BREAKING NEWS
१७ मंसिर २०७८, शुक्रबार

नेपाली फुटवल टीमका प्रशिक्षक अलमुताइरी नेपाल आउन तयार

एक्सन खबर
नेपाली फुटवल टीमका प्रशिक्षक अलमुताइरी नेपाल आउन तयार

काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टीमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटवल टीम पुनः संहाल्ने घोषणा गरेका छन् । १३ औं साफमा नेपाललाई ऐतिहासिक रुपमा फाइनलसम्म पुर्याएर नेपाली फुटवल प्रेमीको मन मुटुमा बस्न सफल अलमुताइरी अखिल नेपाल फुटवल संघ (एन्फा) सँग तीन वर्षको सम्झौतामा सहमत भएका छन् ।

फेसवुक स्टाटस लेख्दै अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटवल एशोसिएशनका अधिकारीहरुसँगको भेटपछि आफुले नेपाली फुटवल टीमको प्रमुख प्रशिक्षक पदलाई आगामी तीन वर्षका लागि सम्झौता गर्ने निर्णय गरेको जनाएका छन् ।

यसअघि केही मिडिया र एन्फाका केही पदाधिकारीसँगको विवादमा साफ फाइनल अगाडी नै राजिनामा बुझाएका अलमुताइरीले अब तीन वर्ष नेपाली फुटवल टीम संहाल्ने भएका छन् ।

‘कर्मा छिरिङ शेर्पा र क्युएफए अधिकारीहरूसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु र मलाई नेपाल फर्काउन सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद ।’ अलमुताइरीले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले नेपाली टीमलाई नयाँ मिसनमा सफलताको कामना समेत गरेका छन् । ‘हामी हाम्रा आगामी २ वर्षको लक्ष्य र योजना छिट्टै प्रकाशित गर्नेछौं, मेरो वाचा नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई समय मात्र दिनुहोस् ।’ अलमुताइरीले भनेका छन् ।

माल्दिभ्समा सम्पन्न १३ औं साफ फुटवल च्याम्पियनसिप प्रतियोगिता लगत्तै २ साताका लागि कतार गएका अलमुताइरीसँग एन्फा अध्यक्ष शेर्पाले विशेष भेटघाट गरेका थिए । त्यसबेलै शेर्पाले अलमुताइरी नेपाल आउन सकारात्मक रहेको बताएका थिए ।

अलमुताइरीलाई नेपाली फुटवल खेललाई नयाँ उचाईमा लैजाने श्रेय छ । उनले टीम संहालेपछि नेपालले परम्परागत फुटवलबाट माथि उठेर आक्रमक फुटवल खेलेको छ । आउँदो २ वर्ष उनले नेपाली टीम संहाले त्यसले नेपालको फुटवललाई नयाँ उचाईमा पुर्याउन सक्ने विस्वास गर्न सकिने खेल विष्लेशकको भनाई छ ।

- १० कार्तिक २०७८, बुधबार १६:०८ मा प्रकाशित



top ad