Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


आज ऋषि पञ्चमी, सप्तऋषिको पूजाआजा गरी मनाइँदै

एक्सन खबर
असोज, २, २०८०




आज ऋषि पञ्चमी, सप्तऋषिको पूजाआजा गरी मनाइँदै

काठमाडौं, २ असाेज । आज ऋषि पञ्चमी पर्व नेपाली नारीहरुले सप्तऋषिको पूजाआजा गरी मनाउँदैछन् । भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्ने गर्छन् ।

तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको हाे । अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन छ । आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ ।  

यस अवसरमा आज देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि महिला भक्तजनको भिड लाग्ने गर्छ । पौराणिक कथन अनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यसको ब्रत बस्ने गरिन्छ ।

श्रीमद्भागवत, गरुड पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रक्तमा प्रवेश गराएकोले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन् । यसै रजस्वलाबाट नै नारीहरूमा सन्तान उत्पादन गर्नसक्ने शक्ति उत्पन्न भएको मानिन्छ । सम्पूर्ण मानवीय चक्रको सुरूआत नै नारीको मासिक रजस्वलाबाट सुरू हुन्छ ।

पश्चात्कालीन प्रबन्ध ग्रन्थ व्रतार्क, व्रतराज आदिले भविष्योत्तर पुराणबाट उद्धृत गरी विविध विषयवस्तु प्रस्तुत गरेका छन्, यी पुस्तकमा भगवान् श्री कृष्णले युधिष्ठिरलाई सुनाएकाे एउटा कथा पनि छ ।

पौराणिक प्रसङ्ग अनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड ब्यहोर्नु पर्‍यो । त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडियो:- (१) अग्नि (धुँवामिश्रित प्रथम ज्वालामा), (२) नदी (वर्षाकालको गाँज र मैलोयुक्त पानी), (३) पर्वत (जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र (४) स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा)।

अत: मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाहरूद्वारा लिनुपर्ने सनातन हिन्दू धर्मका शास्त्रमा उल्लेख गरिएको छ ।

सनातम धर्म शास्त्रमा जे लेखिएपनि रजस्वलालाई पापका रूपमा नभई प्राकृतिक नियमका रूपमा लिएर महिलाहरूमा छाेइछिटाे गर्न हुँदैन । स्वास्थ्य र सरसफाईका दृष्टिकाेणले रजस्वलाका समयमा उनीहरूलाई अझ बढी सम्मान र आराम गर्ने वातावरण बनाइदिनुपर्छ भन्ने साेच समुदायमा विकास भइरहेकाे छ ।













0 प्रतिकृया