BREAKING NEWS
१७ मंसिर २०७८, शुक्रबार

पर्सा जिल्लालाई एमालेमय बनाउन अन्सारीको सक्रियता, बालकोटमा पार्टी अध्यक्षसँग छलफल

एक्सन खबर
पर्सा जिल्लालाई एमालेमय बनाउन अन्सारीको सक्रियता, बालकोटमा पार्टी अध्यक्षसँग छलफल

काठमाडौं । पर्सा जिल्लालाई आउँदो निर्वाचनमा नेकपा एमालेमय बनाउन सो क्षेत्रका नेता तथा संभावित उम्मेद्वार कम्मर कसेर लागेका छन् । यसका लागि स्थानीय, प्रदेश र केन्द्रीय तहमै छलफल, बैठक तथा अन्तरक्रियाहरु भइरहेका छन् ।

नेकपा एमाले केन्द्रीय सदस्य बसरुद्धिन अन्सारीको सक्रियतामा पर्सा जिल्लालाई नै एमालेमय बनाउन कसरत भइरहेको छ । पार्टीका वडा, नगर कमिटीहरुको अधिवेशनमा जिल्लाभर दौडिएका अन्सारीले आजैमात्र पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र शीर्ष नेताहरुसँग भेटघाट गरेर प्रदेश २ र पर्सा जिल्लाको बस्तुस्थिति अवगत गराएका थिए ।

अन्सारीले बालकोट पुगेर पार्टी अध्यक्ष ओलीसँगै सुवासचन्द्र नेम्वाङ, टोपबहादुर रायमाझी, शेरधन राई, सत्यनारायण मण्डलसँग छलफल गरेको अन्सारीका स्वकीय सचिव दिलिप शाहले बताए । ‘पर्सा जिल्ला र २ नम्बर प्रदेशको पछिल्लो राजनीतिक अवस्था, पार्टीको सांगठनिक अवस्था र आगामी रणनीतिका बारेमा बृहद् छलफल भएको छ ।’ स्वकीय सचिव शाहले भने ।

आउँदो निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ को संभावित उम्मेद्वार समेत रहेका अन्सारीले जिल्लामा नेकपा एमालेलाई पहिलो पार्टी बनाउन आफ्नो मुख्य उद्देश्य रहेको बताए । ‘जिल्लामा पार्टीको सांगठनिक अवस्था कस्तो छ ? महाधिवेशनमा कसरी जाने ? आउँदो निर्वाचनसम्म पार्टीलाई कसरी १ नम्बरको पार्टी बनाउने ? भन्ने विषयमा छलफल भयो ।’ अन्सारीले भने ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको १० औं महाधिवेशनबाटै आउँदो निर्वाचनमा पार्टीलाई एक नम्बरको पार्टी बनाउने कसरतमा रहेको नेकपा एमालेले मधेशमा स्थापित गराउन जोडवल लगाईरहेको छ ।

मध्यावधी निर्वाचनको चर्चा चुँलिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अहिले बाटै मधेशको भोट तान्ने प्रयास गरिरहेको छ । नेकपा एमालेले प्रदेश २ मा पकड कायम गर्न अहिलेदेखि नै जोडवल लगाईरहेको छ । मधेशवादी दलहरु विभाजित भएको अवस्थामा एमालेले मधेशका बहुमत जनताको राय लिएर रणनीति बनाउने देखिएको छ ।

मंसिरमा हुने महाधिवेशनमा समेत मधेशका मुद्दा र समस्याहरुलाई कसरी उठान गर्ने तथा संवोधन गर्ने भन्नेमा वहस तथा छलफल हुने बुझिएको छ ।

- १८ कार्तिक २०७८, बिहीबार १३:१६ मा प्रकाशित



top ad