BREAKING NEWS
१७ मंसिर २०७८, शुक्रबार

धरानमा एकीकृत समाजवादीकाे कार्यालय सञ्चालनमा

एक्सन खबर
धरानमा एकीकृत समाजवादीकाे कार्यालय सञ्चालनमा

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आजबाट सुनसरीको धरानमा नगर समिति कार्यालय सञ्चालन गरेको छ । उक्त पार्टीका नेता कैलाश अग्रवालको अध्यक्षतामा बसेको बैठकले कार्यालय व्यवस्थापनका लागि छलफल गरी पुरानो पानस होटल भएको घरमा कार्यालय सञ्चालन गरेकाे हाे ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा पार्टीकै खेलकुद बिभाग प्रमुख केशब कुमार बिष्टले पार्टीकाे कमिटी सञ्चालन तथा जिल्लामा इन्चार्ज तोक्ने विषयमा छलफल गरी चाँडो स्थायी कमिटीले निर्णय गर्ने बताए । हालै विभाजित उक्त पार्टीमा प्रदेशसभा सदस्यका साथै स्थानीय तहका सदस्य प्रवेश गर्ने क्रम जारी रहेको सुनसरी जिल्ला अध्यक्ष गोबिन्द निरौलाले जानकारी दिए ।

गएको ५–७ असोजको केन्द्रीय कमिटी बैठक र २१ असोजको स्थायी कमिटीले गरेका निर्णयलाई अन्तरपार्टी निर्देशन मार्फत प्रेषित गरिएकाे कार्यदिशा अनुसार पार्टीका बिभिन्न जिल्लाहरुमा संगठन निर्माण, कार्यालय व्यवस्थापन लगायतका कामहरू अगाडी बढाएको छ ।

कार्य विभाजनमा माधवकुमार नेपालले अध्यक्षको नाताले समग्र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्। भने झलनाथ खनाललाई सम्मानित नेताको पद तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

मुकुन्द न्यौपाने तेस्रो वरीयतामा छन् भने उद्योग, वाणिज्य विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। प्रदीप नेपाल पार्टी सम्बद्ध प्रतिष्ठानहरूको इन्चार्ज तोकिएका छन्। त्यसैगरी, उपाध्यक्ष राजेन्द्र पाण्डेले राजकीय मामिला विभाग प्रमुख, प्रमेश हमालले स्कूल विभाग प्रमुख र बेदुराम भुसाल सङ्गठन विभाग प्रमुख तोकिएका छन्।

वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा गठन भएको समाजवादी प्रेसको विधान तयार भइसकेको र पत्रकारहरुको संगठन समेत बनाईने कार्य धमाधम भईरहेको समाजवादीका नेताहरुले जानकारी दिएका छन् ।

- ६ मंसिर २०७८, सोमबार २१:४९ मा प्रकाशित



top ad