BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

घर नहुनेले पाएनन्, हुनेले कामै नलाग्ने बनाए

एक्सन खबर
घर नहुनेले पाएनन्, हुनेले कामै नलाग्ने बनाए

जुम्ला । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत बनाइएका घरहरू प्रयोगविहीन बनेका छन् । जुम्लाको सिजा गाउँपालिका जनता आवास कार्याक्रमबाट बनाइएका घर प्रयोगविहीन भएका हुन् ।

सरकारले विपन्न दलितहरूकाे सुरक्षित आवासको लागि भनेर कार्यक्रम लागु गरे पनि पहुँचवालाको पोल्टोमा पर्दा घरहरू प्रयाेगविहीन बनेका छन् । न्युन आय भएका नागरिकका लागि भनेर सरकारले घर बनाउन तीन लाख ५० हजार रुपैयाँ पाउने व्यवस्था गरेको थियो । उक्त रकम निर्माण समितिको नामा रहेको खातामा चार किस्तामा उपलव्ध हुने प्रवधान थियो ।

टाठाबाठाहरूले विपन्नलाई भन्दा पनि आफ्न्त र आफ्नो पाटीको मान्छेलाई कार्यक्रममा छनोट गरेपछि निर्माण भएका घरहरू प्रयोगमा नआएकाे सिँजा गाउपालिका-३ का बलबहादुर सार्कीले बताए । आफू विपन्न परिवार भए पनि जनता आवास कार्यक्रमका लागि छनाेट नभएकाे उनले गुनासाे पाेखे । आफूसँग भएकाे पुरोना घर भत्किन लागेकोले छिमेकीको घरमा एक कोठा मागेर बसेकाे बलबहादुरले सुनाए ।

उनले भने, ‘हाम्रो पहुँच पुग्दैन, विपन्नको नाम बेचेर कार्यक्रम लागुहुन्छ तर पहुँचवालाले मात्रै पाउछन् ।’ आफूसँग घर भएकाले पनि जनता आवास कार्यक्रमअन्तर्गत पैसा पचाउन घर बनाएकाे र अहिले प्रयोगविहीन भएकाे सार्कीले सुनाए । सिजा-३ कै नन्दबहादुर नेपालीले जनता आवास कार्यक्रममार्फत घर बनाएका छन् । उनको र्को गाउँमा पनि घर छ तर उक्त घर प्रयोगविहीन छ ।

जनता आवास कार्यक्रमबाट बनाएकाे घर प्रयोगविहीन भएकाे नन्दबहादुरकाे मात्रै हैन उक्त वडामा बनेका १६ वटा घर तीन वर्षदेखि प्रयोगविहीन छन् । सबै घर तीन वर्षअघि सहरी विकास तथा भवन निर्माण कार्यालयअन्तर्गत जनता आवास कार्यक्रम मार्फत निर्माण भएका हुन् । उक्त कार्यक्रम अन्तर्गत दुईकोठे घर निर्माण गरिएको थियो ।

हाल यो कार्यक्रम पुर्वधार विकास कार्यलयले हेर्ने गरेको छ । सरकारको लगानीमा बनेका घर प्रयोगविहीन हुँदा स्थानीय सरकार भने बेखबर छ । सिँजा गाउँपालिका अध्यक्ष देवलसिहं रावलले पनि नराकोटको गाउँमा घर भएका नागरिकले उक्त कार्यक्रम पाएकाले घर प्रयोगविहीन भएको बताए । उनले गाउँमा घर भएकाले खोलाको नजिकै बनाइएका नयाँ घरमा भुतप्रेत लाग्छ भन्दै नबसेकाे जानकारी दिए । पालिकाले भने प्रयोग गर्न दबाब दिएको बताए ।

भौतिक पूर्वधार विकास कार्यालय जुम्लाले गत वर्ष उक्त कार्यक्रमअन्तर्गत दुई सय ५० घर निर्माण सम्पन्न भएकाे जनाएकाे छ । कार्यालय प्रमुख रुपबहादुर रावलले भने आर्थिक स्थिति कमजोर भएकाहरू नै जनता आवास निर्माणका लागि छनोटमा परेका बताए ।

उनले भने, ‘पूर्वाधार विकास कार्यालय प्राविधिक सहयोगमा निर्माण भएको भूकम्प प्रतिरोधी सुरक्षित आवास पाएका सबै घर प्रयोगमा छन् । यसअघि बनेका घर प्रयोगविहीन कसरी भए त्यो जिम्मेवारी हाम्रो कार्यालयलाई थिएन ।’

- १२ आश्विन २०७८, मंगलवार ०८:२५ मा प्रकाशित



Kumari Advertisement
top ad