BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

एकै ठाउँमा ६ पटक भत्कियो सडक : एक सातादेखि सदरमुकाममा यातायात सेवा ठप्प

हेमन्त केसी
एकै ठाउँमा ६ पटक भत्कियो सडक : एक सातादेखि सदरमुकाममा यातायात सेवा ठप्प

जाजरकोट । जाजरकोट-डोल्पा सडक खण्डको सदरमुकाम खलंगामा एक सातादेखि सडक अवरुद्ध भएको छ । वर्षायाम सुरु भएसँगै वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडकका कारण यात्रुले हैरानी खेप्नु परेको छ ।

वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्च मात्र हुँदै आएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल भरिएर सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने गरेको छ । ‘माथि ठूल्ठूला भवन छन्, तल सडक भत्कँदैछ,’ स्थानीय रेशम खड्काले भने, ‘एक साता भइसक्दा पनि किन सडक मर्मततर्फ ध्यान दिइएको छैन ? बुझ्न सकेको छैन । सडक नबनेकै कारण खाद्यान्नलगायत अन्य सामग्रीको संकट पर्दै गएको छ ।’

पूर्वी जाजरकोट, डोल्पा र रुकुम पश्चिममा यातायातका साधन वैकल्पिक रूपमा चलाउन प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाको सहजीकरणमा एकीकृत समाजवादीका उपाध्यक्ष कमान खड्का र सडक विभाग चौरजहारीले सडक मर्मतपछि पासागाड-कालेगाउँ सडक सञ्चालन गरिएको छ ।

भौतिक पूर्वाधार विकास कार्यालय, सडक डिभिजनको सहयोगमा भेरी नगरपालिकाले सो सडक निर्माण गर्ने भनिए पनि अहिलेसम्म सुरु गरिएको छैन । जसकारण जाजरकोट डोल्पा, रुकुम पश्चिम जाने यात्रुमात्र नभई, सदरमुकामबाट सामग्री ढुवानीमा समेत गाह्रो हुँदै आएको छ ।

सदरमुकाममै साता दिनदेखि सडक अवरुद्ध हुनु र निर्माण ढिलासुस्ती हुँदा सर्वसाधारण मर्कामा परेका छन् । सडक दिगो बनाउन ढल विकास र नाला परिवर्तन गर्नुपर्ने स्थानीयवासी दीपबहादुर घर्तीले बताए । एकै ठाउँमा ६ पटकसम्म सडक भत्किनु नै अचम्म भएको सर्वसाधारण बताउँछन् । अघिल्लो आर्थिक वर्ष मात्र सडक बनाउँदा २५ लाख खर्च भएको थियो ।

- १३ आश्विन २०७८, बुधबार ०९:५८ मा प्रकाशित



Kumari Advertisement
top ad