राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ नेतृत्व : सेवा, शिक्षा र अनुसन्धानमा नयाँ गति आउने अपेक्षा
एक्सन खबर
काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रशासनिक, शैक्षिक तथा अस्पताल सेवाका महत्वपूर्ण जिम्मेवारीमा नयाँ नेतृत्व पाएको छ । प्रतिष्ठानकी सहकुलपति तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उपकुलपति डा. अजय मिश्रको सिफारिसमा चार जना अनुभवी चिकित्सक तथा स्वास्थ्य शिक्षा विज्ञलाई महत्वपूर्ण जिम्मेवारीमा नियुक्त गरेकी हुन् ।
नयाँ नियुक्तिसँगै अस्पताल सेवा सुधार, चिकित्सा शिक्षा विस्तार, शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन तथा संस्थागत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
प्रतिष्ठानको निर्देशकमा नेत्र रोग विशेषज्ञ डा. सुरेश बीके रसाइली, रजिस्ट्रारमा नर्सिङ तथा स्वास्थ्य प्रशासनका अनुभवी प्रा. श्याम लम्साल, रेक्टरमा कार्डियोलोजिस्ट प्रा. डा. रामनारायण मण्डल र डिनमा प्याथोलोजिस्ट डा. कृष्णकुमार झा नियुक्त भएका छन् ।
निर्देशकको जिम्मेवारी पाएका डा. सुरेश बीके रसाइली नेत्र रोग विशेषज्ञ हुनुका साथै अस्पताल व्यवस्थापन, शिक्षण र अनुसन्धानको अनुभव भएका चिकित्सक हुन् । नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस तथा नेत्र विज्ञानमा एमडी गरेका उनले अर्बिट, ओकुलोप्लास्टी, ल्याक्रिमल तथा ओकुलर अन्कोलोजीमा क्लिनिकल फेलोसिप गरेका छन् ।
टीकापुर अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकीय सेवा दिएपछि राप्ती आँखा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेका रसाइलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै सहप्राध्यापक, नेत्र विज्ञान विभाग प्रमुख तथा उपनिर्देशकका रूपमा काम गरिसकेका छन् ।
अस्पतालको दैनिक प्रशासनदेखि योजना कार्यान्वयन र विभागीय विकाससम्मको अनुभव बोकेका रसाइलीको नेतृत्वमा प्रतिष्ठानको अस्पताल सेवा र प्रशासनिक व्यवस्थापन अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
यस्तै, रजिस्ट्रार प्रा. श्याम लम्साल स्वास्थ्य शिक्षा तथा प्रशासनमा लामो अनुभव भएका जनशक्ति हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्टाफ नर्सका रूपमा सेवा सुरु गरेका उनी प्राध्यापकसम्म पुगेका हुन् । २२ वर्षभन्दा लामो स्वास्थ्य शिक्षा तथा सेवाको अनुभव भएका लम्सालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रार तथा कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसअघि डिन र रजिष्ट्रारकै रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । उनले प्रतिष्ठानकाे कार्यवाहक उपकूलपति समेत भएर काम गरिसकेका छन् ।
शैक्षिक प्रशासन, पाठ्यक्रम विकास, जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य प्रणाली अनुसन्धानको अनुभव भएकाले प्रतिष्ठानको प्रशासनिक र शैक्षिक संरचनालाई थप सुदृढ बनाउन उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
शिक्षाध्यक्षमा नियुक्त प्रा. डा. रामनारायण मण्डल कार्डियोलोजी तथा इन्टरनल मेडिसिन विशेषज्ञ हुन् । चिकित्सा शिक्षा, विभागीय नेतृत्व, परीक्षा व्यवस्थापन तथा पाठ्यक्रम पुनरावलोकनमा समेत अनुभव हासिल गरेका मण्डलले आफ्नो व्यावसायिक जीवनको लामो समय चिकित्सा शिक्षा क्षेत्रमा बिताएका छन् ।
जानकी मेडिकल कलेजमा हाउस अफिसरदेखि प्राध्यापकसम्मको जिम्मेवारी सम्हालेका उनले अस्पताल निर्देशक, क्लिनिकल साइन्स समन्वयक तथा उपप्राचार्यका रूपमा समेत काम गरिसकेका छन् । उच्च रक्तचाप, एट्रियल फिब्रिलेसन, स्ट्रोक तथा हृदयसम्बन्धी जोखिमका क्षेत्रमा अनुसन्धान गरेका मण्डलको अनुभवले प्रतिष्ठानको शिक्षण, अनुसन्धान र शैक्षिक कार्यक्रमलाई थप गतिशील बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यता, डिनको जिम्मेवारी पाएका डा. कृष्णकुमार झा प्याथोलोजीका प्राध्यापक हुन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडामा प्याथोलोजी विभाग प्रमुख तथा प्राध्यापकका रूपमा काम गरेका झासँग विभिन्न मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षण, प्रयोगशाला सेवा र विभागीय नेतृत्वको अनुभव छ ।
हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, हेमाटोलोजी तथा रक्त बैंकिङमा विशेषज्ञता हासिल गरेका झाको अनुभव चिकित्सा शिक्षा र प्रयोगशाला सेवाका लागि उपयोगी हुने अपेक्षा गरिएको छ । डिनका रूपमा उनले शैक्षिक गुणस्तर, पाठ्यक्रम कार्यान्वयन, विद्यार्थी–शिक्षक समन्वय तथा चिकित्सा शिक्षाको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
अनुभवी नेतृत्वबाट संस्थागत सुदृढीकरणको अपेक्षा
चारै जना नयाँ पदाधिकारी स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, प्रशासन र अनुसन्धानका फरक–फरक क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तित्व हुन् । उनीहरूको विशेषज्ञता र नेतृत्व अनुभवलाई प्रतिष्ठानको आवश्यकता अनुसार उपयोग गर्न सके अस्पताल सेवा सुधारदेखि चिकित्सा शिक्षा र अनुसन्धान विस्तारसम्म सकारात्मक परिणाम देखिने अपेक्षा गरिएको छ ।
विशेषगरी अस्पताल व्यवस्थापन, शैक्षिक कार्यक्रमको गुणस्तर, दक्ष जनशक्ति परिचालन, अनुसन्धानको वातावरण निर्माण र सेवाग्राहीमैत्री स्वास्थ्य सेवामा नयाँ नेतृत्वले प्राथमिकता दिनुपर्ने देखिन्छ । नयाँ पदाधिकारीको अनुभव, प्रतिष्ठानको संस्थागत क्षमता र नेतृत्वबीचको प्रभावकारी समन्वयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको थप सबल केन्द्रका रूपमा अघि बढाउन सक्ने विश्वास गरिएको छ ।
0 प्रतिकृया