BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

डा. सुनिल शर्माले खरिद गरे नेपालगञ्ज मेडिकल कलेज

एक्सन खबर
डा. सुनिल शर्माले खरिद गरे नेपालगञ्ज मेडिकल कलेज

बाँके । नोबेल शिक्षण अस्पताल सञ्चालक डा. सुनिल शर्माले नेपालगञ्ज मेडिकल कलेज खरिद गरेका छन् । एक वर्षअघि काठमाडाैं मेडिकल कलेज खरिद गरेका डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको आधाभन्दा बढी शेयर खरिद गरेका छन् ।

डा. शर्माले कलेजको ५५ प्रतिशत शेयर स्वामित्व खरिद गरेका हुन् । कलेज श्रोतका अनुसार कलेजको दुई अर्ब मूल्यांकन गरिएको छ । नेपालगञ्ज मेडिकल कलेजको ५५ प्रतिशत शेयर खरिदकालागि सम्झौता भइसकेको छ । आउँदो भदौभित्र सबै प्रक्रिया पुरा हुने बताइएको छ ।

नेपालको मेडिकल शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन ल्याउने अभिप्रायका साथ लगानी गर्दै आएका डा. शर्माले नेपालगञ्ज मेडिकल कलेज खरिद गर्न एक वर्षदेखि लागि परेका थिए ।
भेरी अञ्चलभरीकै जनताका लागि मेडिकल शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेपालगञ्ज मेडिकल कलेजमा डा. सुरेशकुमार कनोडिया ग्रुपको बाहुल्यता रहेको थियो ।

सञ्चालक श्रोतका अनुसार मेडिकल कलेजलाई थप गुणस्तर सेवा प्रदानसँगै स्तरोन्नतीका लागि मेडिकल कलेजको शेयर बिक्री गर्न लागिएको हो । ‘डा. शर्मालाई कलेजको ५५ प्रतिशत शेयर बिक्रीका लागि सहमति भइसकेको छ । अस्पताल नविकरण लगायत केही कागजातहरु तयार पार्न समय लागेको हो, भदौ मसान्त सम्म सबै प्रक्रिया पुरा हुन्छ ।’ कलेज श्रोतको भनाई छ ।

स्वास्थ्य मन्त्रालयमा दर्ता नै नगर सञ्चालनमा रहेको कलेजले विक्री गर्नुपूर्व दर्ताको काम सक्नुपर्ने भएकाले केही ढिलाई भएको देखिएको छ । डा. शर्मा सबै कानुनी तथा प्रशासनिक प्रक्रियाहरु पुरा गरेर कलेज सञ्चालनको तयारीमा छन् ।

कलेजले अस्पताल सञ्चालनका लागि ०७१ असार १ मा स्वास्थ्य मन्त्रालयमा निवेदन दिएपनि हालसम्म दर्ता भएको छैन । मन्त्रिपरिषद्को ०७३ पुस १९ को बैठकले दर्ता र अनुमति नलिई सञ्चालनमा रहेका मेडिकल कलेजहरुले अस्पताल दर्ता र अनुमति लिनुपर्ने निर्णय गरेको थियो ।

कलेजमा चिकित्सक, प्राध्यापक तथा कर्मचारी गरी १२ सय जना कार्यरत छन् । कलेजको आन्तरिक व्यवस्थापन कमजोर हुँदा विगत तीन महिनादेखि स्वास्थ्यकर्मी र कर्मचारीले तलब भत्ता पाउन सकिरहेका छैनन् ।

केही दिनदेखि तलब भत्ताको माग गर्दै उनीहरुले आन्दोलन समेत गरिरहेका छन् । डा. शर्माको प्रवेश सँगै नेपालगञ्ज मेडिकल कलेजले नयाँ उचाई लिने अपेक्षा कार्यरत चिकित्सक, कर्मचारीहरुको रहेको छ ।

कलेजमा एमविविएस, नर्सिङ तथा पिजी कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । सन् १९९६ मा स्थापना भएको कलेजले त्यसको एक वर्षपछि नै एमविविएस कार्यक्रम शुरु गरेको थियो । त्यसपछि नर्सिङ कार्यक्रम चलाएको कलेजले सन् २००७ देखि एमडी/एमएस कार्यक्रम पनि चलाउन थालेको छ ।

कलेजको कोहलपुरमा ७५० वेडको सुविधासम्पन्न अस्पताल सञ्चालनमा रहेको छ भने, नेपालगञ्जमा २५० वेडको अस्पताल रहेको छ ।

- ६ श्रावण २०७८, बुधबार २३:०२ मा प्रकाशित



Kumari Advertisement
top ad