BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

कर्णालीका युवाको कहर : दसैंको मुखमा काम खोज्दै कालापहाड

जितेन्द्र थापा
कर्णालीका युवाको कहर : दसैंको मुखमा काम खोज्दै कालापहाड

दैलेख । खेतमा धानका बाला लहलह झुलेका छन् । चाडबाड सुरु भएसँगै यी बाली अझै शुन्दर देखिएका छन् । विदेशबाट फर्किने दाजुभाइको चहलपहलले गाउँमा रौनक थपिएको छ । गाउँका चियापसल र चोकमा तातो चिया मात्रै होइन तात्तातो राजनीतिक बहस सुरु भएको छ ।

तर कर्णालीका धेरैजसो गाउँमा अलि भिन्न दृश्य देखिन्छ । यहाँ चाडपर्व मनाउन घर आउनेहरू मात्र छैनन्, यसैबेला गाउँघर छोड्नेहरूको लस्कर पनि लामै छ । स्वदेश फर्किनेको लर्को जत्तिकै लामो लर्को छ रोजगारीका लागि परदेश पस्नेको । दसैंको मुखमा बसपार्क र नेपाल–भारत सीमा नाकाहरूमा आउने–जानेको उस्तै भिड छ । गाउँ फर्कने र छोड्ने दुवैथरीका आफ्नै खुसी र बाध्यता छन् ।

चाडबाडका बेला गाउँ आउनेमा उमंग छ, ठिक विपरित घर छोड्नेहरूको शीरमा बाध्यताको बोझ छ । कर्णालीका सबैजसो जिल्लामा बेरोजगारी समस्या अधिक छ । देशभित्रकै ठूला सहर र भारतसहित तेस्रो मुलुक नगइ धेरै नागरिकलाई जीवन धान्न मुस्किल छ । त्यसैले मुख्य चाडमा पनि कर्णालीबासी परिवार छोडेर काम खोज्न भारत गइरहेका छन् ।

कोरोना महामारीका कारण पुरै समय काम गर्न नपाएर भारतबाट फर्किएकाहरू चाड भित्रिसक्दा पनि फेरि बाहिरिन थालेका छन् । अहिले भारत हिँडेकाहरू भन्छन, ‘मन त थियो घरआँगनमै रमाएर चाड मनाउने । के गर्नु, गरिबीले यसैबेला कालापहाड लखेट्यो ।’ कर्णालीमा ज्याला मजदुरी गर्न भारत जानुलाई कालापहाड भनिन्छ ।

दैलेख आठबिस नगरपालिका–३ का रमेश बडुवाल गत शनिवार वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा भेटिए । उनी भारतमा नोकरी गर्न हिँडेका थिए । दसैंको मुखमा घर छोड्नु उनको बाध्यता रहेछ । यसअघि पनि घर खर्च जुटाउन भारत आउजाउ गरिरहने बडुवाल कोराना महामारीले गर्दा दुई वर्षदेखि घरमै थन्किएका रहेछन् । ‘न पकेटमा नगद, न त घरमा खाने गाँस,’ उनले भने, ‘दसैं मनाउने मेसो नभएपछि मन भारी बनाएर घर छोडियो ।’

उनको परिवारले दसैंको मुखमा भारत नजान आग्रह गरेको थियो । बडुवालले भने, ‘परिवारले चाड सकिएपछि जानु भनेका थिए, गोजीमा दुई पैसा नहुँदा मनले घर बस्नै मानेन ।’ उनी भारतको कोटद्वारस्थित एक होटेलमा काम गर्नेगरी जान लागेको बताए । ‘होटेल मालिकले छिटै आउनु भनेर खबर पठाए, मालिकको फोन आएपछि आँगनमा आएका चाड पनि बिर्सिएर जाँदै छु,’ उनले भने, ‘दसैं अर्को साल मनाउँला । कमाइ नगरे परिवारको गर्जो कसरी टार्नु ?’

सीटी बसपार्कमै गाडी पर्खिरहेका थिए दैलेख ठाँटीकाँध गाउँपालिका–२ का सन्तराम विक । उनी निराश देखिन्थे । खुसी हुनु पो कसरी, चाडका बेला घर छोडेर हिँडेका छन् । सन्तराम भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनाली जाँदै थिए । विगतका वर्षहरूमा पनि उनी ज्याला मजदुरी गर्न त्यहीँ पुग्थे । कोरोना त्रासले फर्किका उनी अहिले फेरि भारत जान लागेका हुन् । घरमा उनको सात जनाको परिवार छ । सन्तरामकै कमाइको भरले खर्च चलाउनुपर्छ । थोरै पाखोबारी छ, त्यसको उब्जनीले तीन महिना खान पुग्दैन । ‘आफूले कमाएर नपठाए घरमा चुल्हो बल्दैन,’ उनी भन्छन्, ‘परदेशिनु मेरो बाध्यता हो ।’ उनले घर परिवारलाई ऋण–सापट गरेर भए पनि दसैैं मनाउन सुझाएर आफू हिँडेको बताए ।

कर्णालीका युवाहरू खासगरी खेतीपातीको काम सकेर भारत जान्थे । अलिअलि कमाइ गरेर दसैं–तिहार जस्ता ठूला पर्वमा फर्किन्थे । कोरोना महामारीका कारण धेरैले पछिल्लो समय भारत पुग्न बित्तिकै काम छोडेर फर्कनु पर्यो । लामो समय गाउँमै बेरोजगार बसे । आर्थिक अभावले अहिले उनीहरू घर फर्कनुपर्ने सिजनमा भारत पस्न थालेका हुन् । प्रहरीका अनुसार कर्णालीको मुख्य नाका बबई भएर भित्रिने र बाहिरिनेको संख्या बराबरी जस्तै छ । भारतबाट दैनिक फर्कने एक सय हाराहारीमा छन् भने उता जानेको संख्या पनि ५० भन्दा बढी छ ।

कर्णालीका हजारौं युवाको जीवनको उर्जाशील समय भारतमा ज्यालामजदुरी गरेर बित्छ । यकिन तथ्यांक नभए पनि कर्णालीका करिब एक लाख मानिस भारतका विभिन्न शहरमा रहेको अनुमान छ । तीमध्ये सबैजसो कामको खोजीमा गएका हुन् ।

- २४ आश्विन २०७८, आईतवार १५:५७ मा प्रकाशित



Kumari Advertisement
top ad