BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

अख्तियारको शैली अनैतिक, असंवैधानिक, पूर्वाग्रहीः अर्थमन्त्री

एक्सन खबर
अख्तियारको शैली अनैतिक, असंवैधानिक, पूर्वाग्रहीः अर्थमन्त्री

सप्तरी । प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकारलाई बदनाम गर्ने उद्देश्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रस्तुत भएको बताएका छन् ।

सप्तरीको वीरेन्द्र बजारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री साहले अख्तियारले आफ्नो कार्यक्षेत्र बिर्सेर सरकारको कार्यकारी प्रमुख कार्यालय पस्नु अनैतिक, असंवैधानिक पूर्वग्राही र द्वेषपूर्ण रहेको बताए । मन्त्री साहले भने, ´अख्तियारसँग संवैधानिक अधिकार छ तर त्यसको प्रयोग गर्ने शैली र अभ्यास आज गलत भएको छ ।’

‘प्रमाण नस्ट हुने अवस्थामा अख्तियारले कुनै दस्तावेज नियन्त्रणमा लिने हो’, मन्त्री साहले भने, ‘अख्तियारको यस्तो व्यवहारले तीन तहमा रहेको संघीय स्वरूप र इकाइहरूका रूपमा संवैधानिक संस्थामध्येका एक सरकारप्रतिको अविश्वासको संघीयताविरोधी मानसिकतालाई प्रतिबिम्बित गर्छ ।’

मन्त्री साहले संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै सम्पूर्ण पहिचान र संघीयता पक्षधरलाई सजग हुन आग्रहसमेत गरे । उनले भने, ‘अख्तियारको कदमले राज्यलाई फेरि एकात्मक र केन्द्रिकृत बनाउने प्रतिगमनकारी केपी शर्मा ओलीको अभिव्यक्ति र व्यवहारको निरन्तरता देखियो ।’

जनता समाजवादी पार्टीद्वारा प्रदर्शन

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आज जनकपुरधाममा मोटरसाइकल जुलुस निकालेको छ ।

जसपा मधेस प्रदेश समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन गरिएको हो । रेल्वे स्टेशनबाट जसपाका नेता कार्यकर्ताले निकालेको मोटरसाइकल जुलुस बजार परिक्रमा गरेको थियो । प्रदर्शनकारीले ‘मधेसविरोधी अख्तियार मुर्दावाद, संघीयताविरोधी अख्तियार मुर्दावाद, अख्तियारका प्रमुख प्रेमकुमार राई राजीनामा दे’ जस्ता नारा लगाएका थिए ।

जसपाले प्रदेश २ को सिरहा, सप्तरी, महोत्तरीलगायतका जिल्लामा पनि अख्तियारविरुद्ध प्रदर्शन गरेको छ । पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत जसपा जिल्ला समितिले प्रदेशका आठै जिल्लाका सदरमुकाममा हिजो साँझ मसाल जुलुस निकालेको थियो ।

बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत खरिद गरेको साइकलमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको कार्यालय बर्दिबासको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो ।

- १७ आश्विन २०७८, आईतवार २०:३२ मा प्रकाशित



Kumari Advertisement
top ad