BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

क्विक रेस्क्यू टीम नेपालका सदस्यहरु अब दक्ष उद्दारकर्ता

एक्सन खबर
क्विक रेस्क्यू टीम नेपालका सदस्यहरु अब दक्ष उद्दारकर्ता
[sharethis-inline-buttons]

काठमाडौं । सामाजिक क्षेत्रमा सक्रिय रहेको क्विक रेस्क्यू टीम नेपालका सदस्यहरु अब आपतकालिन उद्दारमा तालिम प्राप्त स्वयंसेवक भएका छन् । रेस्क्यू नेटवर्क इन्टरनेशनल तथा किर्तिपुर अस्पतालका विषेशज्ञ चिकित्सकहरुबाट ९ दिने एड्भान्स लाइफ सपोर्ट ट्रेनिङ लिएपछि उनीहरु कुनैपनि प्राकृतिक प्रकोप, दैवी प्रकोप, दुर्घटना आदीमा उद्दार कार्यमा संलग्न हुन दक्ष भएका हुन् ।

सुनसरीको इटहरीबाट आएका क्विक रेस्क्यू टीम नेपालका सदस्यहरुले ९ दिनसम्म आपतकालिन उद्दारको प्राथमिक उपचार सहितको तालिम लिएका हुन् । कुनैपनि प्रकोप, दुर्घटनामा मानव जीवनलाई सकेसम्म सुरक्षित र कम क्षतीमा कसरी उद्दार गर्न सकिन्छ भनेर क्विक रेस्क्यू टीम नेपालले प्राथमिक उपचार सहितको एडभान्स तालिम लिएको हो ।

यसअघि विना ज्ञान आफ्नै अनुभवबाट विभिन्न प्रकोपहरुमा राहत तथा उद्दारको लागि सक्रिय भएपनि तालिम प्राप्त गरेपछि भने प्रकोप, दुर्घटनाहरुमा कसरी काम गर्ने, धनजनको क्षति कम हुन कस्ता सावधानी अपनाउने तथा आफुलाई समेत कसरी सुरक्षित राखेर काम गर्ने समेत तालिम पाएको क्विक रेस्क्यू टीम नेपालका अध्यक्ष विक्रम लिम्बुले बताए । ‘यसअघि हामीले उद्दार तथा राहतका कामहरु अन्धाधुन्ध अरुले गरेको देखेर गरेका रहेछौं । एड्भान्स तालिम लिएपछि मात्र यसको महत्व, उपादेयता, जोखिम, सावधानी बारे थाहा पायौं ।’ लिम्बुले भने ।

रेस्क्यू नेटवर्क इन्टरनेशनल तथा किर्तिपुर अस्पतालका विषेशज्ञ चिकित्सकहरुले क्विक रेस्क्यू टीम नेपालका सदस्यहरुलाई प्रकोपहरुमा उद्दार कार्यमा सहभागी हुँदा कस्तो सावधानी अपनाउने, प्राथमिक उपचारहरु कसरी गर्ने, घाइतेहरुको उद्दार कसरी गर्ने तथा आगलागीमा परेकालाई कसरी उद्दार तथा प्राथमिक उपचार गर्ने सिकाइएको थियो ।

किर्तिपुर अस्पतालका बरिष्ठ चिकित्सकहरुले तालिममा सहभागीहरुलाई अस्पतालमै आगोले पोलेका विरामीलाई प्राथमिक उपचार कसरी गर्न सकिन्छ, कसरी जोखिम न्यूनिकरण गर्न सकिन्छ भन्ने समेत सिकाइएको थियो । ‘गाउँघरमा आगोले पोलेको बिरामीलाई पानीबाट टाढा राखिन्छ, तर, वास्तवमा ३ घन्टासम्म लगातार पानीले घाउ चिस्याउनु पर्छ भन्ने कुरा यहाँ आएपछि थाहा भयो ।’ क्विक रेस्क्यू टीम नेपालका अध्यक्ष विक्रम लिम्बुले भने ।

उनले तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै लिम्बुले आफुहरुले प्राकृतिक प्रकोप र उद्दार कार्यका लाग चाहिने मुल्यवान शिक्षा पाएको बताउँदै तालिमबाट सिकेको ज्ञानलाई अब जीवनमा लागू गर्ने बताए ।

रेस्क्यू नेटवर्क इन्टरनेशनलका अध्यक्ष जय थापाले कुनैपनि प्राकृतिक प्रकोपमा परेका व्यक्तिलाई प्राथमिक तहमै राम्रो उपचार व्यवस्थापन भए ठूलो धनजनको क्षति हुनबाट रोक्न सकिने बताए । आलगागी, भू–कम्प, भू–क्षय, सवारी दुर्घटना जस्ता बढीभन्दा बढी मानवीय क्षति गराउने प्रकोपहरुमा समयमै प्राथमिक उपचार पुर्याउने हो भने पिडितको उद्दार तथा राहतमा ठूलो सहयोग पुग्ने जनाए ।

किर्तिपुर अस्पतालका चिकित्सक डा. किरण नकर्मीले अस्पतालले विराटनगर, पोखरा, भरतपुर, बुटवल, नेपालगञ्ज जस्ता शहरहरुमा गएर आगोले पोलेका विरामीको उपचार गरेको बताउँदै अहिलेसम्म २०–२५ हजारको हाराहारीमा उपचार गरेपनि कमी नआएको बताए । दैवि प्रकोपको क्षति न्यूनिकरणमा सचेतना र प्राथमिक उपचार गाउँगाउँमा पुर्याउनु आजको पहिलो आवश्यक्ता रहेको औल्याउँदै समाजमा सचेतना फैलाए दुर्घटना कम गर्न सहयोग पुग्ने बताए ।

क्विक रेस्क्यू टीम नेपालले देशका विभिन्न क्षेत्रमा कुनैपनि प्रकोपहरुमा उद्दार तथा राहतका कार्यक्रम गर्ने गरेको छ । संस्थाले कोरोना संक्रमणको उपचार तथा राहत वितरणमा प्रभावकारी काम गरेको छ । यसका अलावा आगलागी पिडित, बाढि पहिरो पिडितको उद्दार तथा राहत वितरण, सुकुम्बासीलाई खानेपानी वितरण आदीमा सहयोग गर्दै आइरहेको छ ।

- २८ भाद्र २०७८, सोमबार ११:०१ मा प्रकाशित



Kumari Advertisement
top ad