BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

बारमा भेटिएकी केटी

केशब मोहन अधिकारी
बारमा भेटिएकी केटी
[sharethis-inline-buttons]

थेसिस बाँकी थियो। परिवारमा सदस्यसंख्या सबै जनाको आ-आफ्नो ईलम भएकोले जागिर खाइहाल्नु वा बिहे गर्नुपर्ने दवाव थिएन। अङ्रेजी साहित्यमा स्नात्तकोत्तर तहको अध्ययन पुरा गरेकोले थोरबहुत दुनियाँ बुझेको थिए। तनाब मेरो शब्दकोशमा थिएन। साथीहरू थेसिस शब्द रट्दै कहिले कुनै कहिले कुनै पुस्तकालयमा धाउँथे, किताबका ठेलिको भक्ती गर्थे, निकै पढ्थे वा पढ्नेजस्ता देखिन खोज्थे। कतिपय गुरुहरूलाई खुशी पार्न चाकरी र झुटा तारिफका पगरी बोकेर बारम्बार गुरुकोमा धाउँथे। म जस्तो चियापसलमा चियाको चुस्की लिदै चुरोटको सर्को मार्ने इन्सेन्सिटिभ मानिससँग या त उनीहरू तर्किन्थे या त छिट्टै छुट्टीन खोज्थे। यस्तो लाग्थ्यो कि उनीहरू सगरमाथाको शिखरका यात्री हुन् अनि म चाहिं स्वयम्बुको थुम्कोको।मलाई थाहा थियो फुर्किदै सर्लक्क बढ्ने एउटा बाँस र शान्त रुपमा बढ्दै जाने एउटा सालको रुखमा के फरक छ त्यसैले मलाई कुनै आपत्ति थिएन।

बेलाले गर्ने कुरो रहेछ। विश्वविद्यालय परिसरमा चुरोटको धुवा उडाउदै हिंड्ने प्राध्यापकहरू कम्ता रोचक थिएनन्। त्यो मेरो लागि एन्टि-ज्ञान थिएन,जीवन जिउने एउटा कला थियो। खासगरी विश्वविद्यालय परिसरमा देखिने अर्धनग्न तरुनीहरू र नखरा पार्दै डुल्ने ड्याडि-ममि विद्यार्थीहरू, बर्सौदेखि ठुलै पदमा आँखा गाडेर होस्टल केरेर बस्ने फुस्रा विद्यार्थी नेताहरू अनि अमुर्त सपनाको घोडा चढेर हरदिन पुस्तकका भारी बोकेर विश्वविद्यालयको तारिख धाउने दुरदराजका विद्यार्थी साथीहरू मेरा लागि रोचक पात्र थिए। म अली अराजक थिए त्यो परिबेसमा। मलाई आदर्शको पहाड चढ्नु थिएन न त मलाई जिउनको लागि कुनै सुन्दर आवरणको लेपन चाहिएको थियो।पाँच वर्षपछि हैन आजको जीवन जिउनु थियो। जीवनलाई कलात्मक र व्याबहारिक बनाउनु थियो। कहिलेकहीं रंगिन् बनाउनु थियो।मेरो त्यसको लागि प्रार्थना र अनूनय बिनय गर्ने आदत थिएन त्यसैले कुनै कुनै साँझ बारतिर छिर्थेँ।

मधुरो साँझमा बारमा छिर्नुको रौनक आफ्नै किसिमको हुने। दुई वर्ष भैसकेको थियो बार जाने लत लागेको। दुइवर्ष अगाडि दुबइ उड्नको लागि आएको साथीले मलाई पहिलोपल्ट त्यो ठाउमा पुर्याएको थियो।त्यसपछि महिनामा दुई तीन पल्ट जाने बानी लाग्यो। बार जान थालेपछि नै म कुमार रहिन। बाले अध्ययन शिर्सकमा दिने रकमको करिब बिस प्रतिशत त्यतै खर्च हुन्थ्यो। मनमनै तुलना गर्थे,विश्वविद्यालयमाज्यू ज्यू गर्दै फकाउदा पनि हात नलाग्ने सुन्दरिहरू बारमा आफैलाईज्यू ज्यू गर्दै आउँथे। आजको भोक मेट्न आजै खानुपर्छ,आजको जाडो आजै छेक्नुपर्छ जुन बारमा सम्भब थियो।मनको आनन्द प्राप्त हुने, जिउलाई शान्ति प्राप्त हुने र जीवनको सुखभोग पहिलोपल्ट प्राप्त गरेको त्यो ठाउँ मेरो लागि कुनै विश्वविद्यालय र मन्दिरभन्दा कम थिएन।

‘नजिकै आएर बस न’ एक साँझ एउटा बारमा अलि अन्कनाउदै गरेकी युबतितिर हेर्दै मैले भने।
ऊ अलि नजिक आई। मैले उसलाई आफ्नो छेउमा बसालेँ। ऊ लाजले रातो भइ।शायद नयाँ थिई किनकि मैले उसलाई पहिला कहिल्यै देखेको थिइन।
‘तिम्रो नाम के हो?’
‘शारदा’
‘घर कता नि?’
‘पूर्वतिर’
‘काठमण्डुमा कोसँग बस्छेउ कहाँ?’
‘कलंकीमा दिदीसँग’
यी सब कुरा र मेरो उदेश्यको खासै सम्बन्ध थिएन। अरु दिन बारका कुनै केटीसँग कहिल्यै यस्तो कुरा भएको थिएन। तर त्यो केटीले मेरो मनमा कौतुहलता जगाइदिएकी थिई।
‘दिदी के गर्छिन नि?’
‘उ पारीपट्टिको बारमा काम गर्छिन’
‘तिम्रो आज पहिलो दिन?’
‘हजुर’
‘ए, बारमा काम गर्दा अलि होसियार हुनुपर्छ। यहाँ जस्ता मानिसहरू पनि आउँछन्’
‘हस्’
उसले टाउको हल्लाइ।
‘कति पढेकी छ्यौ नि?’
‘नौ कक्षाको जाँच छुट्यो अनि…..’
‘पढ्न मन लाग्दैन?’
‘लाग्छ तर ……..’

उसको भाषा अरुको जस्तो भड्किलो र व्यवसायिक थिएन। न त कुनै दोष नै लुकेको झल्किन्थ्यो।
त्यो दिन मैले बुझे बारको करियर शुरु हुने तरिका। तर म के नै पो गर्न सक्थे र? लाग्यो मौका पाए यो केटी पनि विश्वविद्यालय जान्थी होला अनि आफूलाई ज्ञानले प्रशोधन गर्थिहोला।बारमा पनि प्रशोधन हुन्थ्यो तर सिँगारपटारले। मैले विश्वविद्यालयको गेटसम्म गाडीभित्र कुकुर च्यापेर आउने युबतिहरू सम्झिए। ती युबती र त्यो केटीहरूबीच मनमनै तुलना गरे। निचोडमा पुगे,मार्क्सबादको जन्म त्यसै भएको हैन रहेछ।

मेरो बार जाने बारम्बारता अलि थपियो। हरेक साँझ बारमा पुग्दा मेरा आँखाहरूले शारदालाई खोज्न थाले। म सोच्थे युबतिहरू पाकेका फल हुन् अनि प्रेम सिमलको भुवा। शारदासंँको भेटपछि त्यो सोच अलिकति बदलियो। विश्वविद्यालयकी कुनै सुन्दरी युबतिले पगाल्न नसकेको मेरो मन नौ कक्षाको जाँच छोडेकी शारदाको निश्चलताले तोडिदियो।

‘तपाईंले पनि विचार पुर्‍याउनुहोला’ एक साँझ शारदाले मलाई त्यही बारको साँघुरो कोठामा भनी।
‘के कुरा ?’
‘तपाईंको बानी, यसरी सधैं बारमा आएर पैसा सक्नु राम्रो बानी हैन’
‘पैसा मेरो जान्छ नि, तिम्रो त जाँदैन, तिमीलाई के को पिर ?’
‘पिर गरेको हैन, गुन मात्र तिरेको। तपाईंले मेरो पहिलो दिनमा अलि होसियार हुनु भन्ने सल्लाह जो दिनुभएको थियो’
मैले बिस्तारै बुझेँ नारी भनेको देह मात्र हैन न त उसको हैसियत उसले पाएको शैक्षिक प्रमाणपत्र र उसले कमाउने धन नै। नारी भनेको निश्चलता,धैर्यता,प्रेरणा र ताकत पनिरहेछ ।

यता थेसिस लेखन शुरु भैसकेको थियो । जती नै स्वतन्त्र हुन खोजे पनि यस्तो बेला अलि बाँधिन पर्ने । बारतिर जान अलि पातलो भयो। कतिपय साथीहरू थेसिस बुझाएर जागिर खान थालिसकेका थिए। समयसमयमा निरिक्षकलाई भेटेर देखाउनुपर्ने, तयार पार्ने, सम्पादन गर्ने,छलफल गर्ने समयतालिकाले म करिब डेढ महिनापछि बारमा पुगे। मलाई थाहा थियो थेसिस सकेपछि मैले कही न कही जागिर पक्कै पाउनेछु। यदि त्यसो हो भने किन ढिला गर्ने?त्यसो त म जत्तिको पढेलेखेको र माया गर्ने केटोले कुरा गर्दा शारदाले अवश्य नाइ भन्दिन भन्ने निचोड थियो मेरो। मैले त्यो दिन शारदासँग कुरो पक्का गर्ने निर्णय गरेँ।

‘यत्रा दिन कता गायब नि ?’ शारदाले मलाई देख्नेबित्तिकै भनी।
‘म अध्ययनमा ब्यस्त थिएँ,त्यै पनि तिमीले भनेको हैन धेरै नआउनु भनेर’
‘भनेको हुँ,तर बेपत्तै हुनु भनेको त हैन नि’
म अघिअघि बस्ने आफ्नो कक्षमा गएर बसेँ। शारदा पछि लागेर त्यही आई।

‘शारदा एउटा कुरा भन्नु थियो’
‘एउटा मात्र,जति मन लाग्छ भन्नु नि’
शारदा बिस्तारै कुरा गर्न खप्पिस भैसकेकी थिई।
‘आज एउटा मात्र भन्छु बाँकी पछि भनम्ला नि’
‘हुन्छ भन्नु न त्यति जाबो कुरा भन्न पनि के सोध्नुपर्‍यो त’
मैले सोचेँ उपयुक्त मौका त्यही थियो। मैले बिस्तारै उसको हात समातेँ। उसले अलि लाज मानेजस्तो गरी।
‘शारदा मसँग बिहे गर्छेउ ?’

मेरो प्रश्नले उसको अनुहारको रंग बदलिदियो। ऊ कालोनिलो भइ। उ एकछिन त केही बोल्नै सकिन। करिब एक मिनेटको मौनतापछि मेरो हात छुटाउँदै उसले बिस्तारै भनी,’म जस्तो अनपढ र यस्तो बारमा काम गर्ने केटीसँग बिहे गर्दा तपाईंको इज्जत कहाँ पुग्ला ?तपाईंको घरपरिवार र आफन्तले के भन्लान् ? पछि गएर अफ्ट्यारो हुनुभन्दा यस्तो कुरा नगरनु नै बेश।तपाईं बढी नै भावनात्मक हुनुभएजस्तो छ।’

मैले शारदाको कुरा बुझेँ। ऊ मेरो प्रस्तावमा नकारात्मक थिइन तर उसलाई समाज र परिवार अनि उनीहरूले उसको बिगतको पेशा र पढाईप्रति देखाउन सक्ने प्रतिकृयासँग डर थियो। मैले शारदालाई विश्वस्त बनाउनु थियो। ‘शारदा तिमी हुन्छ भन मात्र म अरु सबै मिलाउँछु। मेरो विवाह मेरो आफ्नो व्यक्तिगत मामला हो। यसको निर्णय मबाट हुन्छ र मलाई विस्वास छ म सबैलाई यो विषयमा कन्भिन्स गर्न सक्छु’। शारदाले मलाई विस्वास नगरेको उसको अनुहारको भावबाट प्रष्ट हुन्थ्यो र पनि मैले त्यो दिन उसलाई विस्वास दिलाउन खुब प्रयत्न गरिरहे।

संयोगबश बुवाआमा तिर्थयात्रा जानुभएको बेला भएकोले तत्काल उहाँहरूसँग त्यो विषयमा कुरा गर्न साइत जुरेन। थेसिस सकेँ र गतिलैसँग पास गरेँ। जागिर र शारदाको खाँचो थियो अब मलाई। जुन पहिला जुर्छ उसैलाई पहिला आत्मसाथ गर्ने टुंगोमा पुगी शारदालाई भेट्न गएँ। ‘ए आइपुग्नुभो ? शारदा त छैन क्या रे आजकल’ बारको मालिक्निले मलाई देख्नासाथ मुख फोरिहाली।

‘शारदा छैन रे ? कहाँ गई त ?’
‘बिहे गर्न भनेर गई नि। उसकै गाउतिरको एउटा केटा रहेछ भर्खर कतारबाट आएको। उसैसँग बिहे गर्ने भनेर उसको बाउ आएर लिएर गयो’
‘जाने बेला केही भनिन ?’
‘बाबु आउनुभयो भने सबै कुरा भनिदिनुहोला भन्दै थिई।
म गम्भिर भैसकेको थिएँ तर मलाई म कुन हदसम्म पुग्नुहुन्छ भन्ने थाहा थियो।
‘केटा कतारी लाहुरे नै हो……… भारत जाने आउने त हैन होला नि ?’
‘खै कतारी नै हो भन्थ्यो, अब नफर्कने गाउमै केही गर्ने भन्थ्यो रे।’

म फर्किए। मनमा खिन्नता थियो। थाहा थियो सपना आखिर सपना नै हो। सपना पुरा हुनुअघि नै म ब्यूँझिसकेको थिएँ।

पाँच वर्ष बितिसकेछ। शहरको कुनै कलेजमा पढाउने मेरो संयोगले ससुराली पूर्वतिर नै बन्न पुग्यो।ससुराली गैरहनुपर्छ। कहिलेकहीं गंगालाई अघि लाएर काँधमा पुन्टेलाई राखी ससुराली जाने बाटोको तरेलिहरूका हरिया तरकारीबारी र सुन्दर फाँटहरूमा जब कोही नारीचित्र चलमलाइरेहेको देख्छु,मेरा आँखाहरूले ती चित्रहरूमा त्यही बारमा काम गर्ने केटी वा शारदालाई खोज्न थाल्छन्।

क्याल्गेरी,क्यानाडा

- ३० श्रावण २०७८, शनिबार १३:४१ मा प्रकाशित



Kumari Advertisement
top ad