विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री
एक्सन खबर
काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाहले आज साेमबार विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै हुनुहुन्छ । यो बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको छ । बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुनेछ । यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ ।
बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहभागी हुनुहुनेछ । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित हुनुहुनेछ । नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी हुनुहुनेछ ।
साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्नुहुनेछ । यस्तै उहाँले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि छलफल गर्दै हुनुहुन्छ ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्दै हुनुहुन्छ ।
0 प्रतिकृया