Follow us:


Follow us

१७ असोज २०८३, शनिवार
१७ असोज २०८३, शनिवार


‘सांसद रहबर अन्सारीले उठाएका भ्रमपूर्ण विषयकाे निष्पक्ष परीक्षण हुन तयार छाैं’ नेशनल मेडिकल कलेज

एक्सन खबर
असोज, १७, २०८३


‘सांसद रहबर अन्सारीले उठाएका भ्रमपूर्ण विषयकाे निष्पक्ष परीक्षण हुन तयार छाैं’ नेशनल मेडिकल कलेज

बीरगञ्ज । प्रतिनिधिसभाका सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा उठाएका आरोपप्रति कलेजले आपत्ति जनाउँदै ध्यानाकर्षण भएको बताएकाे छ । कलेजले शुक्रबार एक विज्ञप्ति जारी गरि प्रतिनिधि सभाकाे बैठकमा सांसद अन्सारीले व्यक्त गरेका सम्पूर्ण आराेपहरू तथ्यहिन, अप्रमाणित रहेकाे सार्वजनिक गरेको हो ।

शुक्रबारकै प्रतिनिधि सभा बैठकमा बारा क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अन्सारीले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा भ्रम र अविश्वास सिर्जना गर्न सक्ने गरि तथ्यहिन विषयहरू बाेलेका थिए । कलेजमा स्नातकाेत्तर प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूकाे आन्दाेलनमा समर्थन जनाउँदै अन्सारीले भ्रमपूर्ण विषयहरू उठाएका थिए । 

कलेजका प्रशासन प्रमुख विश्वनाथ कन्ठद्वारा जारी विज्ञप्तिमा नेशनल मेडिकल कलेज सन् २००१ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्था भएको उल्लेख गरिएको छ । कलेजका अनुसार संस्था चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायको नियमित अनुगमन र नियामकीय प्रक्रियाअन्तर्गत सञ्चालन हुँदै आएको छ ।

सांसद अन्सारीले उठाएका आरोपका सम्बन्धमा कुनै पनि सम्बन्धित नियामक वा सरकारी निकायबाट आरोप पुष्टि भएको आधिकारिक निष्कर्ष प्राप्त नभएको कलेजले जनाएको छ । साथै, तथ्यमा आधारित, निष्पक्ष तथा पारदर्शी परीक्षणका लागि कलेज तयार रहेको र सम्बन्धित निकायलाई आवश्यक अभिलेख तथा विवरण उपलब्ध गराउन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषय प्रमाणित तथ्य, दस्तावेजी आधार र अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्नेमा सांसद अन्सारीले तथ्यहिन विषयहरू उठान गरेकाे कलेजकाे ठहर छ । सांसद अन्सारीकाे अपुष्ट आरोपले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा भ्रम र अविश्वास सिर्जना गर्न सक्ने पनि कलेजले जनाएको छ ।

कलेजले आफ्नो करिब २५ वर्षको संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालनाप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।














0 प्रतिकृया