BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

प्रेमको खण्डहर

बाबुराम न्यौपाने ‘उत्स’
प्रेमको खण्डहर
[sharethis-inline-buttons]

एकाउन्न बर्षीय इश्वरी रसिक र खुला स्वभावको ख्याउटे जिउडालको व्यक्ति थियो । उसको घरको रुग्ण आर्थिक अवश्था जग्गादलाली लगाएतको कामबाट पैसा आर्जन गरेर केही मजबुत बनेको थियो । ऊ ! चतुर मानिस थियो । परिवारमा प्रमोद र प्रतिमा दुई सन्तान थिए ।

पच्चीस बर्षिय छोरो प्रमोद पनि बाबुभन्दा कम रसिक र चंचले थिएन । पढाइमा तेज थियो । घरबाट उसलाई खासै बन्धन थिएन।प्रथम श्रेणीमा डिग्री उतिर्ण गर्यो ।

घरमा बुहारी भित्र्याउने चर्चा सुरु भयो । प्रमोदले आफूले केटी खोजिसकेको उद्घोष गर्यो । विवाहमा देखावटी ढोंगढर्रा नगर्ने र भोलि नै बुहारी लिएर आउँने कुरा सुनायो ।

छोराले मन पराएको केटी कसैले कडा प्रतिवाद गरेनन् । तत्काल बुहारी भित्र्याउने र पछि सीमित आफन्त छरछिमेकलाई बोलाएर सामाजिक औपचारिकता निर्वाह गर्ने सल्लाह भयो ।

भोलिपल्ट एकाबिहानै प्रमोदले प्रेमिकालाई घरमा लिएर आयो । दुबै जना घरको मूलढोकामा पुगेर रोकिए ।

पानी भरिएका र फूलले सजाइएका तामाका घैला घरको मूलद्धारमा राखिएका थिए । प्रमोदकी आमा र बहिनी फूल र दुबोको माला अनि टीकाको थाली लिएर ढोकामा उभिएका थिए । पछिपछि बाबु ईश्वरी पनि आउँदै थियो ।

सरुले अनुहार छोपिएको रातोसलको घुम्टो हटाइन् ।

जब सरुसँग इश्वरीका आँखा जुधे दुबै आश्चर्यचकित भए । ईश्वरी झण्डै झण्डै मूर्छा खाएर ढल्यो ।

उनको नजर सरुको छातीमा टल्किएको सुनको सिक्रीमा पुगेर अडीयो । जुन सिक्री सरुको जन्मदिनमा इश्वरीले आफ्नै हातले उनको गलामा लगाइदिएको थियो ।

यता परिवारका सामुन्ने इश्वरी कहिले साथी कहाँ र कहिले आफन्त कहाँ जाने बहानामा सुटुक्क हराउँनुको रहस्य खुलिसकेको थियो । पेचिलो परिस्थितिले इश्वरीको गालामा नराम्रो झापड हान्यो । समयको घडी स्थिर भएर टक्क रोकियो ।

सरु इश्वरीको घरबाट सत्तरी किलोमिटर टाढा रहेको शहरकी सुन्दर नगरबधू थिइन् । साथीहरूको उक्साहटमा प्रमोद पनि केही समयदेखि उनै सरुको अन्तरङ्ग सामिप्यमा लहसिन पुगेको थियो ।

जुन युवतीसँग इश्वरीले होटलमा कैयौं अन्तरङ्ग रातहरु गुजारेको थियो । अब उनै सरु घरको मूलढोकामा आफ्ना सासू ससुराको आशीर्वाद लिनका लागि खडा थिइन् ।

(दमक, झापा)

- १९ भाद्र २०७८, शनिबार १०:१९ मा प्रकाशित



Kumari Advertisement
top ad