BREAKING NEWS
१९ मंसिर २०७८, आईतवार

प्रेस सेन्टर नेपालकाे प्रदेश भेलामा भाँडभैलाेः गुटवन्दी भएकाे भन्दै ‘नाेट अफ डिसेन्ट’

एक्सन खबर
प्रेस सेन्टर नेपालकाे प्रदेश भेलामा भाँडभैलाेः गुटवन्दी भएकाे भन्दै ‘नाेट अफ डिसेन्ट’

सुनसरी । प्रेस सेन्टर नेपाल प्रदेश १ को भेलामा विवाद उत्पन्न भएकाे छ । प्रेस सेन्टर प्रदेश १ काे नयाँ नेतृत्व चयन गर्ने क्रममा होटल व्यवसायीलाई नेतृत्वमा ल्याएको र गुटगत राजनीतिबाट नयाँ नेतृत्व चयन भएको भन्दै प्रेस सेन्टर सोलुखुम्बुले विरोध जनाएको हो ।

सोलुखुम्बु जिल्लाका प्रतिनिधिहरूले मध्यरातमा नेतृत्वप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिएका थिए । होटल व्यवसायी तथा पहुँचवालालाई नेतृत्वमा ल्याएको, सोलुखुम्बुलाई बेवास्ता गरिएको उनीहरूको जिकीर छ ।

प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहालसमेत उपस्थित भएको कार्यक्रममा नेतृत्व चयनमा बेवास्ता गरिएको भन्दै सोलुखुम्बु जिल्लाका प्रतिनिधिले नोट अफ डिसेन्ट लेख्दै कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।

प्रेस सेन्टर सोलुखुम्बुका अध्यक्ष माेतीराम रसाइली, उपाध्यक्ष तेज किराती, सचिव धनबल राई, समावेशी सहसचिव वसन्ती राई, खुल्ला सहसचिव रमन वन, प्रदेश प्रतिनिधि डाकमान राई तथा प्रदेश १ का सदस्य भरतराज शर्मा (गोपाल)ले पनि विधि र प्रक्रिया नपुर्‍याइ पदाधिकारी चयन गरिएकोप्रति आपत्ति जनाएका छन् ।

उनीहरूले संयुक्त हस्ताक्षरसहित निर्वाचन समितिका गणेश लम्साललाई असहमतिको पत्र बुझाएका छन् । नोट अफ डिसेन्ट पत्रमा प्रदेशमा भएको गुटबाट निर्देशित प्रेस सेन्टर नेपाल प्रदेशको पेलाइलाई अस्वीकार गरेको, एउटै जिल्लालाई दुईवटा सचिव दिएको, सेन्टरलाई मोरङ र सुनसरी केन्द्रित बनाउने काम भएको, होटल व्यवसायीलाई पदाधिकारी बनाउने उल्लेख छ ।

प्रेस सेन्टरमा एकै घरका तीन जना दाजुभाईलाई मुख्य सचिव सहित बिभिन्न पदमा जिम्मेवारी दिएको, होटल व्यवसायी तथा पहुँचवालालाई नेतृत्वमा ल्याएको, अल्पसंख्यक कोटामा समेत कुनै ब्यक्ति नराखेको तथा पहाडी जिल्ला सोलुखुम्बुलाई बेवास्ता गरि बैठक अगाडी बढिरहँदा असन्तुष्ट पक्षले फरक मत राखिरहेकै समयमा माओवादी पार्टीका एक नम्बर प्रदेश संचार बिभाग प्रमुख शिवकुमार डाँगीको निर्देशनमा जवरजस्ती सर्बसम्मत कमिटी घोषणा गरेको प्रति उनीहरूको आपत्ति रहेको छ ।

प्रदेश भेलामा सहभागी नभएकालाई समेत प्रदेश कमिटी सदस्य राखिएकाेमा उनीहरूले असहमति जाहेर गरेका छन् ।

प्रेस सेन्टर नेपालले दोस्रो प्रदेश अधिवेशन विराटनगरमा आयोजना गरेको थियो । नेतृत्व चयनका लागि गएराति मध्यरातसम्म सहमतिको प्रयास भएको थियो । सहमतिको आधारमा नेतृत्व चयन गर्ने क्रममा केही व्यवसायी पनि पदाधिकारीमा आएपछि जिल्ला प्रतिनिधिहरूले विरोध जनाएका थिए ।

- ८ मंसिर २०७८, बुधबार २१:४१ मा प्रकाशित



top ad