Follow us:


Follow us

८ वैशाख २०८१, शनिवार
८ वैशाख २०८१, शनिवार


दुई ठूला उद्योग खोल्ने आरकेडी होल्डिङ्सकाे याेजना

एक्सन खबर
बैशाख, ७, २०८०


दुई ठूला उद्योग खोल्ने आरकेडी होल्डिङ्सकाे याेजना

काठमाडाैं, ७ बैशाख । आरकेडी होल्डिङ्स लिमिटेडले दुई ठूला उद्योग खोल्ने प्रस्ताव पास गरेको छ । आरकेडीकाे छैठौ साधारण सभाले देशकै दुइ ठूला परियाेजना सञ्चालन गर्ने प्रस्ताव पास गरेकाे हाे ।

उक्त कम्पनीले हाल रियल स्टेट, पूर्वाधार, पर्यटन, होटल, साहसिक पर्यटन क्षेत्र सँगै रोप–वे केवलकार उद्योगहरू निर्माणको काम गरिरहेको छ । परियोजना निर्माणको इभेन्ट म्यानेजमेन्ट गर्ने र रियल स्टेट व्यापार गर्ने उद्देश्यले युवा व्यवसायीले स्थापना गरेको कम्पनीले देशका सातै प्रदेशमा केवलकार सहितको तारे होटलहरू निर्माण गर्ने याेजना बनाएर काम गरिरहेकाे बताएकाे छ ।

मुलुकमा निर्यातमुखी र उत्पादनमुखी उद्योगकाे अपरिहार्यतालाइ बुझेर सोही क्षेत्रमा काम गर्ने रणनीति बनाएकाे कम्पनीले आगामी ४ वर्षभित्र सञ्चालनमा आउने गरी ३ अर्ब ५० करोड रूपैयाँसम्म लागतको पूर्ण स्वचालित स्टिल उद्योग स्थापना गर्ने बताएको छ ।

साथै, कृषि क्षेत्रमा देखिएको रासायनिक मलखादको माग सम्बोधन गर्ने गरी ७५ अर्ब लागतमा आगामी १० वर्षभित्र सम्पन्न हुने गरी इलेक्ट्रिक सिस्टममा आधारित स्वचालित वार्षिक ४ लाख मेट्रिक टन बढी युरिया मल उत्पादन क्षमताको उद्योग स्थापना गर्ने प्रस्ताव पास गरेकाे छ ।

उद्योगमा कम्पनी समूहको नियन्त्रणमा ५१ प्रतिशत सेयर रहनेछ भने बाँकी सेयर अन्य पक्षहरूलाई दिने कम्पनीले याेजना रहेकाे कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।  

यी दुई उद्योगको स्थापना र सञ्चालनबाट मुलुकमा ठूलो आर्थिक परिवर्तनहुने तथा निर्यातमुखी र उत्पादनमुखी अर्थ व्यवस्थाको बाटो खोल्न सक्ने अध्यक्ष शर्माकाे भनाइ छ । ‘मुलुकमा आम मानिसहरूको तहबाट नै मिलेर केहि गर्नुपर्छ भन्ने सोचले ठूला आकारको लागानीको लागि अगाडि बढ्न लागेका हाैं । यी दुइ परियाेजनाले मुलुकमा ठूलाे राेजगारीकाे सृजना पनि गर्नेछ ।’ अध्यक्ष शर्माले भने । नेपालमा वार्षिक ८ लाख मेट्रिक टन बढी युरिया मलको माग रहेकाले यस्तो उद्योग खोल्न राज्यले अधिकतम सहजीकरण गर्नु पर्ने शर्माकाे भनाइ छ ।

समूहले बन्दीपुरमा ५ तारे होटल सहितको ४ अर्बको परियोजना सम्पन्न गर्ने तयारी गरेको छ । रुपन्देहीको भैरहवामा लर्ड बुद्ध अन्तर्राष्ट्रिय टुरिजम गार्डेन, तनहुँको आबुखैरेनिमा ५ अर्बको लागतमा पृथ्वी राजमार्ग खानीखोलादेखि छिम्के स्वरी मन्दिरसम्म ३६ मिटर लामो केवलकार सहितको अत्याधुनिक सांस्कृतिक थिम पार्कको काम अगाडी बढाएको छ ।

यसैगरी पोखराको पञ्चासेमा ८ अर्ब लागत रहने गरी पर्यटन पूर्वाधारयुक्त केवलकार निर्माणको काम समेत अगाडी बढाएको छ ।

जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँबाट आवश्यकता अनुरुप वृद्धि गरी आर्थिक स्वपुँजीको लागि अगाडि बढ्ने नीति रहेको कम्पनीका आर्थिक परामर्शदाता सिए दिपक गौतमले बताएका छन् ।

कम्पनी समूहमा स्वदेश र प्रवासमा रहने ११ हजार बढी लगानीकर्ताहरू र २१ बढी कम्पनी रहेका छन् । अर्को वर्ष कम्पनीले जारी पुँजीको १२ प्रतिशत हुने गरी आइपिओ समेत निष्कासन गर्ने तयारी गरेको बताइएकाे छ ।













0 प्रतिकृया