Follow us:


Follow us

९ असोज २०८३, शुक्रवार
९ असोज २०८३, शुक्रवार


नेपाल इन्जिनियरिङ कलेज ३३औँ वर्षमा प्रवेश, शैक्षिक गुणस्तर र पूर्वाधार विस्तारमा जोड

एक्सन खबर
असोज, ९, २०८३


नेपाल इन्जिनियरिङ कलेज ३३औँ वर्षमा प्रवेश, शैक्षिक गुणस्तर र पूर्वाधार विस्तारमा जोड

भक्तपुर । गैरनाफामूलक सामाजिक शैक्षिक संस्थाका रूपमा २०५१ सालमा स्थापना भएको नेपाल इन्जिनियरिङ कलेज (nec) ३३औँ वर्षमा प्रवेश गरेको छ । कलेजले ३२ वर्ष पूरा गरेको अवसरमा शुक्रबार आयोजित वार्षिकोत्सव समारोहमा सहभागीहरूले कलेजको स्थापनाको उद्देश्य, नेपालको इन्जिनियरिङ शिक्षामा पुर्‍याएको योगदान तथा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा खेलेको भूमिकाको चर्चा गरेका छन् ।

कार्यक्रममा बोल्दै कलेजका संस्थापक अध्यक्ष स्वर्गीय प्रा.डा. दीपक भट्टराईका सुपुत्र तथा कलेजका पूर्वविद्यार्थी इन्जिनियर सलिल भट्टराईले नेपाल इन्जिनियरिङ कलेजले देशको इन्जिनियरिङ शिक्षाको विकाससँगै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । बदलिँदो समय र प्रविधिको विकाससँगै कलेजलाई पनि समयानुकूल रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले कलेजमा नयाँ पाठ्यक्रम तथा विषय थप गर्नुपर्ने, आधुनिक भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने, नवीनतम अनुसन्धानका कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा शिक्षकहरूको वृत्ति विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । कलेजको कानुनी विषयसमेत समाधानउन्मुख हुँदै गएको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षभित्रै समस्या समाधान हुने अवस्था रहेको बताउनुभयो । कलेज सामाजिक संस्था भएकाेमा कुनै द्विविधा नरहेको उल्लेख गर्दै भट्टराईले कानुनी प्रक्रियाको अन्तिम परिणाम कलेजकै हितमा आउने विश्वास व्यक्त गर्नुभयो । कलेजको उज्ज्वल भविष्यका लागि शिक्षक, कर्मचारी र विद्यार्थीले सकारात्मक वातावरण निर्माणमा योगदान दिनुपर्ने उहाँको आग्रह थियो ।

कार्यक्रममा कलेज सञ्चालक समितिकी शिक्षक प्रतिनिधि सदस्य प्राध्यापक सावित्री त्रिपाठीले कुनैपनि शैक्षिक संस्था बलियो बनाउन शिक्षक, कर्मचारी, विद्यार्थी र व्यवस्थापनबीच आपसी समन्वय, कार्यगत एकता र पारदर्शिता आवश्यक रहेको बताउनुभयो । संस्थाको हितलाई केन्द्रमा राखेर सबै पक्षबीच सहकार्य र संवादको वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो । विद्यार्थीकाे उत्तीर्ण संख्याले मात्रै कलेजकाे शैक्षिक स्तर मापन हुने त्यसका लागि उनीहरू कत्तिकाे दक्ष र सक्षम भए भन्ने विषय महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयाे ।

त्यस्तै, कलेज सञ्चालन समिति सदस्य दिनेश खनालले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै कलेजको स्थायित्व र समग्र विकासका लागि सञ्चालक समिति निरन्तर क्रियाशील रहेको बताउनुभयो । उहाँले शिक्षक, विद्यार्थी र कर्मचारीबीच सहकार्य र समन्वय कायम गर्दै कलेजको श्रीवृद्धिमा योगदान गर्न आग्रह गर्नुभयो ।

कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले कलेज स्थापनाको पृष्ठभूमिबारे जानकारी दिँदै स्थापनाकालदेखि नै नेपालका लागि आवश्यक दक्ष इन्जिनियर उत्पादनमा कलेजले योगदान दिँदै आएको बताउनुभयो । आगामी दिनमा भौतिक पूर्वाधार विस्तारसँगै नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र बढीभन्दा बढी विद्यार्थीलाई गुणस्तरीय तथा व्यावहारिक इन्जिनियरिङ शिक्षा प्रदान गर्ने दिशामा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजलाई थप उत्कृष्ट र प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित आफूहरू अघि बढिरहेको बताउनुभयो । आगामी दिनमा नयाँ पूर्वाधार निर्माण तथा नयाँ पाठ्यक्रम र विषय थप गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

प्राचार्य भण्डारीका अनुसार विगतमा कलेजको सञ्चालन खर्च र आम्दानीबीच ठूलो अन्तर रहे पनि पछिल्ला दुई शैक्षिक सत्रमा उल्लेख्य संख्यामा विद्यार्थी भर्ना हुनु तथा आर्थिक मितव्ययिता अपनाइएकाले कलेज क्रमशः आर्थिक रूपमा दिगो बन्दै गएको छ । अबको प्राथमिकता शैक्षिक स्तर सुधार, नयाँ विषय थप, अनुसन्धानका कार्यक्रम विस्तार, अन्तर्राष्ट्रिय शैक्षिक संस्था तथा विश्वविद्यालयसँग सहकार्य बढाउने र शिक्षक–कर्मचारीको वृत्ति विकासमा केन्द्रित हुने उहाँले बताउनुभयो ।

वार्षिकोत्सवका अवसरमा कलेजमा २० वर्षभन्दा बढी समय योगदान पुर्‍याएका शिक्षक तथा कर्मचारीलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेमा सह-प्राध्यापक रुपेश दही श्रेष्ठ, प्रशासन सहायक कृष्ण महर्जन, वरिष्ठ सुरक्षाकर्मी राजन कार्की लगायत तीन जना रहेका छन् ।

३२ वर्षको शैक्षिक यात्रामा हजारौँ दक्ष इन्जिनियर उत्पादन गरेको नेपाल इन्जिनियरिङ कलेजले आगामी दिनमा प्रविधिको तीव्र विकास, अनुसन्धानमुखी शिक्षा र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्दै आफूलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । वार्षिकोत्सव समारोहले कलेजको विगतको योगदानको स्मरणसँगै भविष्यको शैक्षिक यात्राका लागि नयाँ लक्ष्य र प्राथमिकतासमेत प्रस्तुत गरेको छ ।




















0 प्रतिकृया