आजबाट वडा दशैं सुरूः पहिलाे दिन घटस्थापना र जमरा राखिँदै
काठमाडाैं । आज घटस्थापना अर्थात् नवरात्रीको पहिलो दिन हिन्दु धर्मावलम्बी नेपालीका घरघरमा घट स्थापना गरिन्छ भने, आज नै जमरा समेत राखिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । शक्ति र विजयीकाे प्रतिकका रूपमा दशैंका ९ दिन देवी भगवतीकाे विशेष पुजा आराधना हुने गर्दछ ।
घटस्थापनाकाे दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैँ घर या पूजाकोठामा राखी जमरा उमार्न जौ छरिन्छ ।
माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिन्छ । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ ।
ब्रह्मवैवर्त पुराण ग्रन्थका अनुसार प्रकति–पूर्व, चण्डिका–आग्नेय, भद्रकाली–दक्षिण, सर्वमङ्गला–वायव्य, वैष्णवी–उत्तर, शिवप्रिया–ईशान, जगदम्बिका–जल, थल र आकाश भगवतीका नामहरू हुन् । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको पाइन्छ । घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित रहेकाे कालिका पुराण ग्रन्थमा समेत उल्लेख छ ।
यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपयुक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवी देवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैँ पूजाको थालनी गरिएको हो । यसैले दशैँको अवसरमा देवी भगवती जगदम्बाको पूजा गरिनु वाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा–उपासना तथा दर्शनको लागि जानु आवश्यक नपर्ने औंल्याएको पाइन्छ ।
यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाई दुर्गासप्तशति (चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पढिन्छ ।
दशैँलाई असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा लिइन्छ । देवी दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आरधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।
शक्तिस्वरूपा दुर्गा भवानीका नौ रूपमा शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र वुद्धिदात्री हुन् । दशैंकाे महत्वपूर्ण दिनहरूमा घटस्थापना, फुलपाती, महाअष्टमी, महानवमी, कालरात्री र विजयादशमी पर्दछन् । याे वर्षकाे विजयादशमी असाेज २६ गते शनिबार परेकाे छ ।
0 प्रतिकृया