BREAKING NEWS
१६ मंसिर २०७८, बिहीबार

युईएफए च्याम्पियन्स लिगः रियल म्याड्रिड र इन्टरको जित

एक्सन खबर
युईएफए च्याम्पियन्स लिगः रियल म्याड्रिड र इन्टरको जित

काठमाडौं । युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल मड्रिड र इटालीयन क्लब इन्टर मिलानले जित हात पारेका छन् । बुधबार राति भएको खेलमा रियलले फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा युक्रेनी क्लब सख्तर डोनस्कलाई २–१ गोल अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा ब्राजिली विंगर भिनिसियस जुनियरले दुई असिस्ट उपलब्ध गराए । साख्तरका फर्नान्डोले एक सान्त्वना गोल फर्काए ।

समूह ‘डी’ कै अर्काे खेलमा भ्रमणकारी इटालीयन सिरी ए क्लब इन्टर मिलानले माल्डोभाको एफसी सेरिफलाई उसकै मैदानमा ३–१ गोल अन्तरले पराजित गर्‍यो ।

इन्टर मिलानको जितमा मार्सेलो ब्रोजोभिक, मिलान स्क्रिनिएर र एलेक्सिस सान्चेजले समान एक एक गोल गरे । सेरिफका एडमा ट्राओरेले एक गोल फर्काए ।

जितसँगै समूह ‘डी’ मा ४ खेलबाट ३ जित र १ हार ब्यहोरेको रियल ९ अंकसहित शीर्षस्थानमा छ । इन्टर ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लदा सेरिफ ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित सख्तर १ अंक जोडेर पुछारमा रहेको छ ।

अजाक्स अन्तिम १६ मा, डर्टमण्ड पराजित

युईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा अजाक्स र स्पोर्टिङ सिपीले जित हात पारेका छन् । बुधबार रातिको जितसँगै समूहमा ६ अंकको अग्रता बनाएको नेदरल्याण्डको शीर्ष डिभिजन च्याम्पियन अजाक्स अन्तिम १६ मा स्थान सुरक्षित गरेको हाे ।

जर्मन क्लब बोरुसिया डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा अजाक्स ३–१ ले विजयी भयो । १-० ले पछि परेको स्थितिलाई उल्टाउने क्रममा अजाक्सको लागि डुसान टाडिक, सेबास्टियन हलेर र डाभ्य कलासेनले एक एक गोल गरे । यता, डर्टमण्डको लागि मार्काे रेउसले पेनाल्टीमा गोल गर्दै ३७ मिनेटमा अग्रता बनाएका थिए ।

गएराति नै भएको अर्काे खेलमा पोर्चुगलको स्पोर्टिङ सिपीले टर्कीको बेसिक्तास जेकेलाई ४–० गोल अन्तरले पराजित गर्‍यो । स्पोर्टिङको एकोहोरो जितमा पेड्रो गोन्काल्भेसले दुई गोल तथा पौलिन्हो र पाब्लो सरवियाले एक एक गोल गरे ।

चौथो चरणको अन्त्यसँगै समूह ‘सी’ बाट ४ खेल खेल्दै अजाक्स सत प्रतिशत जित सहित १२ अंक बोकेर शीर्षस्थानमा छ । समान ६ अंक भए पनि गोल अन्तरका आधारमा स्पोर्टिङ दोस्रो र डर्टमण्ड तेस्रो स्थानमा छ । बिना अंक बेसिक्तास भने पुछारमा रहेको छ ।

- १८ कार्तिक २०७८, बिहीबार १०:३९ मा प्रकाशित



top ad