Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाल इन्जिनियरिङ कलेजमा शोकसभा

एक्सन खबर
भदौ, २३, २०८३


रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाल इन्जिनियरिङ कलेजमा शोकसभा

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा नेपाल इन्जिनियरिङ कलेजले शोकसभा आयोजना गरेको छ । राष्ट्रिय शोकका अवसरमा आयोजित सभामा कलेज परिवारले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको हो ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा आयोजित कार्यक्रममा एक मिनेट मौनधारण गरिएको थियो । सहभागीहरूले प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी, कलेज सञ्चालन समितिका शिक्षक प्रतिनिधि सावित्री त्रिपाठी, प्रशासन प्रमुख श्रीमा शर्मा लगायतको उपस्थिति रहेको थियो । कलेजका विभिन्न विभागका प्रमुख, फ्याकल्टी सदस्य, कर्मचारी तथा विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो ।

शोकसभामा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा राज्य, स्थानीय समुदाय, शैक्षिक संस्था र नागरिकबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिइएको थियो । त्यसैगरी, बाढी तथा पहिरोजस्ता विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि जोखिम पहिचान, पूर्वतयारी, सुरक्षित पूर्वाधार निर्माण तथा प्रभावकारी विपद् व्यवस्थापन आवश्यक रहेकोमा जोड दिइएको थियो । 

इन्जिनियरिङ शिक्षासँग प्रत्यक्ष जोडिएको संस्थाका रूपमा विपद् जोखिम न्यूनीकरण र सुरक्षित पूर्वाधार निर्माणमा इन्जिनियरिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुने सहभागीहरूको भनाइ थियो ।

शोकसभामार्फत नेपाल इन्जिनियरिङ कलेजले विपद्मा परी ज्यान गुमाउने सबै नागरिकप्रति सम्मान प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, विपद् प्रभावित समुदायको पुनःस्थापना तथा आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
















0 प्रतिकृया