनाहरु बनाई दिने शर्तमा उनीहरुलाई छाडिएको इप्रका धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

घरकाे वाथरूमकाे वाल लाइनमा लडेर घाइते भएकी धरान १७ की शान्ती तामाङको हिजो अपरान्ह प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसअघी उनलाई धरानकै विजयपुर अस्पतालमा उपचारका लागि लगिएपनि अस्पतालले प्रतिष्ठान रिफर गरेको थियो ।

त्यसपछि मृतक तामाङको उपचारको क्रममा पिसिआर परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि कोभिड अस्पतालमा उपचार थालिएकोमा हिजो दिउसो अपरान्ह मृत्यु भएको थियो । त्यसपछि मृतक तामाङका आफन्तले उपचारमा लापरवाही भएको भन्दै घटनाको छानविन हुनुपर्ने, सिसिटिभी हेर्न दिनुपर्ने भनेका थिए ।

आज मंगलबार अस्पताल प्रशासन र मृतकका आफन्त विच भएको वार्तामा सिसिटिभी फुटेज हेर्न दिने सहमति भएपछि फुटेज हेर्न गएका मृतकका आफन्तले कोभिड अस्पतालको ढोका र झ्यालमा ढुङ्गा प्रहार गर्दै ढोका र झ्यालको सिसा फुटाइदिएका थिए ।

घटनामा केही आफन्तहरुले कोभिड अस्पताल भित्रै प्रवेश गरेर त्यहाँ कार्यरत चिकित्सक तथा नर्सहरुलाई तथानाम गाली गलौज समेत गरेपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो ।

अस्पताल तोडफोड गरेको आरोपमा धरान १७ का सिताराम राई, किरण राई, आकाश श्रेष्ठ, आशा राई, शान्ता खड्का, माया चेम्जोङ, सोनि राई, मदन भुजेललाई सहमति पश्चात छोडिएको छ । इप्रका धरानमा भएको सहमति पछि मृतकको शव आफन्तले लगि सकेका छन् ।

मृतक तामाङको पेटमा चोट लागेको र उपचारको क्रममा कोभिड अस्पतालमा निधन भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जनाएका छन् ।

अस्पताल तोडफोड गर्न ठूलो संख्यामा मृतकका आफ्न्तहरु गएपनि इलाका प्रहरी कार्यालय धराने तत्कालै घटनास्थल पुगी रक्षात्मक भूमिका निर्वाह गरेका कारण कोभिड अस्पतालमा ठूलो क्षति हुन नपाएको भन्दै कोभिड अस्पतालका फोकल पर्सन डा. विकास शाहले धरान प्रहरी धन्यवादको पात्र भएको बताए ।

- ५ श्रावण २०७८, मंगलवार २२:३३ मा प्रकाशित



Kumari Advertisement
top ad