Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


नेपाल इन्जिनियरिङ कलेजले पायो पुनः स्थायी अनुमति

एक्सन खबर
जेठ, २२, २०८०




नेपाल इन्जिनियरिङ कलेजले पायो पुनः स्थायी अनुमति

काठमाडौं, २२ जेठ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले पुनः स्थायी स्वीकृति प्राप्त गरेको छ । सञ्चालकहरु विचको स्वामित्त विवादका वावजुद पनि कलेजले आफ्नो शैक्षिक गुणस्तर कायमै राखेको हो ।

नेपाल इन्जिनियरिङ काउन्सिलले विश्वव्यापी कोरोना महामारीका कारण ४ वर्षपछि गरेको अनुगमनमा समेत नेकको शैक्षिक गुणस्तर कायमै रहेको भन्दै स्थायी स्वीकृति दिएको हो । काउन्सिलले स्थायी स्वीकृति पाएकाहरुलाई दुई दुई वर्षमा अनुमगन गर्छ । भने, अस्थायी स्वीकृति पाउनेहरुलाई प्रत्येक वर्ष गर्दछ ।

नेकले २०६१ सालदेखि स्थायी स्वीकृति पाउँदै आएको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए । ‘काउन्सिलले स्थायी स्कीकृति पाएका कलेजहरुलाई दुई दुई वर्षमा अनुगमन गर्छ । कोरोना महामारीका कारण विचमा अनुगमन हुन सकेको थिएन । बैशाख २० गते काउन्सीलको टोलीले अनुगमन गरेको थियो ।’ प्राचार्य श्रेष्ठले भने,‘शिक्षकहरुको योग्यता, क्षमता, भौतिक पूर्वाधार, प्रयोगशाला, शिक्षण सामग्रीलगायत सबै पक्षको मिहिन ढंगले अनुगमन भएको थियो । हामीले पुनः स्थायी स्कीकृति पायौं ।’

पुल्चोक क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ कलेज, मध्यमाञ्चल क्याम्पस जस्ता सरकारी लगानी र व्यवस्थापनमा चल्ने कलेजहरु वाहेक आफ्नै लगानी र आम्दानीमा चलिरहेका कलेजमध्ये नेकले मात्र स्थायी अनुमति प्राप्त गरेको हो ।

काउन्सिलको स्थायी अनुमति प्राप्त गर्न सय पुर्णाङ्कमा कम्तिमा ९० अंक ल्याउनु पर्छ । यो पटकको अनुगमनमा कलेजले ९० दशमलब ३६ अंक प्राप्त गरेको छ । भौतिक पूर्वाधार (जग्गा, भवन, फर्निचर) को २० पूर्णाङ्कमा कलेजले १७ दशमलब ४ अंक प्राप्त गरेको छ । २० पूर्णाङ्ककै प्रयोगात्मक शिक्षण विधि र उपकरणमा १६ दशमलब ६ अंक प्राप्त गरेको छ । पुस्तकालयमा प्राप्त पुस्तक तथा जर्नल र रिसर्च सेन्टरको १५ पूर्णाङ्कमा १४ दशमलब ५ अंक प्राप्त गर्न सफल भएको छ ।

यस्तै, शिक्षक, प्रिन्सिपल, विभागीय प्रमुखहरुको योग्यतामा २५ पूर्णाङ्कमा शतप्रतिशत अंक हासिल गर्न सफल भएको काउन्सिलले जनाएको छ । कलेजमा अधिकांश शिक्षक, फ्याकल्टीहरु पूर्णकालिन रहेका छन् ।

प्रशासकीय कर्मचारी, ल्याब, पुस्तकालय तथा अन्य कर्मचारी अनुगमनको ५ पूर्णाङ्कमा ४ अंक पाएको छ भने, १० पूर्णाङ्कको नियमित शिक्षण र फ्याकल्टी डेभलपमेन्ट कार्यक्रममा ९ अंक प्राप्त गरेको छ । ५ पूर्णाङ्कको निरीक्षकहरुको मुल्यांकनमा ४ दशमलब ४ अंक प्राप्त गरेको छ । कलेजले २०७६ सालको अनुगमन मुल्यांकनमा भन्दा बढी नम्बर प्राप्त गरेको छ । ०७६ सालको अनुमगनमा ९० दशमलब १८ अंक प्राप्त गरेको थियो ।

बैशाख २० गते परिषद्का उपाध्यक्ष डा. विकास अधिकारीको नेतृत्वमा सदस्य तथा विषय विज्ञ प्रा.डा. विष्णु प्रसाद पाण्डे तथा कर्मचारी इन्जिनियर दीपेन्द्र कुमार बडियतले कलेजको सम्पूर्ण भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री, पुस्तकालय, प्रयोगशाला तथा कक्षा कोठाहरुको चेकलिस्ट अनुसार निरीक्षण गरेका थिए ।

सञ्चालकहरु विचको विवादका कारण व्यवस्थापकीय समस्यामा परेको कलेजको शैक्षिक गुणस्तरमा रत्तिभर कमी नआउनु सुखद् पक्ष रहेको प्राचार्य डा. श्रेष्ठले भने । ‘कलेज सामाजिक शैक्षिक संस्था हो भन्नेमा लामो विवाद र कानुनी लडाई चलिरहेपनि हामीले शैक्षिक गुणस्तर कायम गराउन र पठनपाठनलाई नियमित राख्न सकेका छौं । यो सबै फ्याकल्टी, शिक्षक, विद्यार्थी, कर्मचारी तथा नागरिक समाजको सहयोगका कारण भएको हो ।’ इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि नेक उत्कृष्ट संस्था भएको प्राचार्य डा. श्रेष्ठको दावी छ ।

पछिल्लाे समय कलेज शिक्षा मन्त्रालयद्वारा चाँगुनारायण नगरपालिकाका प्रमुखकाे अध्यक्षतामा  गठित कलेज सञ्चालक समितिमार्फत सञ्चालित रहेकाे छ । कलेज पाेखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज मध्येकाे उत्कृष्ट कलेज हाे ।














0 प्रतिकृया