BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

वीपी प्रतिष्ठानका सबै सेवाहरु सञ्चालनमा

एक्सन खबर
वीपी प्रतिष्ठानका सबै सेवाहरु सञ्चालनमा
[sharethis-inline-buttons]

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सबै सेवाहरु सञ्चालन भएका छन् । संयुक्त संघर्ष समितिले इमरजेन्सी, कोभिड अस्पताल र पूर्व निर्धारित परीक्षा वाहेकका सेवाहरु बहिस्कार गरेकोमा सरकारले आफुहरुसँग गरेको ६ बुँदे सहमति कार्यान्वयनमा गइसकेको बताएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

संघर्ष समितिले प्रतिष्ठानका सबै सेवाहरु सूचारु गरेपनि पदाधिकारीहरुको कार्यकक्षमा लगाइएको तालावन्दी भने जारी रहने बताएको छ । संयुक्त संघर्ष समितिले आज विज्ञप्ति जारी गर्दै सरकारले गरेको सहमति कार्यान्वयनमा गएको जनाएकोले ‘पदाधिकारीहरुको कार्यकक्षमा लगाइएको तालावन्दी तथा पदाधिकारीहरुले चढ्ने गाडीको चाबी नियन्त्रण’ कार्यक्रम यथावत रहने गरी अन्य आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ ।

‘विभिन्न राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाज, प्रबुद्ध वर्ग, पत्रकार एवं बुद्धिजीवीबाट आएको सल्लाहलाई मध्यनजर राख्दै ‘पदाधिकारीको कार्यकक्षमा तालाबन्दी’ र ‘पदाधिकारी चढ्ने गाडीको चाबी नियन्त्रण’ लगायतका कार्यहरुलाई निरन्तरता दिँदै अन्य कार्यक्रमहरु तत्काललाई स्थगित गरी आन्दोलनको कार्यक्रमलाई परिमार्जन गरेका छौं ।’ संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघर्ष समितिले विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी यसअघि तयार भएका प्रतिवेदन सार्वजनिक गर्ने स्वास्थ्य मन्त्रालयको कार्य स्वागतयोग्य भएको समेत जनाएको छ ।

विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति सम्बन्धी कार्यविधि मापदण्ड बनाउन ३ जना प्राध्यापक सम्मिलित ७ सदस्यीय समिति गठन भई उक्त समितिले कार्य सुरु गरिसकेको भन्दै त्यसले विश्वविद्यालय र प्रतिष्ठानमा हुने पदाधिकारीको नियुक्तिलाई पारदर्शी र प्राज्ञिक बनाउने छ र राजनीतिक भर्तीकेन्द्र हुनबाट जोगाउने विस्वास लिइएको छ ।

संघर्ष समितिले प्रतिष्ठानले व्यवहारिक रुपमा जित्ने प्रत्याभूति नभएसम्म सुद्धिकरणको आन्दोलन नरोकिने समेत प्रष्ट पारेको छ । ‘सरकारले भनेको समय सिमाभित्र र माथि भनिएका कुराहरुमा फेरिपनि नसुनिएमा र ढिलासुस्ती गरिएमा केही दिनभित्रै कडा कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले आजै विज्ञप्ति जारी गर्दै पदाधिकारीलाई कारवाही गर्न २५ प्रतिशत सिनेटरले हस्ताक्षर गरी कुलपति समक्ष पेश गरिसकेको र चाँडै उपयुक्त समयमा प्रक्रिया अनुसार छानविन गरी पदाधिकारीको कारवाही प्रक्रिया सिनेटबाटै गराउने जनाएको छ ।

साथै मन्त्रालयले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकोले प्रचलित कानुुन बमोजिमको प्रक्रिया समेत शुरु भइसकेको जनाएको छ । भने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा भएका भ्रष्टाचारको छानविन गर्न सबै कागजात लिइसकेको र छानविन भइरहेको समेत बताएको छ ।

- २७ भाद्र २०७८, आईतवार १६:०८ मा प्रकाशित



Kumari Advertisement
top ad