Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


आज विश्व वातावरण दिवसः नेपालमा पनि मनाइँदै

एक्सन खबर
जेठ, २२, २०८०




आज विश्व वातावरण दिवसः नेपालमा पनि मनाइँदै

काठमाडौं, २२ जेठ । आज विश्वभर विश्व वातावरण दिवस मनाइँदै छ ।  ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि याे दिवस मनाइँदै छ । नेपालमा सरकारी तथा गैरसरकारी तवरबाट याे दिवस मनाइँन्छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताएका छन् । सबैले आफ्नो घर वरिपरी रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने राष्ट्रपतिकाे भनाइ छ ।

मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बनेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुभकामना व्यक्त गरेका छन् । वर्तमान वैश्विक जगतको सबैभन्दा महत्त्वपूर्ण वातावरणीय चुनौतीहरूमध्ये एक प्लास्टिक प्रदुषणलाई  प्रमुखताका साथ उजागर गर्ने गरी दिवस मनाउन गइरहेकाे जनाउँदै प्रधानमन्त्रीले प्लास्टिक आधुनिक जीवनको अभिन्न अंग बनिसकेको र उद्योगमा क्रान्ति ल्याएको, दैनिक सुविधाहरूमा सुधार गरेपनि प्लास्टिककाे अत्याधिक र अव्यवस्थित प्रयोगले ठूलो वातावरणीय समस्या सिर्जना गरेको जनाएका छन् ।

‘हाम्रा महासागरहरू, ल्यान्डफिल साइटहरू, समथर भूमि, पहाडी, उच्चपहाडी र हिमाली क्षेत्रहरु जताततै प्लास्टिकको फोहोरले भरिएका छन्, जसले मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पुर्‍याउने खतरा बढ्दै गइरहेको छ ।’ वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै लगिने बताउँदै प्रधानमन्त्रीले भनेका छन् ।

प्रत्येक वर्ष, विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामाग्रीहरू उत्पादन हुने गरेको र यसको ठूलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ । यसले पारिस्थितिक प्रणालीलाई समेत नराम्रोसँग असर पुर्‍याउन सक्ने देखिएको हुँदा यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयासस्वरुप संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा प्लास्टिक प्रदूषण सन्धि सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको छ ।













0 प्रतिकृया