BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

आमाको खोप (कथा)

नारायण मरासिनी
आमाको खोप (कथा)
[sharethis-inline-buttons]

सधैँको जस्तै बेलुकाको खाना खाएपछि फेसबुक खोलेर हेर्दै थिएँ, वडा कार्यालयले पैँसट्ठीदेखि सत्तरी वर्षसम्मको उमेर समूहलाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप लगाउने सूचना राखेको रहेछ । मेरो वडाका वडाध्यक्ष मसँग फेसबुकमा साथी थिए । सूचना तिनै वडाध्यक्ष्यमार्फत प्रवाहित थियो । राज्यले यसभन्दा पहिल्यै स्वास्थ्यकर्मी, कर्मचारी र सत्तरी वर्षभन्दा माथिका वृद्धवृद्धाहरूलाई खोपको व्यवस्थापन गरिसकेको थियो र यसपटक भने पैँसट्ठीदेखि सत्तरी वर्षसम्मको उमेर समूहलाई लक्ष्य बनाएको थियो ।

उल्लिखित उमेर समूहमा मेरी आमा पर्नुहुन्थ्यो । मेरो परिवारमा लक्ष्यित समूहअन्तर्गत आमालाई खोप लगाउन पाइने भयो । वडाध्यक्षले समयमै जानकारी दिएकोमा खुसी लाग्यो । खोप लगाउनका लागि भोलि र पर्सि गरी दुई दिनको समय रहेछ । जनप्रतिनिधिले सूचना प्रवाहित गरेर आफ्नो वडावासीहरूको स्वास्थ्यमा ध्यान पुर्याएकामा वडाध्यक्ष लगायत अन्य सम्बन्धित प्रतिनिधिहरूलाई पनि मनमनै धन्यवाद दिएँ र आमालाई भोलि नै खोप केन्द्रमा लगेर खोपाउने सोच बनाएँ ।

मेरी आमा गाउँमै बस्नु भएको थियो । पछिल्लो समय बुबा बितेपछि गाउँमा एक्लै बस्ने अवस्था रहेन । उमेर अवस्थाले पनि अशक्त बनाउँदै गएपछि उहाँ सहरमा आएर हामीसँगै बस्न थाल्नु भएको थियो । आमा यहाँ आएर हामीसँग बस्न थालेको लगभग पाँच वर्ष जति भएको थियो ।

आमा उनन्सत्तरी वर्षकी हुनुभएको थियो । कोरोना समुदाय स्तरमा व्यापक रूपमा फैलँदै गएको थियो । सङ्क्रमणको समय, हामी बढी नै सजग थियौँ । निकै होसियारीपूर्वक सुरक्षा सतर्कता अपनाएर काममा निस्कन्थ्यौँ र काम गर्थ्यौं । तर आमाले सुरक्षा सतर्कता अपनाएर काम गर्न त्यति दोहोर्नुहुँदैनथ्यो । यसबाट भने हामी अलि बढी नै चिन्तित थियौँ । परिवारमा एक जनालाई मात्र लक्षण देखिए पनि अन्य सदस्यलाई समेत सर्ने सम्भावना बढी भएकाले हामी चिन्तित हुनुपरेको थियो ।

आमाले यहाँ पनि गाउँमा रहँदा जस्तै व्यवहार गर्नुहुन्थ्यो । सहरमा आएर यतिका समय बसिसकेपछि पनि गाउँमा अभ्यस्त बानीव्यवहारलाई च्वाट्टै छोड्न सक्नुभएको थिएन । गाउँमा रहँदा वल्लो घर, पल्लो घर, छरछिमेक जताततै डुलिरहने मान्छे; मेलापात, दाउराघाँस जता पनि हुलै बाँधेर हिँड्ने चलन । अझ दिनभरिको कामबाट बेलुका घर फर्केपछि पनि खाना खाइवरी जुठोभाँडो सकेर निद्रा नपरुन्जेलको समय गफै लडाएर बस्नुहुन्थ्यो ।

यहाँ आएपछि सुरुसुरुका वर्षमा त उहाँलाई स्थिर भएर घरमै बस्न पनि गाह्रो भयो । सुरुसुरुमा वरिपरि छरछिमेकमा चिनजाका मान्छे कम हुनाले पनि उहाँलाई गाह्रो परेको थियो । तर पछिपछि भने यहाँ पनि वल्तिर पल्तिर बस्ने आफ्नो उमेर समूहका वृद्धाहरूलाई साथी बनाएर झ्याम्मिन र गफ्फिन सुरु गर्नुभएको थियो । कहिले आफै उनीहरूको घरमा पुगेर दिनभरि बस्नुहुन्थ्यो भने कहिले तिनै छिमेकीलाई आफ्नै घरमा बोलाएर दिन बिताउनुहुन्थ्यो । आमालाई टिभी हेर्न, रेडियो सुन्नमा खासै रुचि थिएन । बेला बेलामा भन्नुहुन्थ्यो, “अब बुढेसकाल लाग्यो, के गर्नी त नि; उही दुःखसुखका कुरा गर्नी, दिन कटाउँदै काल पर्खनी त हो !”

कोरोनाले टोलका धेरै मानिसलाई समात्न थाल्यो । महामारीले छोप्दै ल्याएपछि मान्छेरु घरभित्रै बस्न थालेका थिए । कसलाई यो रोग लागेको छ, कसलाई लागेको छैन; पत्तो पाइँदैनथ्यो । दिनदिनै जसो एम्बुलेन्स आएर बिरामी ओसारेको हुन्थ्यो । एम्बुलेन्स आएपछि मात्रै हामीलाई उक्त घरमा बिरामी रहेछ भन्ने पत्ता लाग्थ्यो । लक्षण देखिएका कतिपय मान्छेहरू आफ्नै घरको छततिर टहलिएका देखिन्थे । टोलका अधिकांश मानिसहरू त अझ रोग लुकाएर पनि बसेका थिए ।

अवस्था भयावह भएपछि हामीले आमालाई घरबाट बाहिर निस्कनमा बन्देज लगाएका थियौँ । “मुखमा मास्क लगाएर हिँडेपछि त केही हुन्न भो, यसरी मलाई किन थुन्न पर्यो ?” आमा हामीसँग प्रतिवाद गर्नुहुन्थ्यो र अझ थप्नुहुन्थ्यो, “तिमीहरू जति बेला पनि निस्किरहन हुने, म चाहिँ नहुने ?” घरअगाडिको बाटामा अरु मान्छेहरू हिँडेका अवस्थामा तिनीहरूलाई देखाउँदै भन्नुहुन्थ्यो, “तिनीहरू पनि हिँडिरा’कै छन् त !” हामी तरकारीसरकारी वा घरमा सकिएको सामान किन्न भनेर बाध्यतावस निस्कनै पर्ने हुन्थ्यो । त्यति मात्र नभई कहिलेकाहीँ जागिरमा निस्कन पनि हामी बाध्य थियौँ । काम नगरी मुखमा माँड लाग्ने अवस्था थिएन यसर्थ बाहिर निस्कनु हाम्रो बाध्यता थियो । हाम्रो बाध्यतालाई आमाले बुझ्नुभएको थिएन वा बुझेर पनि बुझ पचाउनुभएको थियो, म यसै भन्न सक्दिन ।

हामी घरमा नभएको मौका छोपेर बेला बेलामा छिमेकीका घरमा गई गफ्फिएको थाहा पाएपछि मैले पटक पटक आमालाई राम्रोसँग सम्झाएको पनि थिएँ । बुढी मान्छेलाई चर्को बोल्दा छोराबुहारीले सहेनन् भन्ने पो पर्छ कि ! गाली गर्न त झनै भएन । निकै नरम भाषामा उहाँलाई कोरोनाको महामारी नसकिएसम्म अरुको घरमा जानुहुँदैन भनेर सल्लाहा दिएको थिएँ । चारैतिर कोरोनाको जगजगी छ, मान्छे बाँच्न र बचाउनै कठिन । आमालाई कसरी जोगाउने ? हामीलाई चिन्ता यसैमा छ ।

हामी त बरु जानेबुझे सम्मको सुरक्षा सतर्कता अपनाएर निस्कन्थ्यौँ र सकेसम्म जोगिएरै काम गथ्र्यौं । जोगिँदाजोगिँदै पनि समात्यो भने त कसको के लाग्यो र ! तर आमाले भने मास्क लगाउन पनि झ्याउ मान्नुहुन्थ्यो । “मलाई यो मास्कको टालो त गोरुको मुखाँ कोर्को झुन्ड्याएजस्तो पो लाग्न थाल्यो”, आमा भन्नुहुन्थ्यो । आमाले यसो भन्दा मैले आफू सानो छँदा आँगनमा कोदाको दाइँ हाल्दाको घटना सम्झन्थेँ– गोरुहरूले कोदो नखाऊन् भनेर हामी तिनीहरूका मुख टम्म ढाकिने गरी कोर्को बाँधिदिन्थ्यौँ र घुम्दै गर्दा तुक्र्याउन थाले भने रोकेर हत्तपत्त कोपरा थाप्थ्यौँ । अलि बढी जहानपरिवार र बल हुनेहरूका घरमा लौराले कोदो ठटाउँथे तर हाम्रो घरमा भने कोदो जतिसुकै होस्, दाइँ नै हाल्ने चलन थियो ।

आमाले मास्क मिलाएर लगाउनुहुन्नथ्यो । प्रायः नाक खुल्लै राखेर मुख मात्रै छोप्नुहुन्थ्यो । घरमा सेनिटाइजरको व्यवस्था थियो । सेनिटाइजरको प्रयोगमा पनि त्यति ध्यान दिनुहुन्नथ्यो । हामीले कराउन थालेपछि बेला बेलामा साबुनपानीले हात चाहिँ धुनुहुन्थ्यो ।

आमालाई खोप नलगाई भएको थिएन । सत्तरी वर्षभन्दा माथिका वृद्धवृद्धाहरूलाई राज्यले यसभन्दा पहिल्यै खोप लगाउने काम गरिसकेको थियो । यति बेला भने मेरै आमाको उमेर समूहकालाई खोप लगाउने भनेर वडा कार्यालयले स्थानको समेत जानकारी दिई सूचना निकाल्यो । यसपटकको खोप पैँसट्ठीदेखि सत्तरी वर्षसम्मको उमेर समूहका वृद्धवृद्धाहरूलाई वडाकै स्वास्थ्य चौकीमा लगाउने भनेर सूचनामा उल्लेख थियो ।

भोलिपल्ट बिहान खाना खाएपछि साढे नौ बजेतिरै म आमालाई लिएर स्वास्थ्य चौकीतिर हिँडेँ । मेरो घरबाट स्वास्थ्य चौकी पैदल बिस मिनेटको दुरीमा थियो । अशक्त आमालाई हिँडाएर लैजाँदा मलाई लगभग पैँतालिस मिनेट लाग्यो । हामी आमाछोरा त्यस्तै सवा दस बजेतिर स्वास्थ्य चौकीमा पुग्यौँ । वैशाख–जेठको समय, गर्मी खपिनसक्नु थियो । मान्छेहरूको भिड उस्तै । वृद्धवृद्धाहरू भन्दा पनि अधबैँसे तथा युवायुवतीहरू बढी थिए । बिहानैदेखि आएर लाइन बसेका रहेछन् । लाइन निकै लामो थियो । लाइन पनि महिला र पुरुषको छुट्टाछुट्टै । लाइनमा लक्ष्यित समूहका बुढाबुढीहरू कम र अधबैँसेहरू बढी थिए । बुढाबुढीहरूलाई चर्को घाममा उभिन गाह्रो थियो त्यसैले सायद् उनीहरूको सट्टामा छोराबुहारी वा आफन्तहरू बसिदिएका थिए । भिड नियन्त्रणमा थिएन । मानिसहरूका बिच एकापसमा निश्चित दुरी कायम भएको थिएन । त्यहाँ प्रहरी प्रशासनको उपस्थिति थिएन । वडाध्यक्ष लगायत केही जनप्रतिनिधिहरूको भने उपस्थिति थियो र तिनीहरूले भिडभाड नगर्नुस्, दुरी कायम गरेर बस्नुस् पनि भनिरहेका थिए तर भिडले तिनीहरूको कुरा सुनिरहेको थिएन । भिडभन्दा केही पर बसेर मैले यी सबै दृश्य नियालिरहेको थिएँ । स्वास्थ्य चौकीको प्राङ्गण छेउमा केही शिशौका रुखहरू थिए र हामी आमाछोरा एउटा शिशौको छहारी लिएर पर्खालको आडमा बसेका थियौँ ।

वडाध्यक्ष घुम्दैफिर्दै हामी आमाछोरा बसेकै ठाउँनेर आइपुगे । मैले नमस्कार गरेर आमालाई खोपाउन आएको कुरा बताएँ । उनले आज बाँकी रहेकालाई भोलि पनि खोपाउनका लागि व्यवस्था गरिएको छ भन्ने सुनाए । भोलि भिड अलि कम हुन सक्छ भन्ने कुरा पनि गरे । भोलि खोप लगाउन पाइन्छ भने आज दिनभरि यो टन्टलापुरे घाममा किन बसिरहने ? यस्तो भिडभाडमा धेरै समय बस्नु स्वास्थ्यका लागि पनि खतरा हुन्छ भन्ने लाग्यो । चार बजेसम्म मात्रै खोप लगाउने भनेर स्वास्थ्यकर्मीहरूले भनेका छन् । लाइनमा चार बजेसम्म बसेर पनि खोप लगाउन पाइएन भने त यस्तो खतराजन्य ठाउँमा बस्नुको पनि कुनै अर्थ रहँदैन । बरु भोलि बिहान सबेरै आउनुपर्ला भन्ने सोचेँ र आमालाई खोप नलगाई लिएर फर्केँ ।

अर्को दिन बिहान चिया मात्रै पिएर आमालाई लिई स्वास्थ्य चौकीतिर लागेँ । म आठ बजेतिर त्यहाँ पुग्दा उही हिजोको जस्तै महिला र पुरुषका छुट्टाछुट्टै दुई लाइन । लाइन निकै लामा भइसकेका रहेछन् । स्वास्थ्यकर्मीहरू दस बजे मात्र त्यहाँ उपस्थित हुनेवाला थिए तर लाइनको सुरुसुरुमा बस्ने मानिसहरू बिहान छ नबज्दै आइपुगेका रहेछन् । भिड बढिसकेको रहेछ, म धेरै ढिला भएको रहेछु । लाइन नबसी सुखै थिएन । आमालाई उही हिजो बसेकै ठाउँ पर्खालको आडमा बस्न लगाएर म लाइनको अन्तिममा उभिन पुगेँ । दस बजेसम्ममा मभन्दा पछाडि पनि उत्तिकै लामो लाइन बनिसकेको थियो ।

ती केटाहरू आएपछि लाइन अस्तव्यस्त हुन पुग्यो । केटाहरूले पुनः लाइन मिलाउने भन्दै आफ्ना मान्छेहरूलाई अगाडि अगाडि राख्न थाले । हामी केहीले प्रतिवाद गरेका थियौँ तर उनीहरूले हाम्रो कुरै सुनेनन् ।

सवा दस तिरबाट स्वास्थ्यकर्मीहरूले खोप लगाउने कामको सुरुवात गरे । त्यहाँ टाउकामा रातो टालो बाँधेका केही केटाहरू देखिए । तिनीहरूले टाउकामा बाँधेको टालामा ‘स्वयंसेवक’ लेखिएको थियो र स्वयंसेवक लेखिएभन्दा पछाडि सेतो ताराको चिन्ह थियो । सायद् ती केटाहरू वडाध्यक्षकै पार्टीको भातृ सङ्गठनमा आबद्ध थिए ।

सुरुको डेढ घन्टा जति त सिस्टमअनुसार नै लाइनले गति लिएको थियो तर पछि पछि भने लाइन क्रमशः अव्यवस्थित हुन थाल्यो । लाइनमा अगाडि अगाडि गएर मान्छेहरू घुस्न थाले । केही मान्छेहरू पछाडिको ढोकाबाट पनि घुसेका छन् भन्ने समेत सुनियो । ती स्वयंसेवक केटाहरू नआउँदासम्म सबै ठिक थियो । ती केटाहरू आएपछि लाइन अस्तव्यस्त हुन पुग्यो । केटाहरूले पुनः लाइन मिलाउने भन्दै आफ्ना मान्छेहरूलाई अगाडि अगाडि राख्न थाले । हामी केहीले प्रतिवाद गरेका थियौँ तर उनीहरूले हाम्रो कुरै सुनेनन् । लाइन बस्नुबाहेक अर्को कुनै विकल्प थिएन । म पुनः लाइनमा बसेँ । पहिलेभन्दा निकै पछाडि परेँ । बाह्र÷एक बजेको घाममा छाता ओढेरै उभिएँ । आज जसरी पनि आमालाई खोपाउनु थियो । भोलि वा पर्सिका लागि खोप लगाउने भनेर वडाले कुनै त्यस्तो योजना वा कार्यक्रम बनाएको थिएन । वडाले दिएको समय नै हिजो र आजका लागि मात्र थियो । हिजो रित्तै फर्केको हुनाले आज पूरै समय बस्न बाध्य थिएँ म ।

आज भने त्यहाँ वडाध्यक्ष देखिएका थिएनन् । एउटा महिला र अर्का पुरुष गरी वडाका दुई सदस्यहरू थिए त्यहाँ । ती दुवै सदस्य भिडतिर नभई स्वास्थ्यकर्मीहरूसँग केही समय खोप लगाउने कोठामा बसेका र पछि निस्केर हिँडेका थिए । बिहानैदेखि आएका मान्छेहरू भोकभोकै उभिएका थिए । मैले पनि खाना खाने मेसो मिलाउन सकिनँ । बिहान घरमै पिएको कप चियाका भरमा उभिइरहेँ ।

दिउँसोको दुई बज्यो । भिड उस्तै छ । पछाडि फर्केर हेर्दा लाइन पनि उत्रै देखिन्छ । मान्छे खोप लगाएर फर्केको पनि देखिन्छ तर लाइन घटेको देखिँदैन ! उभिइरहेको छु । आमालाई पनि एक बोत्तल मिनरल वाटरबाहेक केही दिएको छैन । बजारका रेडिमेड खानेकुराहरू उहाँ खानुहुन्न र म पनि लाइन छोड्दा केही गडबड हुन सक्छ भनेर बाहिर निस्कन सकिरहेको छैन ।

साढे दुई बज्यो । गाइँगुइँ हल्ला चल्न थाल्यो, “भ्याक्सिन सकियो रे !”

मभन्दा अगाडिपट्टि बसेका एउटा दाइ रिसाउन थाले, “यी जनप्रतिनिधि र स्वास्थ्यकर्मी मिलेर भ्याक्सिन लुकाएका छन् । भरे आफ्ना मान्छेलाई लगाउन भनेर यहाँ सकिएको नाटक गरेका हुन् । अहिल्यै कसरी सकिन्छ ? उमेरअनुसार पुग्दो मात्रामा आएको भन्थे ।”

उनै दाइसँग मैले जिज्ञासा राखेँ, “साँच्चै सक्किएकै होला त !” मेरो जिज्ञासाले उनको रिसको पारो अझै चढ्यो, “यी जनप्रतिनिधि र कर्मचारीको त विश्वासै गर्न हुन्न, यिनीहरू त भ्रष्टाचारी मात्र नभई एक नम्बरका काला व्यापारी पनि हुन् । साला दलालहरू !”

यसपछि फेरि भद्रगोल सुरु भयो । यतिका बेरसम्म चर्को घाममा भोकभोकै उभिनुपर्दा दिमाग तातेको थियो । अहिले भ्याक्सिन सकिएको कुरा सुन्दा मलाई पनि असाध्यै रिस उठ्यो । तैपनि रिसलाई काबुमा राखेर स्वास्थ्यकर्मीहरूको नजिकै पुगेँ र सोधेँ, “भ्याक्सिन साँच्चै नै सकिएको हो र ?” एउटी स्वास्थ्यकर्मी महिलाकै मुखबाट मैले “सकिएकै हो” भन्ने सुनेँ ।

अब यहाँ बसिरहनुको कुनै जरुरत थिएन । यस बेलासम्म आमाछोरा दुवै भोकै । मान्छेहरू बिस्तारै फर्कन थाले । म पनि आमालाई लिएर घरतिरको बाटो लागेँ । हिजो र आज गरी दुई दिनसम्म प्रयास गर्दा पनि आमालाई खोप लगाउन सकिएन । बाटामा पुनः एउटा पानीको बोत्तल किनेँ । त्यही पानी पिउँदै हामी सुस्त सुस्त घरतिर फर्केका थियौँ । भोकले आँखा देखिएको थिएन ।

मेरा लागि अरु समयमा बिस-पच्चिस मिनेटको बाटो पनि अहिले आमाछोराका लागि एक घन्टा नै लाग्यो । म आफ्नै घरको अगाडि पुगेर गेट खोल्नै लाग्दा पछाडिपट्टि एउटा मोटरसाइकल आएर रोकियो । फर्केर हेरेँ । पल्लो घरको भाइ रहेछ । ऊ अघि भर्खरसम्म स्वास्थ्य चौकीको बाहिरपट्टि स्वयंसेवक केटाहरूसँगै देखिएको थियो ।

यो भाइको जागिर-पेसा केही थिएन र पढाइ पनि थिएन । एक किसिमले भन्ने हो भने ऊ हल्लन्दास नै थियो । बाबुले ठेक्कापट्टा गरेर राम्रो कमाइ गर्ने हुनाले उसको आर्थिक हैसियत छरछिमेकका अन्य केटाहरूको तुलनामा माथि नै थियो । मोटरसाइकलको इन्जिन बन्द गरेर निकै गर्वका साथ बोल्यो, “मैले त खोप लगाएर आएँ नि अङ्कल !”

अचम्म मान्दै मैले सोधेँ, “कसरी खोपाउन पायौ त नि तिमीले ?”

हाँस्दै जबाफ फर्कायो, “सोझो औँलाले घिउ आउँदैन के अङ्कल !”

“तिमी त चालिस वर्ष पनि पुगेका छैनौ होला ! कसरी पुर्यायौ त नि पैँसट्ठी-सत्तरी वर्षको उमेर ?” मैले जिज्ञासा तेर्स्याएँ । मेरो प्रश्न सुनेर ऊ खित्कै छोडेर हाँस्यो ।

मैले पुनः आश्चर्यका साथ फेरि पनि जिज्ञासा तेर्स्याएँ, “तिमी कर्मचारी पनि त होइनौ !”

उसले निकै गर्वका साथ भन्यो, “यो सबै वडाध्यक्षज्यूको करामत हो के अङ्कल ! उमेर पनि उहाँले नै मिलाइदिनु भएको ।”

(पोखरा– १७, कास्की)

- २३ श्रावण २०७८, शनिबार १३:११ मा प्रकाशित



Kumari Advertisement
top ad