BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

अख्तियारकाे छापापछि चौतर्फी दबाबमा मुख्यमन्त्री राउत

एक्सन खबर
अख्तियारकाे छापापछि चौतर्फी दबाबमा मुख्यमन्त्री राउत

PinShares32

जनकपुरधाम । असोज १२ गते दिउँसो बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मार्‍‍यो । मुख्यमन्त्री तथा मन्त्रिपरिद कार्यालयले मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ कार्यक्रमअन्तर्गत अनियमितता गरेको आशंकामा अख्तियारले छापा मारेको हो ।

प्रदेश सरकारकै सर्वोच्च कार्यकारी निकायमा जानकारी बिनै अख्तियारले छापा मारेपछि आक्रोसित भएका मुख्यमन्त्री लालबाबु राउत गद्दीले सोही दिन साँझ पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनी बाहेक कुनै मन्त्री सहभागी थिएनन् । नत उनीसँग अधिकांश मञ्चमा देखिने मुख्य न्याधिवक्ता दिपेन्द्र झा नै देखिए । राउतसँग केवल भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव मात्रै थिए ।

सरकारकै मुख्यमन्त्री कार्यालयमा अख्तियारले हान्नु, मुख्यमन्त्रीले पत्रकार सम्मेलन गर्नु र त्यसमा कुनै पनि मन्त्री सरकारको बचाउँमा नआउनुले पनि प्रदेश सरकारको मन्त्रिमण्डलमा कत्तिकाे सहकार्य र सम्झदारी रहेको छ दर्साउँछ । अर्को कुरा अख्तियारले छापामार शैलिमा छापा मार्दा मुख्यमन्त्री राउतका बचावमा कुनैपनि मन्त्रीले अहिलेसम्म नबाेल्नुमा ‘दालमे कुछ काला हे’ काे अर्थ राख्छ ।

हुन त मुख्यमन्त्री राउतकाे पार्टी जनता समाजवादी पार्टी भित्रैबाट एक तप्का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह लगायतका समुहले सुरुदेखि नै मुख्यमन्त्री राउतलाई असहयोग गर्दै आएका छन् । केहि महिनाअघि मुख्यमन्त्री राउतले आफुलाई असहयोग गर्ने तत्कालिन अर्थमन्त्री विजय यादवलाई घटुवा गरि कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

त्यसैगरि, हिन्दु धर्माम्बलीहरुको वर्चस्व रहेको प्रदेश २ मा पहिलो पटक धार्मिक अल्पसंख्यक मुस्लिम समुदायका राउतलाई मुख्यमन्त्री बनाउदाँ सुरुदेखि नै अतिवादी हिन्दु संगठनहरुले विरोध गर्दै आएको थियाे । राउत मुख्यमन्त्रीको रुपमा शपथ खाएको दिनपनि प्रदेशका सबै जिल्लामा टायर बालिए । केहीअघि मात्रै मुख्यमन्त्रीकै गृह जिल्ला तथा निर्वाचन क्षेत्र बिरगंजमा हिन्दुवादी संगठनले प्रदेश २ लाई मुख्यमन्त्री राउतले तालिबान बनाउन लागेको भन्दै पुतला जलाए ।

मुख्यमन्त्री राउतले आमजनताको बीचमा फरक छवि बनाउन सफल भएका थिए । ४ वर्षको अवधिमा प्रदेश सरकारले जन चाहना अनुसार विकास निर्माणको काम नगरेपनि जनतामा मुख्यमन्त्री राउतप्रति खासै रोष र गुनासा थिएन । मन्त्रीहरुहरुको आलोचना भएपनि मुख्यमन्त्री राउतको चैं प्रशंसा नै हुन्थ्याे । तर अख्तियारको छापाले मुख्यमन्त्री राउतको छवि धुमिल्याएकाे छ । १२ प्रतिशत जनसंख्या रहेको मुस्लिम सामुदायपनि पछिल्लो पटक मुख्यमन्त्री राउतसँग सन्तुष्ट छैन ।

आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक रुपमा पछाडि परेका मुस्लिम समुदाय आफ्नै समुदायका व्यक्ति मुख्यमन्त्री भएपछि संविधानले दिएको समानुपातिक समावेशी अधिकार पाउने आशमा थिए । तर, राउतले निराश गरिदिएकाे उनीहरूकाे भनाइ छ ।

विगत ४ वर्षमा नीति आयोग, प्रदेश लोकसेवा, प्रदेश जनलोकपाल, आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल लगायतका संस्थाहरुमा प्रदेश सरकारले ५० भन्दा बढीलाई राजनीतिक नियुक्ति दिएको छ । तर, राजनीतिक नियुक्तिमा एक जना पनि मुस्लिम समुदायको व्यक्ति नपर्नुले मुख्यमन्त्री राउतप्रति मुस्लिम सामुदायको भरोसा टुटेको छ ।

प्रदेशमा रहेका मदरसाहरुलाई व्यवस्थित बनाउन तथा मदरसा शिक्षालाई मुलधारको शिक्षामा समावेश गर्ने उद्धेश्यले ल्याइएको मदरसा शिक्षा विधेयक प्रदेशसभाबाट अघि बढ्न सकेको छैन ।

मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत साइकल खरिदमा अनियमितता भएको सार्वजनिक लगतै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले छापा मारेपछि उनको पार्टी यतिवेला आन्दोलनमा छ ।

अख्तियार दुरुपयोग भए नभएको हेर्ने राज्यको बैधानिक निकायविरुद्ध नै आन्दोलनमा उत्रिएपछि उनको सुशासन प्रतिकाे प्रतिवद्धतामा विपक्षी दलदेखि स्थानीय जनताले समेत प्रश्न उठाउन थालेका छन् ।

पार्टी भित्र, सरकार सञ्चालन र मधेशी समुदायभित्रै संतुलन कायम राख्न नसकेको भन्दै चौतर्फि दवावमा परेका राउतलाई अख्तियार प्रकरण भने फलामको च्युरा हुने उनकै दलका नेताहरु बताउँछन् ।

- १७ आश्विन २०७८, आईतवार ११:१५ मा प्रकाशित



Kumari Advertisement
top ad