Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


गढी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ (फोटो फिचर सहित)

एक्सन खबर
जेठ, ७, २०७९


गढी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ (फोटो फिचर सहित)

सुनसरी । गढी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । गढीका नवनिर्वाचित अध्यक्ष आश नारायण चौधरीले शुक्रबार जिल्ला सदरमुकाम इनरुवामा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएका थिए ।

त्यसपछि गढी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष चौधरीले उपाध्यक्षमा निर्वाचित अनिता साह, पालिकाका ६ वटै वडाका वडाध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ दिलाए । निर्वाचन अधिकृत कार्यालयका भेषराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष आश नारायण चौधरीले आगामी ५ वर्षमा गढी गाउँपालिकालाई नमुना पालिकाका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

नेकपा एमालेबाट निर्वाचनमा प्रतिष्पर्धा गरेपनि जनप्रतिनिधि भएर आइसकेकोले अब आफु तथा आफ्नो टीम दलीय भावनाबाट माथि उठेर निष्पक्ष ढंगले पालिकाको विकास, संबद्र्धनमा लाग्ने जनाए । ‘दलीय व्यवस्था अन्तरगत चुनाबी प्रतिष्पर्धामा उत्रिएपनि पालिकामा निर्वाचित भइसकेको अवस्थामा हामी कुनै एउटा दलको मात्र प्रतिनिधी हुनेछैनौं । गढीको विकास, यहाँका जनताको विकासका लागि यहाँका सबै राजनीतिक दल, नागरिक समाजहरुसँग सहकार्य र हातेमालो गरेर अगाडी बढ््नेछौं ।’ चौधरीले भने ।

चौधरीले गढीको विकास गर्न र जनताको जिवनस्तर उकास्न कै लागि लघुवित्त संस्थामा मासिक लाखौं रुपैयाको तलब भत्ता छाडेर चुनाबी मैदानमा उत्रिएका थिए । एक दशक शिक्षा क्षेत्र र झण्डै एक दशक वित्तीय क्षेत्रको कार्यानुभव भएका चौधरीले पारदर्शिता, मितब्ययितता, निष्पक्षता अपनाएर काम गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले जनप्रतिनिधिहरुलाई स्वतन्त्र, निष्पक्ष ढंगले काम गर्न सुझाव दिइन् । निर्वाचनमा भाग लिँदा एउटा पार्टीको उम्मेदवार भएतापनि निर्वाचित भएर गएपछि दलीय एजेण्डाभन्दा माथि रहेर देश र जनताप्रति जवाफदेही भएर काम गर्नुपर्ने सुझाब दिइन् । साथै, चौधरीले गढीको विकास गर्न शिक्षा, स्वास्थ्य, सडक, खानेपानीका योजनाहरु बनाउँदा सबै पक्षसँग पर्याप्त छलफल गरेर काम गर्न निर्देशन दिइन् ।

गढीलाई आर्थिक रुपमा बलियो बनाउने कृषि, पर्यटन क्षेत्रको विकास गर्नुपर्ने, गाउँमा प्राविधिक शिक्षालयको व्यवस्थापन गर्नुपर्ने, सामुदायिक विद्यालयहरु विद्यार्थी, छात्रामैत्री हुनुपर्ने, पठनपाठनको शैक्षिक स्तर सुधार्नुपर्ने तथा सामाजिक कामहरुलाई व्यापक रुपमा लैजानुपर्ने बताउँदै गाउँपालिकाको बजेटले मात्रै एकैपटक सबैथोक गर्न नसकिने भएकोले आफुले पनि केन्द्र संरकारसँग समन्वय गरेर विभिन्न क्षेत्रमा बजेट ल्याउने, कार्यक्रम ल्याउन सहयोग गर्ने बताइन् ।

अध्यक्ष पदका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका महेश दत्तले गढी गाउँपालिकाको विकास गर्न जुनसुकै तवरले सहयोग र सहकार्य गर्न आफु तत्पर रहेको बताउँदै राजनीतिक आस्थाभन्दा माथि उठेर काम गर्न आग्रह गरे ।

एमाले प्रदेश कमिटी सदस्य रामदेव यादवले गढीका जनप्रतिनिधिहरुले अबको ५ वर्ष कुनैपनि आस्था र विचारधारामा विस्वास गर्ने जनताप्रति आग्रह पूर्वाग्रह नराखी काम गर्ने र पार्टीले समेत निष्पक्ष ढंगले काम गर्न सहयोग गर्ने बताए ।

निर्वाचन अधिकृत भट्टराईले गढी गाउँपालिकामा शान्तिपूर्ण र निष्पक्ष ढंगले निर्वाचन आचारसंहिता अनुरुप निर्वाचन सम्पन्न गर्न, मतगणना गर्न गराउन स्थानीय राजनीतिक दल, सुरक्षाकर्मी तथा सरोकारवालाहरुले सहयोग गरेकोमा आभार प्रकट गरे ।

पालिकाको पदभार तथा पहिलो कार्यपालिकाको बैठक आउँदो सोमबार बोलाइएको छ ।  





















0 प्रतिकृया