Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


जलवायु परिवर्तनदेखि हिमाली जडीबुटीसम्म, कर्णाली–राप्ती प्रतिष्ठानले मिलेर खोज्नेछन् समाधान

एक्सन खबर
भदौ, २८, २०८३


जलवायु परिवर्तनदेखि हिमाली जडीबुटीसम्म, कर्णाली–राप्ती प्रतिष्ठानले मिलेर खोज्नेछन् समाधान

दाङ । देशका दुर्गम तथा भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई थप प्रभावकारी बनाउने उद्देश्यले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङबीच महत्वपूर्ण सहकार्य सम्झौता भएको छ । स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान तथा जनशक्ति विकासका क्षेत्रमा आपसी सहकार्यलाई विस्तार गर्ने उद्देश्यले दुई प्रतिष्ठानबीच सम्झौता गरिएको हो ।

दुवै प्रतिष्ठान देशका दुर्गम तथा स्वास्थ्यका दृष्टिले जटिल क्षेत्रमा स्थापना भएका उच्च स्वास्थ्य शैक्षिक संस्थाहरू भएकाले उपलब्ध ज्ञान, जनशक्ति, प्रविधि तथा स्रोत–साधनलाई एकीकृत गर्दै पिछडिएका क्षेत्रको स्वास्थ्य अवस्था सुधार गर्न सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । यस सहकार्यले दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजय कुमार मिश्रको तर्फबाट रजिष्ट्रार प्रा. श्याम लम्साल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेयान्ग्बोले हस्ताक्षर गरेका छन् । सम्झौताले दुवै संस्थाबीच संस्थागत सम्बन्धलाई अझ मजबुत बनाउँदै साझा उद्देश्यका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार गरेको छ ।

सम्झौताको महत्वपूर्ण पक्षका रूपमा जलवायु परिवर्तन र स्वास्थ्यमा यसको प्रभाव तथा त्यसबाट उत्पन्न स्वास्थ्य चुनौतीको समाधानका उपायबारे संयुक्त अनुसन्धान गरिने भएको छ । पछिल्लो समय जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव बढ्दै गएको सन्दर्भमा दुर्गम तथा हिमाली क्षेत्रमा यसको असर पहिचान गरी व्यावहारिक समाधान खोज्न संयुक्त अनुसन्धान उपयोगी हुने विश्वास गरिएको छ ।

त्यस्तै, हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको वैज्ञानिक अध्ययन तथा देशभित्र उपलब्ध जडीबुटीबाट स्वदेशमै आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावनाको खोजी पनि सहकार्यको प्राथमिकतामा राखिएको छ । यसबाट नेपालको प्राकृतिक स्रोतको वैज्ञानिक उपयोग, औषधि अनुसन्धान तथा स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।

दुवै प्रतिष्ठानले दुर्गम क्षेत्रका स्वास्थ्यसम्बन्धी समस्या तथा आवश्यकतामा केन्द्रित भएर संयुक्त अनुसन्धान सञ्चालन गर्नेछन् । स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य पूर्वाधारको सुधार, जनशक्ति व्यवस्थापन तथा दक्ष जनशक्ति विकासका क्षेत्रमा समेत निरन्तर सहकार्य गरिनेछ । यसले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहको गुणस्तर र प्रभावकारिता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

सम्झौताअनुसार दुवै प्रतिष्ठानका प्राविधिक तथा प्रशासनिक जनशक्तिलाई आवश्यकताअनुसार एकअर्काबीच आदान–प्रदान गर्ने व्यवस्था पनि गरिनेछ । जनशक्ति आदान–प्रदानमार्फत सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि तथा अनुसन्धानका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

दुवै प्रतिष्ठानका पदाधिकारीहरूले उपलब्ध स्रोत–साधन, विशेषज्ञता र अनुभवलाई साझा गर्दै अघि बढ्दा दुर्गम क्षेत्रको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरेका छन् । सहकार्यले स्वास्थ्य सेवा मात्र नभई स्वास्थ्य शिक्षा र अनुसन्धानका क्षेत्रमा समेत नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।

विशेषगरी कर्णाली र लुम्बिनीका दुर्गम तथा ग्रामीण समुदायका स्वास्थ्य आवश्यकतालाई केन्द्रमा राखेर गरिने संयुक्त पहलले स्थानीय स्तरमा स्वास्थ्य प्रणाली सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । साथै, अनुसन्धानबाट प्राप्त ज्ञान र अनुभवलाई नीति निर्माण तथा व्यवहारिक स्वास्थ्य सेवामा उपयोग गर्न सकिने अवसरसमेत सिर्जना हुनेछ ।

यो सहकार्यले पिछडिएका तथा दुर्गम क्षेत्रको स्वास्थ्य सेवा सुधार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई समेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ । समान उद्देश्य बोकेका दुई प्रतिष्ठानबीचको सहकार्यले सीमित स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा नयाँ सहकार्यको संस्कृति विकास गर्ने सकारात्मक आधार तयार गरेको छ ।













0 प्रतिकृया