BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

प्रथम विधान महाधिवेशनले दिएको एकताको सन्देश

भगवती चौधरी
प्रथम विधान महाधिवेशनले दिएको एकताको सन्देश

कम्युनिस्ट पार्टीभित्र कुनैपनि विषय र विचारमा विमर्श, विवाद छलफल र फरकमत हुनु नौलो कुरा होइन । ती विषयलाई सामुहिकताका आधारमा कार्यान्वयन गर्नु मुख्य कुरा हो ।

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ देखि १७) ऐतिहासिक रुपमा सम्पन्न भयो । संभवतः नेपालमा कुनैपनि पार्टीले विधान महाधिवेशन गरेको तथ्यांक छैन । त्यसो त कुनैपनि राजनीतिक दलको महाधिवेशन आफैंमा महोत्सव वा चाडपर्व जस्तै हुन्छ । देशैभरका नेता कार्यकर्ताविच भेटघाट, विचार, अनुभव आदान–प्रदान, आन्तरिक तथा बाह्य राजनीतिको विमर्श । तर, नेकपा एमालेको प्रथम विधान महाधिवेशन न कुनै चाडपर्व थियो नत महोत्सव नै । योत पार्टीभित्र र बाहिर रहेका विकारहरुलाई पखाल्ने, पार्टीलाई नयाँ पद्दति र विधि विधानमा लैजाने दस्तावेज संसोधनको अधिवेशन थियो ।

तसर्थ इतिहासमै पहिलोपल्ट विधान महाधिवेशनमा देशभरबाट गोदावरीमा भेला भएका करिब साँढे ६ हजार प्रतिनिधि, पर्यवेक्षकले एमालेभित्र रहेका विवाद, मतभेद र विकारहरुलाई पखाल्ने काम गरे । पार्टीलाई रुपान्तरण गर्दै अझ स्पातिलो, युग सुहाउँदो लोकतन्त्र, शुशासन र जनताका पक्षमा उभिने बनाए ।

विधान महाधिवेशनले झण्डै दुई तिहाई बहुमतसहितको सरकारबाट बर्हिगमनको कारण, सरकार र पार्टी सञ्चालनमा भोगेका सफलता असफलता सँगै प्रधानमन्त्रीले दुइ÷दुईपल्ट संसद विघटन गर्नुको औचित्यसमेत खोतलेको छ । पार्टीका नेता कार्यकर्ता विच देखिएका अन्तरकलह हल गर्ने काम मात्रै गरेको छैन विधान महाधिवेशन पछि देशभरका कार्यकर्ता नेकपा एमाले एकताबद्ध रहेको प्रष्ट सन्देश पनि लिएर गएका छन् ।

विधान महाधिवेशनले नेकपा एमाले सूर्य चिन्हभित्र रहेका देशभरका लाखौं नेता कार्यकर्तामा नयाँ आशाको रक्त सञ्चार गराएको छ । पार्टीमा रहेका एकाध व्यक्तिहरु बाहिरिए पनि देशभरका नेता कार्यकर्ता एकताकै पक्षमा रहेको सन्देश प्रवाह भएको छ । आउँदो दिनमा नेकपा एमालेकै नेतृत्वमा सरकार बन्नुपर्छ र संमृद्ध नेपाल सुखी नेपालीको अभियान साकार हुनुपर्छ भन्ने सन्देश दिएको छ । आज बाटो बिराएर गएकाहरुलाई पार्टी एकताका पक्षमा आउन, कम्युनिस्ट आन्दोलन र जनताको बहुदलीय जनवादलाई सफल बनाउन आब्हान गरेको छ ।

हिजो कम्युनिस्ट एकताको नारा लगाउनेहरु आज कम्युनिस्ट पार्टीलाई नै टुक्राएर गैरकम्युनिस्टसँग जाेडिएर सत्तामा गएका छन् । यसैबाट उदाङ्गिन्छ नक्कली कम्युनिस्टहरूकाे चरित्र ।

बर्तमान गठबन्धन सरकारको औचित्यका बारेमा पनि विमर्श भए । निकट भविष्यमै देश आम निर्वाचनमा जाने भएकाले अबका तीन वटै निर्वाचनमा एमालेलाई दुई तिहाईका मतसहित विजयी गराउन पार्टी र कार्यकर्ताले खेल्नुपर्ने भूमिका, जनताका पक्षमा पार्टीले लैजाने एजेण्डाका विषयमा छलफल भएका छन् भने, विधान महाधिवेशनले निर्वाचन समिति समेत गठन गरेकाले आउँदा दिनहरुमा पार्टीलाई बलियो बनाउने आधार तयार गर्ने काम गरेको छ ।

कम्युनिस्ट पार्टीभित्र कुनैपनि विषय र विचारमा विमर्श, विवाद छलफल र फरकमत हुनु नौलो कुरा होइन । ती विषयलाई सामुहिकताका आधारमा कार्यान्वयन गर्नु मुख्य कुरा हो । विधान महाधिवेशनले पार्टीभित्र व्यक्ति भन्दापनि मुल्यमान्यता र सिद्धान्तलाई प्राथमिकता बनाएको छ । कुनैपनि विषयमा आलोचना र आत्मलोचनाको संस्कृतिको विकास भएको छ ।

विगत साँढे तीन वर्षयता पार्टीभित्र देखिएका समस्यालाई केलाउँदा दुई वर्षदेखि एमाले अघोषित बन्धनमा थियो । भिन्न स्कूलिङ र पद्दतिबाट सञ्चालित दुई पार्टी (नेकपा एमाले–माओवादी केन्द्र) विचको एकताले विशाल कम्युनिस्ट पार्टी स्थापना गरिएता पनि त्यो एकताको शुत्र चैं गतिलो रहेन । कम्युनिस्ट एकताका नाममा जनमत बटुल्नु, सत्तामा जानु र आफु अनुकूल स्वार्थ खोज्नु वाहेक यो एकताको असलीयत केही रहेनछ भन्ने आज पुष्टि भयो । बाम एकताका नाममा लोकतन्त्रको खोल ओढेर लोकतान्त्रिक पद्दति र विधि विधानलाई धुजाधुजा बनाई पार्टी र सत्ता कब्जा गर्ने सड्यन्त्र नै ‘बाम एकता’मा हस्ताक्षर गर्ने मध्येका केहीको प्रमुख उद्देश्य रहेछ भन्ने अहिले चरितार्थ भयो । हिजो कम्युनिस्ट एकताको नारा लगाउनेहरु आज कम्युनिस्ट पार्टीलाई नै टुक्राएर गैरकम्युनिस्टसँग जाेडिएर सत्तामा गएका छन् । यसैबाट उदाङ्गिन्छ नक्कली कम्युनिस्टहरूकाे चरित्र ।

हुन त कम्युनिस्ट एकताको अभियानलाई यति कठोर भएर लेख्न नहोला । तर, कम्युनिस्ट एकता भित्रका भित्री साँठगाँठ र रहस्यहरुका पर्दाफास हुँदैगर्दा बाम एकतालाई सत्ताको ‘भर्याङ’ बनाउनेहरुले देखाएको ‘ताण्डव’ का अगाडी यी शब्दहरु सरल नै हो । लगातार दुई वर्ष पार्टीभित्र देखिएको विवाद र समस्याका जडहरु पहिल्याउँदै मंसिरको दशौं महाधिवेशनपछि पार्टीलाई कुन बाटोमा लैजाने विधान महाधिवेशनले दिशानिर्देश गर्ने आधार तयार पारेको छ । साथै, दुई वर्षदेखि पार्टी विभाजन गर्न भएका सड्यन्त्र, लोकतन्त्रको हुर्मत लिन गरिएका धोका र प्रहारलाई ‘नेस्तनावुद’ गर्न सफल भएको छ भलै ‘एकाध पात’हरु झरेर गए ।

पार्टीभित्रको विवादमा न्यायालयले ‘बाम गठबन्धन’लाई अबैधानिक भनेर साविकको एमाले र माओवादी पुर्नजिवित भइसकेपछि एमालेभित्रको विवाद आफैं हल हुनुपर्दथ्यो । अथवा, पार्टीलाई परिस्थिति अनुकुल कसरी अगाडी बढाउने नेतृत्वले घनिभूत छलफलद्वारा दिशानिर्देश गर्नुपर्दथ्यो । तर, नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई पदच्युत गर्ने, जनताद्वारा स्थापित सरकार ढाल्ने मात्रै उद्देश्यबाट अभिप्रेरित भएकाहरुले ‘हात्तिको देखाउने दाँत चपाउने दाँत’ जस्तो एकता र रुपान्तरणको कुरा गर्दै भित्रभित्रै पार्टी विभाजनको सड्यन्त्र गरेकै रहेछन् । कम्युनिस्ट आन्दोलनमै आफुलाई समाहित गरेकाहरु आम कार्यकर्ता र जनताको भावना विपरित पार्टीको १० औं महाधिवेशनसम्म नपर्खी, १८ महिनापछि हुने आम निर्वाचनसम्म नकुरी अध्यक्ष र प्रधानमन्त्रीलाई झ्याल ढोका थुनेर घाँटी ङ्याक्ने काम किन गरे भन्ने त बर्तमान गठबन्धन सरकारको परिदृश्यबाट नै छर्लंग भएको छ ।

विधान महाधिवेशनले केपी ओली सरकार ढल्नुको कारण ? त्यसका शुत्रधार समेतलाई पहिल्याएको छ । र, तत्कालिन अवस्थामा ओली सरकारले २÷२ पटक संसद विघटन जस्तो अप्रिय निर्णय लिनुको बाध्यताको विश्लेषण पनि गरेको छ । भने, बहुमत भएको पार्टी प्रतिपक्षमा रहँनु र स्वार्थैस्वार्थले प्रेरित गठबन्धनको सरकारको औचित्य पनि खोजेको छ ।

२०७५ साल जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रविच पार्टी एकता हुनु अगाडी २०७४ असोजमा मुलुकलाई समाजवादतर्फ डोर्याउँदै विद्यमान सबै प्रकारका असमानताहरुको अन्त्य गर्ने र विशाल कम्युनिस्ट पार्टी निर्माण गर्ने सहमति भएको थियो । नयाँ संविधान जारी भएपछिको आम निर्वाचनमा दुई पार्टीविच तालमेल गरी ‘बाम गठबन्धन’ बाट निर्वाचन लडियो । ‘दुई तिहाईको स्थायी सरकार’, ‘बृहद कम्युनिस्ट एकता’ जस्ता क्रान्तिकारी नारा दिइएर गरिएको गठबन्धनमा जनताले पनि विस्वास गर्दै स्थानीय र प्रतिनिधिसभा दुवै निर्वाचनमा झण्डै दुई तिहाई मत प्राप्त गरेको हो । तर, अस्थिरता निम्त्याएर सत्ता स्वार्थ खोज्नेहरुले जनताको अभिमतलाई कुल्चने काम गरे । इतिहासले यसलाई अवश्य नै पर्गेल्नेछ ।
कुराकानीमा आधारित
नेतृ चौधरी, नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज हुनुहुन्छ ।

- २३ आश्विन २०७८, शनिबार २२:३१ मा प्रकाशित



Kumari Advertisement
top ad