BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

नेपालमै पहिलो पटक केएमसीले सुरू गर्याे ‘रोवटिक सर्जरी’

एक्सन खबर
नेपालमै पहिलो पटक केएमसीले सुरू गर्याे ‘रोवटिक सर्जरी’
[sharethis-inline-buttons]

काठमाडाैं । नेपालमा अब रोवर्टबाट उपचार ! विकासोन्मुख त्यसमाथि स्वास्थ्य सेवामा पछि परेको मुलुकका नागरिकका लागि अचम्मको खबर हो । तर, मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने उद्देश्यका साथ लागि परेका विराटनगरका डा. सुनिल शर्माले काठमाडौं मेडिकल कलेजमा नेपालमै पहिलोपल्ट रोवटिक न्यूरो सर्जरी सेवा सुरु गर्न लागेका छन् ।

गतवर्षबाट डा. शर्माको लगानी र व्यवस्थापनमा आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले मुलुकमै पहिलोपल्ट क्रेनियल रोवर्टबाट न्यूरो सर्जरी सुरु गर्ने भएको हो । केएमसीले सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलो पटक रोवटिक न्यूरो सर्जरी सुरु गर्न लागेको जनाएको छ ।

काठमाडौं मेडिकल कलेजले आज पत्रकार सम्मेलन गरी नेपालमै पहिलोपल्ट न्युरो सर्जरीमा एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरणहरू खरिद गरी जडानसमेत गरिसकिएको जनाएको छ ।

केएमसीलाई सुपरस्पेशियालिटीका रुपमा विस्तार गर्न नेपालमै पहिलोपल्ट न्यूरो सेवामा अत्याधुनिक उपकरण सहितको सेवा सूचारु गर्न लागिएको अध्यक्ष डा. सुनिल शर्माले बताए । यो सेवा दक्षिण एशियामा केएमसी अगाडी भारतको बेङ्लोरमा २ वटा अस्पतालले मात्र ल्याएका छन् ।

‘दक्षिण एशियाली राष्ट्रहरुमा भारतपछि नेपालमा क्रेनियल रोवर्टबाट पहिलो पल्ट न्यूरो सर्जरी शुरु गर्दैछौं । यसले नेपालको न्यूरो सर्जरीमा क्रान्ति ल्याउने अपेक्षा गरेका छौं ।’ डा. शर्माले भने । केएमसीले कोरोना संक्रमण अगाडी नै रोवटिक सर्जरी सेवा सुरु गर्न खोजेपनि लकडाउनले उपकरणहरु ल्याउन ढिलो भएको हो ।

एस ८ स्टिल्थ सिस्टम विथ गाइड मार्फत न्यूरो सर्जरी गर्दा विरामीको मस्तिस्क तथा मेरुदण्डमा रहेका विभिन्न प्रकारका नसाहरु जोगाउन समेत सहयोग पुग्ने छ । ‘शरीरका कुनैपनि भागहरु चलाउन मस्तिस्कमा बेग्लाबेग्लै नसाहरु हुने तथा परम्परागत प्रविधिबाट मस्तिस्कको ट्युमर निकाल्न सर्जरी गर्दा ती नसाहरु काटिनबाट जोगाउन निक्कै चुनौति हुन्थ्यो ।’ केएमसीका वरिष्ठ न्यूरो सर्जन डा. अमित थापाले भने–‘यो पद्दतिबाट न्यूरो शल्यक्रिया गर्दा सानाे प्वाल पारेर मस्तिस्कका कुनैपनि भाग तथा नसाहरुमा नोक्सानी नपुर्याइकन ट्युमर निकाल्न सकिन्छ ।’

एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टम न्यूरो सर्जरीमा कम्प्लिट प्याकेज हो । यसबाट न्यूरो सर्जरी र ढाड तथा मेरुदण्डको शल्यक्रिया गर्दा विरामीले शल्यक्रिया पछि लामो समय अस्पताल बस्ने बाध्यता समेत हटेर जान्छ ।

कुनैपनि सर्जरी गर्दा एक्युरेसी र सेफ्टी महत्वपूर्ण भएको बताउँदै डा. थापाले क्रेनियल रोवर्ट टेक्नोलोजी नेपालको लागि एकदमै महत्वपूर्ण रहेको जिकिर गरे । ‘सानो प्वाल पारेर मस्तिस्कको जुनसुकै भागमा रहेको ट्युमर निकाल्न सकिन्छ । शल्यक्रियामा कम समय लाग्छ, विरामीहरु छिटो डिस्चार्ज हुन्छन् ।’ डा. थापा भन्छन् ।

अहिलेसम्म सर्जनहरुले शरीरका भित्री अङगहरु खासगरी मस्तिस्क, मेरुदण्डहरुको सर्जरी गर्ने बेलामा काल्पनीक थ्रिडी बनाएर काम गर्दथे । तर, केएमसीले भित्र्याएको नेभिगेसन सिस्टमले सर्जनहरुलाई थ्रिडी मनिटरमा ट्युमर कहाँ छ, कुन नसा कहाँ छ जानकारी दिन्छ । जुन ठाउँमा ट्युमर छ सर्जनहरु थ्रिडी मनिटरको माध्यमबाट त्यहीँ पुग्न सक्छन् । यसले मस्तिस्क तथा मेरुदण्डका कुनैपनि शल्यक्रियाहरुको उपचारमा ९५ प्रतिशत सम्म एक्युरेसी हुन्छ । यसअघि अनुमानको भरमा गरिने शल्यक्रियाले ८० देखि ८५ प्रतिशत मात्रै एक्युरेसी दिने गर्दथ्यो ।

केएमसीले ल्याएको रोवर्ट विश्वव्यापी रुपमा न्यूरोलोजी विधामा उपयोग भएको आधुनिक टेक्नोलोजी हो । क्रेनियल रोवर्टले मस्तिस्कमा पाइपहरु, ट्युव्सहरुलाई जुन ठाउँमा पठाउनु पर्ने हो त्यहीँ फिक्स गरेर पुर्याउँछ । ‘यसले मस्तिस्कको भित्री भागको वायोप्सी गर्दा त्यहाँबाट मासुको टुक्रा निकाल्न सहयोग पुग्छ । ट्युमर, छारे रोग, पार्किन्सन गम्भिर प्रकारका रोगहरुको उपचारमा टेवा पुग्ने छ ।’ नशा तथा मेरुदण्ड र हड्डी सम्बन्धी भित्री रोगको उपचारमा सहयोग पुग्ने डा.थापाको भनाई छ ।

केएमसीले भित्र्याएको एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ इन्ट्रा अपरेटिभ न्यूरो सिस्टम हो । यसले शल्यक्रियाको बेलामा विरामी सुतिसकेपछि हात चलाउने, खुट्टा चलाउने, बाेल्ने जस्ता मस्तिस्कका भागलाई सुरक्षा प्रदान गर्न सहयोग गर्दछ । ‘यो पद्दतिमा दिमागको कुन–कुन भागहरुले काम गर्दछन् ती भागहरुलाई बचाएर शल्यक्रिया गर्न सक्छौं ।’ पत्रकार सम्मेलनमा डा. थापाले भने ।

यसअघि मस्तिस्कको कुनैपनि भागको शल्यक्रिया गर्दा अन्य भागहरुमा क्षती पुग्ने संभावना धेरै हुन्थ्यो । विगतमा कतिपय शल्यक्रियाहरु गर्दा कसैको हात खुट्टा नचल्ने, कसैको बोली विग्रने गर्दथ्यो । इन्ट्रा अपरेटिभ न्यूरो सिस्टमले यो समस्याबाट छुटकारा दिएको छ ।

यो सिस्टमले स्पाइनलको शल्यक्रिया गर्दा स्क्रुहरु कहाँ कसरी गइरहेको छ, अन स्क्रिनमै देख्न सकिने पनि भएकोले शल्यक्रिया गर्ने छेउछाउमा रहेका नशाहरु जोगाउन ठूलै सहयोग पुग्ने डा. थापाको दावी छ । केएमसीमा भित्र्याइएको नयाँ टेक्नोलोजी प्रयोग गर्दा उपचारमा ९५ प्रतिशत भन्दा बढी सफलता हात पर्ने भनिएको छ ।

केएमसीले इन्ट्रा अपरेटिभ न्यूरो सिस्टमसँगै नेभिगेटेड ड्रिल समेत भित्र्याएकोमा याे हड्डीहरुमा प्वाल पार्न प्रयोग हुन्छ । यो नेभिगेसन सिस्टमसँग जोडिएकोले चिकित्सकहरुले कुनैपनि हड्डीहरुमा प्वाल पार्दा मनिटरबाटै कसरी ड्रिल भइरहेको छ थ्रिडी स्क्रिनमै हेर्न सक्छन् । यसले दुरविनको सहायतामा गरिने शल्यक्रियाहरुमा सहयोग पुग्ने बताइएको छ ।

यस्तै केएमसीले भित्र्याएको अर्को नविनतम सिस्टम हो एमआईएसएस सिस्टम । यो स्पाइनको कम्प्लेक्स सर्जरीहरुमा प्रयोग गरिन्छ । यी सबै अत्याधुनिक उपकरणहरुको प्रयोगबाट शल्यक्रिया गरेको विरामीलाई त्यहि दिनमा वेडबाट उभ्याएर हिँडाउन सकिने डा. थापाको दावी छ । ‘स्पाइन सर्जरीको विरामीलाई सबैभन्दा ठूलो डर कहिले ठिक हुन सकिन्छ, घर जान पाइन्छ भन्ने हुन्छ । अब विरामीहरुलाई शल्यक्रिया गरेको भोलीपल्टै घर पठाउन सकिन्छ ।’

केएमसीले नयाँ व्यवस्थापन आएसँगै आउँदा दिनहरुमा न्यूरो सर्जरी, युरोलोजी र साइत्रेटिकलाई एउटै सेन्टरमा राखेर एड्भान्स न्यूरो सेन्टर बनाएर काम गर्ने योजना बनाएको छ । ‘केएमसी आउने विरामीहरु न्यूरोलोजी, युरोलोजी, साइक्रेटिक डाक्टर भेट्ने भनेर आउनु पर्दैन । रोग मात्र बोकेर आउँदा हुन्छ ।’ विरामीलाई सम्बन्धीत विज्ञहरुले सिधै उपचार मात्र गर्दैनन् त्यो रोगसँग सम्बन्धीत अन्य विशेषज्ञहरुको टीम मिलेर उपचार गर्ने डा. थापाको भनाई छ ।

केएमसीमा न्यूरो सर्जन डिपार्टमेन्टमा ४ जना एमसिएच न्यूरो सर्जनहरु रहेका छन् । केएमसीको न्यूरो सर्जरीबाट अहिले सम्म ६ हजार बढीले उपचार पाइसकेका छन् । केएमसीले अमेरिकाबाट करिब १० करोडको लागतमा रोवटिक सर्जरी उपकरण ल्याएको हो ।

केएमसीले भित्र्याएको विश्वस्तरीय उपकरणले जटिल तथा गम्भिर प्रकारका रोगहरुको उपचारमा विदेश जानुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ ।

पुनः सम्पादन गरिएकाे

- २१ श्रावण २०७८, बिहीबार १९:१४ मा प्रकाशित

Kumari Advertisement
top ad